Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

4 years ago

2058




श्रीमानले कुटेर भागे, छोरीलाई दूध किन्ने पैसा नि छैन
श्रीमानले कुटेर भागे, छोरीलाई दूध किन्ने पैसा नि छैन


२०७७ चैत २९ पर्वत । छोरा नपाएको निहुँमा श्रीमानले कुटेर भागेपछि पर्वतको कुश्मामा ज्याला मजदुरी गरेर दुई छाक टार्दै आएकी एक महिला र छोरीहरुको बिचल्ली भएको छ । श्रीमानले कुटेर बेपत्ता भएपछि विगत ३ दिनदेखि ती महिला विचल्लीमा परेकी हुन् । काखमा ६ महिने छोरी रोईरहेकी छिन् । भोको पेटकी छोरी भुलाउन उनले प्रयास गरिरहेकी थिईन् । श्रीमानले कुटेर उनी बेहोसी जस्तै बनेकी छिन् । कोठामा चामलको गेडो छैन । उनी संग काखे छोरीलाई दूध किनेर ख्वाउने पैसो पनि छैन । कुश्मा स्थित उद्योग वाणिज्य संघको सभाहल पछाडीको सानो झुपडीमा बस्ने २२ वर्षिय सपना विश्वकर्मा विचल्लीमा परेकी छिन् । शनिवार विहान छिमेकीहरुले दिएको चामल र दालले एक छाक टारेकी सपना बेलुका कसरी खाने भन्ने चिन्तामा थिईन् । 

    सल्यान जिल्ला शारदा नगरपालिका १४ मालनेटा मुल घर भई हाल पर्वतको कुश्मामा भाडाको टहरोमा बस्दै आएका सपनाका श्रीमान राज विश्वकर्माले मिस्त्रीको काम गर्छन् ।उनी दिनभरि काममा गएपनि साँझ दिनदिनै रक्सी पिएर आउँछन् र श्रीमती र दुई छोरीहरुलाई कुट्छन् । कहिले छुरी लिएर काट्छु भन्दै लखेट्छन् । सानो झुपडीभित्र सपनाले आफ्नो र छोराछोरीको ज्यान जोगाउन जति पीडा भएपनि भित्रभित्रै अठ्याउँदै आएकी छिन् । पटक पटक कुटपिट गर्दै आएका उनले विहिवार सपनालाई कुटेर वेपत्ता भएका छन् । त्यसपछि सपना अलपत्र परेकी हुन् । ‘घर जाउँ भने कुटेर मार्छौँ भनेका छन्,’ सपनाले भनिन्,‘ माईत जाउँ भने कोहि छैनन् । वुवा ३ वर्ष अगाडी वित्नुभयो । आमा बुढि हुनुहुन्छ । दाजुभाई र भाउजुले माईत नआए हुन्थ्यो जस्तो गर्छन ।’ माईती पनि गरिवीका कारण के आउँ के लाउँको स्थितीमा रहेको परियारले सुनाईन । उनी घरै जान अनुमती पाए पनि जाने वसभाडा साथमा छैन । श्रीमानले दिनदिनै रक्सी पिएर रडाको मच्चाएपनि उनले न प्रहरीलाई खबर गर्न सक्थिन न उनलाई छिमेकीले बचाउन आउँथे । पीडा सहेरै कुश्माको त्यो सुनसान झुपडीमा उनले कुटाई सहँदै आएकी थिइन् । अहिले श्रीमान भागेर गएपछि परियार न घर न घाटको स्थितीमा छिन् । गहभरि आँसु पार्दै सपनाले भनिन्,‘ म त भोकै पनि बाँच्न सक्ने काखे छोरी दूध खान नपाएर मर्ने भई । रातभरि भोकले गर्दा रुन्छे ।’ हातमा पैसा नभएपछि दूध किनेर ख्वाउन नसकेको भन्दै सपना भक्कानो छोडेर रुने गरेकी छिन् । 

सपनालाई दोस्रो छोरी जन्माएको ११ औँ दिनमा श्रीमानको निर्घात कुटाई सहन नसकेपछि भागेर सल्यान स्थित माईती घरमा पुगिन् । त्यहाँ राम्रो व्यवहार नपाएपछि फर्केर फेरि कुश्मा आईन् । श्रीमानको वानी व्यवहार भने उस्तै थियो ।‘ सुत्केरी भएर गलेको ज्यान बोकेर माईतमा पुँगे,’ उनले भनिन्,‘ ज्यान मार्ने धम्की आएपछि फेरि फर्केर आएँ । फर्केर आएपछि पनि कुटपिट भैरह्यो । मैले धेरै सहँदै आएकी छु ।’ उनको कोठामा चामलको गेडो छैन, दाल, नुन, चिनी, चियापत्ती केहि छैन । रासन खाने पसलमा ऋण छ । 

    बेखर्ची भएर अलपत्र परेकी उनलाई इन्सेकका प्रतिनिधी एवं नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापाले ५ हजार रुपैयाँ सहयोग गरेका छन् । तत्कालका लागि समस्या समाधान होस भनेर थापाले ५ हजार सहयोग गरेको बताए । उनलाई आवश्यक पर्ने केहि रकम सहयोगी व्याक्तिहरु मार्फत सहयोग जुटाउनुपर्ने अवस्था रहेको थापाले बताए । पत्रकार रोशन तिवारीले पीडित सपना विश्वकर्माको लागि आवश्यक सहयोग संकलन अभियान चलाउन शुरु गरेका छन् । तिवारीले कुश्मा नगरपालिका, विभिन्न संघसंस्था, क्लव, राजनीतिक दल, बिदेशमा रहेका नेपालीहरु संग सपना र उनका दुई लालाबाला लाई तत्कालका लागि आवश्यक खर्चको जोहो गर्न सहयोग संकलन गर्न थालेको बताएका छन् । 


नोट ः सपनालाई सहयोग गर्न चाहाने महानुभावहरुले ९८६७६४५९६३ वा ९८५७६२८६६६ मा सम्पर्क गर्न सक्नुहुनेछ । यहाँहरुको सहयोग सम्बन्धित व्याक्तिलाई पु¥याउन सहजीकरण गरिनेछ । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)