तरुणदलको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम पर्वतमा सम्पन्न
    1 month ago     1133
तरुणदलको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रम पर्वतमा सम्पन्न

 बैशाख ८, पर्वत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुण दलको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । बिहिवार देखि शुरु भएको नेपाल तरुण दलको दुई दिने ४ नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । 

प्रशिक्षण कार्यक्रममा प्रदेश नम्वर ४ का ११ जिल्लाका २ सय तरुण युवाहरुको सहभागिता रहेको थियो ।  नेपाल तरुण दल केन्द्रिय कार्य समितिको आयोजना र नेपाल तरुण दल पर्वतको सह–आयोजनामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रमको समापन नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंवम् पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठले गर्नुभएको थियो ।


तरुण युवाहरको क्षमता अभिवृद्धि कार्यक्रममा, नेपाल तरुण दलका पूर्व अध्यक्ष एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँड, नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराई, तरुण दलका निर्वतमान अध्यक्ष उदय शमशेर राणाले विभिन्न विषयमा प्रशिक्षण दिएका थिए ।

 कार्यक्रममा संगठन सुदृढिकरण, आगमी रणनीति र तरुण दलको सैद्धान्तिक पक्षबारे पशिक्षण दिईएको नेपाल तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल‘राज’ले जानकारी दिनुभयो । प्रदेश नम्वर ४ का जिल्लामा रहेका सबै वडा, नगर, क्षेत्रमा क्रमिक रुपमा पशिक्षण संचालन हुने र तरुणहरुको नेतृत्व विकास रोजगारीको अवसरहरु पहिचान गरि अगडी बढ्ने प्रतिबद्धता रहेने विषयमा छलफल गरिएको मल्लको भनाई छ । समापन कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री गोपालमान श्रेष्ठले देशको विभिन्न राजनीतिक आन्दोलनको नेतृत्व युवाहरुको अग्रसरतामा भएको र पार्टी भित्रको किचलोलाई मिलाएर अगडी बढ्ने जिम्मेवारी तरुणहरुको काँधमा आएको बताउनु भयो ।

उहाँले पार्टीका हरेक गतिविधीमा खवरदारी गर्न समेत निर्देशन दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा हार व्यहोरे पछि पार्टीका गतिविधी शुन्य भएको अवस्थामा तरुण दल आयोजना गरिएको प्रशिक्षण कार्यक्रमले युवाहरुलाई थप उर्जा मिलेको बताउनु भयो । यहाँले तरुण दल अव संगठन निर्माणमा सक्रिय भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।