Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

2080




संस्था भावनाले होइन, विधानले चल्ने हो
संस्था भावनाले होइन, विधानले चल्ने हो

हालै सम्पन्न अन्तर्राष्ट्रिय पर्वत समाजको चित्रे अधिवेशनले २०२१–२३ को लागि नयाँ कार्यसमिति चयन गरेको छ । बिधानत अधिबेशन सम्पन्न भएको हो भने पर्वतनेपाल डट कम यहाहरुलाई बधाई तथा सुभकामना। 


नयाँ कार्यसमिति भन्दा अगाडिको पुरानो कार्यसमितिकै पदाधिकारी निर्वाचन समितिमा बसेर उक्त कार्यसमिति चयन गरेको औपचारिक घोषणा गत बिहिबार गरियो । रोजगारीको शिलशिलामा विदेशिएका सबै पर्वतेलीलाई जोड्ने अभिप्रायले ४ वर्षअघि स्थापित संस्था नियमित प्रक्रिया अनुसार नै नेतृत्व हस्तान्तरण हुँदै जानु स्वभाविक र राम्रो प्रक्रिया पनि हो । यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ।


अब जाउँ, हाम्रो  मुख्य कुरातर्फ : 

सन् २०१७ मा यो संस्था गठन गर्नुको उद्धे्श्यबारे धेरै जानकार नै हुनुहुन्छ । संस्थाको विधानको प्रस्तावनामा नै लेखिएको छ, “नेपालको विकास र प्रवद्र्धनमा  टेवा पु¥याउन पर्वत जिल्ला घर भई हाल नेपाल र विदेशमा  वसोवास गर्दै आएका पर्वतबासी नेपालीहरुले जिल्लामा सामुदायिक स्वाश्थ्य, शिक्षा र परोपकारी कार्यमा सहयोग गर्ने गरि “संवृद्ध पर्वत निर्माणको लागि सामुहिक अभियान” भन्ने नारामा संगठित भै सामाजिक मान्यता र समुहगत हितका लागि एउटै  भावना र सोच बोकेका विभिन्न वर्ग, क्षेत्र लिङ्ग र समुदायहरुद्वारा समान उद्धेश्य प्राप्तिका लागि सामुहिक रुपमा कार्य गर्ने उद्धेश्यले नेपालीहरु जो विदेशमा बसोबास गरेका छौँ र हामीहरुसंग छरिएर रहेको सोच र लगावलाई एउटा  पूँजी संकलन जस्तै सामाजिक सहयोग र सदभावको विकास गर्न र परिचालन गराउन सेवामुलक क्षेत्रमा लगानी गर्ने उद्धेश्य राखी सम्पुर्ण सदस्यहरु तथा सेवाकर्ताको अग्रसरतामा सामाजिक लगायत समग्र जीवनस्तर समृद्ध गर्नका लागि विभिन्न प्रकारका विकासमुलक कार्यहरु संचालन गर्ने एक स्वतन्त्र,गैरनाफामुलक र गैरराजनैतिक उद्धेश्य राखी यस संस्थाको स्थापना र संचालन गर्न यो विधान तयार गरिएको छ ।”


यो प्रस्तावनाको मर्म संस्थाका पदाधिकारीले नबुझ्ने कुरा नै रहेन । विषय प्रवेश गरौँ । गत बिहिबार सम्पन्न उक्त अधिवेशनको बारेमा पर्वतनेपालले संस्थाको विधानलाई प्रधानमा राखेर कार्यसमितिका पूर्वपदाधिकारीमाथि प्रश्न र जिज्ञासा उठाएको थियो ।

ती मध्ये एक थियो, संस्थाका आजीवन सदस्य, संस्थापक सदस्यलाई थाहा नदिएको बारे, र दोश्रो थियो, संस्थाको आर्थिक प्रतिवेदन बारे ।यी दुवै संस्थाको विधानसम्मत थिए । विधानविपरित थिए भने संस्थाका जो कोही देखि शुभेच्छुकहरुले पनि प्रश्न राख्न सक्नुहुन्छ । हामीले प्रकाशन गरेको समाचारमा लेखेका थियौँ, “संस्थाको अधिवेशन विधानसम्मत थिएन, दुई कार्यकाल सम्म कार्यसमितिमा बसेका पदाधिकारीले एकपटक पनि अािर्थक प्रतिवेदन प्रस्तुत नगर्नुले संस्थाको आर्थिक गतिविधीमा शंका गर्ने ठाउँ राखेको छ ।” यी प्रश्न न कुनै विधान विपरित थिए, न कसैलाई आरोप नै लगाइएको थियो । संस्थाको अघिल्लो कार्यसमितिमा रहेकै पदाधिकारीले संस्थाका तत्कालीन पूर्वपदाधिकारीको मनोमानीकै कारण राजीनामा दिनुपरेको कारण पर्वतनेपाललाई जानकारी समेत गराएका थिए । 


साथै अघिल्लो कार्यसमितिको अन्ततिर को बैठकमा  चित्रेमा उपस्थित हुन सक्ने आजिबन सदस्यले मात्र अधिवेशनमा भाग लिन पाउने भनेर निर्णय गरेको र उक्त निर्णय बिरुद्ध केहि पदाधिकारीले नोट ओफ डिसेन्ट लेखेको र उक्त कुरामा सुनवाई नभएको समेत बताएका थिए।  साथै सल्लाहकार एबम संरक्षकलाई नसोधी संस्थाको अध्यक्ष नै निर्बाचन प्रमुख भएको र संस्थाको बहुमत बिना नै एकलौटी निर्बाचन कमिटि गठन गरेको आरोप समेत लागेको थियो।  साथै पूर्व  कोषाध्यक्ष बिनोद पुरीले आफुले राजिनामा दिएपछि १ वर्ष अगाडी नै संस्थाको हिसाबकिताब संस्थालाई बुझाएको र चित्रेको अधिवेशन भन्दा केहि दिन अगाडी पनि अध्यक्षलाइ सम्पूर्ण हिसाबकिताब बुझाएको तर आर्थिक प्रतिबेदन पेश नगरिकन आफुलाई मात्र दोष लगाएको बताएका छन।  


त्यही कुरा समेटेर पर्वतनेपालले एउटा समाचार प्रकाशन गरेको थियो । पर्वतनेपाल अन्तर्राष्ट्रिय पर्वत समाजको आधिकारिक वेवसाइट नरहे पनि  कुनै बेला संस्थाका केहि पदाधिकारीहरु पर्वतनेपालमा आबद्ध रहेकोले  शुभेच्छुकको हिसाबले संस्थाप्रति पर्वतनेपाल सँधै नजिक रहेर गतिविधी सम्प्रेषण ग¥यो । संस्थालाई नजिकबाटै नियालेकै कारण हामीले त्यहाँ भएका गतिविधी यसै हप्ता प्रकाशन पनि ग¥यौँ ।उक्त समाचार प्रकाशन पश्चात संस्थाका दुई कार्यकाल महासचिवले एउटा स्थानीय मिडियामा अन्तर्वार्ता पनि दिए । हालै चयन नयाँ कार्यसमितिले पनि संस्थागत रुपमा ध्यानाकर्षण भएको भन्दै पत्र निकाल्यो ।


उक्त पत्र र पूर्वमहासचिवको भनाईको तात्विक सार एउटै छ । उहाँहरु दुवैले स्विकार्नुभएको छ कि, “संस्था विधानत चल्न सकेको छैन, आर्थिक प्रतिवेदन प्रस्तुत गर्न नसकेकै हौँ ।”यो विज्ञप्ती र पूर्वमहासचिवको भनाइले नै पर्वतनेपालले प्रकाशन गरेको समाचारलाई थप पुष्टयाईँ समेत गरेको छ । यसको लागि संस्था र पूर्वमहासचिवलाई धन्यवाद ।यसको अलावा, संस्थागत विज्ञप्तीमा एउटा कुरा उल्लेख गरिएको छ, “संस्थाका पूर्वअध्यक्ष र महासचिवलाई जोडेर लेखिएको समाचार कपोकल्पित छ, प्राविधिक समस्यालाई प्रधान बनाएर लेखिएको समाचार गलत हो ।”संस्थाका अध्यक्ष झलक केसी र महासचिव मनि भुर्तेलले हस्ताक्षर गरेको उक्त विज्ञप्ती आफैमा विवादित पनि छ । 


एक त, विज्ञप्तीले विधानत अधिवेशन हुन नसकेको कारण दिएको छ, आर्थिक प्रतिवेदन प्रस्तुत नगरेको स्विकार गरेको छ, अर्कातर्फ पूर्वाध्यक्ष र महासचिवलाई चोख्याउन लागिपरेको छ ।फेसबुकमा राखिएको उक्त विज्ञप्तीमा भनिएको छ, “भर्खरमात्र निवर्तमान हुनुभएका अध्यक्ष र महासचिवलाई लगाइएको झुटा आरोपमा कुनै प्रमाण नरहेको हाम्रो बुझाई हो । समिति भित्र रहेर जिम्मेवार कार्यबाट पन्छिनु र दोष थुपारेर बाहिर बन्द कोठाबाट बोल्न सहज भन्ठान्नेलाई बधाई एवम शुभकामना दिनु नै उपयुक्त हुन्छ ।”

पूर्वपदाधिकारीद्वयलाई चोख्याउन निकालिएको विज्ञप्तीको यो अंशमा प्रश्न गर्ने ठाउँ छ । विज्ञप्तीमा भनिए अनुसार जिम्मेवार कार्यबाट पन्छिनु र दोष थुपारेर बाहिर बन्द कोठाबाट को बोल्यो ?


जिम्मेवार कार्य भनेको विधान अनुसार चल्नु हो कि होइन ? आर्थिक प्रतिवेदन पेश नगरी दुई कार्यकाल संस्थाको जिम्मेवारीमा रहने अनि विधान विपरित सीमित सदस्यलाई भेला पारेर अवैधानिक अधिवेशन गर्नु कहाँको जिम्मेवारी हो ? “निस्वार्थ सामाजिक अभियन्ताहरु सचेत र जिम्मेवार हुन्छन । हामी सचेत नागरिक संस्थाको गरिमामय पदमा निर्वाचित हुनु र पदीय गरिमालाई भुल्नु नै संस्था विरोधी हुन भन्दा अनुचित नहोला ।” विज्ञप्तीको अर्को वाक्यमा लेखिएको कुरा हो यो ।


यो वाक्यलाई ध्यान दिएर अध्ययन गरौँ त । संस्थाका केही पदाधिकारीले गरेको सबै कुरा सही नै हो भनिदिनुपर्ने हो भने त्यसलाई सचेत भनिँदैन, चाकडी भनिन्छ । सचेत नागरिकले नै आलोचना गर्छ, सुझाव दिन्छ । अब आलोचना ग¥यो भन्दैमा त्यसलाई निरुपण गर्नुको सट्टा संस्था विरोधीको ट्याग लगाउने वर्तमान कार्यसमितिको मनोविज्ञान हो भने, यो भन्दा तानाशाही र अलोकतान्त्रिक प्रवृत्ति अरु केही हुनै सक्दैन । संस्था पूर्णत विधान अनुरुप चल्नुपर्छ, विधानमा लेखिएका प्रक्रिया पालना हुनुपर्छ । विधान नमानिकन गरिएका क्रियाकलापले शंका उत्पन्न गराउँछन । पर्वतनेपालले यसअघि प्रकाशन गरेको समाचार पनि संस्था विधान अनुरुप प्रक्रियागत चल्नुपर्छ भन्ने भावनाका साथ प्रकाशित भएको हो । कुनै समय अन्तर्राष्ट्रिय पर्वत समाजको समाचार पहिला प्रेषित गर्ने न्युजपोर्टलको रुपमा पर्वतनेपाल थियो । संस्थाले पर्वतनेपाल छाडेतापनि पर्वतनेपालले संस्थाप्रति आलोचना गरि नै रहन्छ । संस्थाले ट्रयाक नछाडोस भन्नेमा पर्वतनेपाल सचेत छ र निरन्तर खबरदारी पनि गरि नै रहन्छ । एनआरएनको चुनाबमा  कुल आचार्यको बिरुद्ध भोट गरेका संस्थाका केहि सल्लाहकार एबम शुभेच्छुकलाइ लक्षित गरेर हामीले समाचार लेखेका छौ, संस्थालाई संस्थागत हुन हामीले निरन्तर खबरदार गरिरहेका छौ।


अर्को कुरा विधानको प्रस्तावनामा नै लेखिएको छ, “सामाजिक मान्यता र समुहगत हितका लागि एउटै  भावना र सोच बोकेका विभिन्न वर्ग, क्षेत्र लिङ्ग र समुदायहरुद्वारा समान उद्धेश्य प्राप्तिका लागि सामुहिक रुपमा कार्य गर्ने उद्धेश्यले ....।”जब भावनाले नै संस्था जन्मियो, संस्था जन्मेपछि नै विधान जन्मिएको हो । त्यहाँ सबैको भावना मिलेकै छ । त्यसलाई कार्यान्वयन गर्नुको सट्टा भावनात्मक रुपमा विषयान्तर गर्न खोज्नु जिम्मेवारीबाट भाग्न खोज्नु नै हो । संस्थाको महासचिवको काम, कर्तव्य र अधिकार पनि विधानमा नै छ । “अभिलेख सुरक्षित राख्ने, साधारण सभामा प्रतिवेदन पेश गर्ने ।” यी दुई कर्तव्य महासचिवका हुन । जब यो जिम्मेवारी संस्थाले दिएको छ भने, अन्य पदाधिकारीलाई विधानअनुरुप ताकेता महासचिवको हैसियतले किन गरिएन ? आर्थिक प्रतिवेदन तयार भयो कि भएन भनेर किन सोधिएन ?

यी प्रश्न उठ्दा उहाँको जवाफ थियो, “जिम्मेवारी पुरा नगरी कोषाध्यक्षहरुले राजीनामा दिए ।” जबकी, पर्वतनेपालसँग सम्पर्कमा आएका दुई कोषाध्यक्षहरुले पूर्वपदाधिकारीको मनोमानीका कारण राजीनामा दिनुपरेको बताएका छन ।


संस्था भावनाले होइन, विधानले चल्छ । विधानअनुरुप संस्था चलाइनुपर्छ । संस्था पारदर्शी बन्नुपर्छ । कोही सीमित व्यक्तिको कठपुतली संस्था बन्नु हुँदैन । यी कुरालाई जिम्मेवारीपूर्वक तरिकाले सार्वजनिक गरिनुपर्छ ।

na
सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)