जन्मदिनको खर्च कटाएर विद्यालयमा अक्षकोष स्थापना
    4 months ago     132
जन्मदिनको खर्च कटाएर विद्यालयमा अक्षकोष स्थापना

बैशाख ३, पर्वत । जन्म दिनमा गरिने खर्चलाई कटाएर एक बृद्धले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । समाजसेवी तोयनाथ चालिसेले आफ्नो जन्मदिनको अवसरमा स्थानीय शिवालय माध्यामिक विद्यालयमा १ लाख ५० हजारको अक्षयकोषको स्थापना गरेका हुन् । 


विद्यालयका संस्थापक समेत रहेका चालिसे, उनँकी धर्मपत्नी भिम कुमारी चालिसे र छोरी ईन्दु चालिसे गौतमले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीलाई संयुक्त रुपमा हस्तान्तरण गरे । २०४० सालमा विद्यालय व्यवस्थापन समितिको संस्थापक बन्नुभएका चालिसेले विद्यालयका अन्य गतिबिधीमा समेत सहयोग गर्दै आएका छन् । उनले आफ्नो जन्मदिनको अवसरमा पहिलो पटक विद्यालयलाई सहयोग गरेको बताए ।


आफ्नो ७७ औं जन्मदिनको अवसरमा उक्त सहयोग गरेको र आगामी दिनमा समेत कोषमा रकम थप गर्दै लैजाने चालिसेले बताए । १९९८ सालमा कुस्मा बजारमा जन्मिएका चालिसे पर्वतको राजनीतिक तथा समाजिक विकासमा लामो समयदेखि क्रियाशिल रहँदै आएका छन् । 


तोयनाथ, भिमकुमारी चालिसे  अक्षय कोषबाट प्राप्त हुने ब्याज रकमले विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री लगायत सहयोग प्रदान गरिने संस्थापक चालिसेले बताए । उनले आर्थिक कारणले विद्यालयमा पुगेर शिक्षा लिन नसक्ने बालबालिकालाई यो कोषबाट सहयोग गरिने पनि बताए ।


विद्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरीले विद्यालयमा गरिएको यस्तो कोषले विपन्न बालबालिकाको शिक्षामा सहयोग पुग्ने बताउँदै आगामी दिनमा समेत सहयोगको अपेक्षा गर्नुभयो ।