‘व्यवहारिक सीपका लागि प्राविधिक शिक्षा’
    3 months ago     230
‘व्यवहारिक सीपका लागि प्राविधिक शिक्षा’


रोशन तिवारी फागुन २४ पर्वत । फलेवास ४ मुडिकुवामा सञ्चालित माटेदेवल व्यवसायिक तथा प्राविधिक माध्यमिक विद्यालयले व्यवहारिक सीपको विकास गर्न प्राविधिक शिक्षा शुरु गरेपछि यहाँ बिद्यार्थीहरुको आकर्षण बढेको छ ।। विद्यालयको ५८ औं वार्षिकोत्सवका अवसरमा विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले प्रस्तुत गरेको प्रतिबेदनमा ‘अब गाउँमा व्यवहारिक सीपको खाँचो’ भएको कुरा औंल्याउँदै विद्यालयले सञ्चालनमा ल्याएको ‘बाली विज्ञान’ विषयको पठनपाठन यसैको उपज भएको विद्यालयले जनायो ।

‘लामो समयको अनुभवपछि प्राविधिक विषयको पढाई शुरु गरेका हौं,’ प्रअ रिजालले भने, ‘शुरुका केहि वर्ष विद्यार्थी पाउन पनि मुस्किल प¥यो । अहिले थेग्नै मुस्किल परेको छ । यहाँ पढेका धेरै युवायुवतीले १२ कक्षा नसक्दै रोजगार पाएका छन् ।’ ५ वर्षदेखि कक्षा ९ बाट बाली विज्ञान शुरु गरेको यो विद्यालयमा हालसम्म सयबढी विद्यार्थीले प्राविधिक विषय अध्ययन गरिसकेका छन् । हाल विद्यालयको कक्षा ९ मा २०, १० मा २५, ११ मा ३५ र कक्षा १२ मा २५ जना विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्छन् ।

शैक्षिक सत्र ०७० देखि शुरु प्राविधिक तथा व्यवसायिक शिक्षाका विद्यार्थीहरुलाई विद्यालयकै जग्गामा प्रयोगात्मक अभ्यास गराइन्छ । ‘खेर गएको विद्यालयको जग्गा उपयोग गरेर एकातिर आम्दानी बढेको छ,’ व्यवस्थापन समिति अध्यक्ष धनेश्वर रेग्मीले भने, ‘अर्कोतर्फ विद्यार्थीमा काम गर्ने बानीको विकास र तरकारीमा व्यवसायिक बन्ने सीपको विकास भएको छ ।’ यहाँ पढ्ने अधिकांस विद्यार्थी विद्यालयको सेवा क्षेत्र भित्रैका छन् । 

सेवाक्षेत्र भित्रका विद्यार्थीले विद्यालयबाट बचेको समयमा घरमै तरकारी लगाएर आम्दानी समेत गर्छन् । सिर्सुवाका सुनिल गौंडेलका अनुसार विद्यालयमा सिकेको सीपबाट घरमै तरकारी फलाएर राम्रो आम्दानी हुँदैआएको छ । ‘पहिला घरमा खाने तरकारी पनि किन्नुपथ्र्यो,’ उनले भने, ‘अहिले घरमा फालाफाल छ । बढी भएको बिक्रि गरेर पढाइखर्च पनि जुटेको छ ।’

विद्यार्थीहरुमा कृषिको विकास मात्रै नभएर रोजगारोन्मुख पनि भएका छन् । यहि विद्यालयका विद्यार्थी स्थानीय तह र केहि परियोजनाहरुमा प्राविधिक विषयमा रोजगारी गरिरहेको शिक्षक घनश्याम भुषालले बताए । कक्षा ११ र १२ मा प्राविधिक विषय खुलेपछि छिमेकी जिल्ला बाग्लुङको जैदी, छिस्ती लगायतबाट समेत आउँछन् । टाढाबाट आउने विद्यार्थीहरुका लागि विद्यालयमै छात्रबासको व्यवस्था छ । बसोबासको व्यवस्था विद्यालयले निशुल्क गरेको छ ।

वार्षिकोत्सवका अवसरमा बोल्ने सरोकारवाला र अभिभावकहरुले अब कृषिबाट समृद्धी र आर्थिक परिवर्तनका लागि प्राविधिक र व्यवहारिक ज्ञानको विकल्प नभएको बताए । ‘अहिले बैज्ञानिक र आधुनिक युग हो,’ प्रदेश सांसद विकास लम्सालले भने, ‘अब व्यवहारिक शिक्षाको विकल्प छैन । माटेदेवलले ५ वर्षअघि नै दूरदृष्टी राखेर शुरुआत गरेकोमा म गर्व गर्छु ।’ प्राविधिक शिक्षामा कुनै समस्या भए आफुले सक्दो सहयोग गर्न तत्पर रहेको उनले बताए । फलेवासका नगरप्रमुख पदमपाणी शर्माले नगरपालिकामा सञ्चालित एक मात्रै प्राविधिक तथा कृषि विषयको विद्यालयलाई मुलुककै नमुना शैक्षिक केन्द्रका रुपमा विकास गरिने दाबी गरे । प्रअ रिजालले अब प्राविधिक विषयका छुट्टाछुट्टै कक्षाकोठा, फर्निचर र प्रयोगशालाका केहि उपकरणको अभाव रहेको बताए ।

साथमा तस्विर पनि छ ।

पर्वतको फलेवास ४ मुडिकुवास्थीत माटेदेवल व्यवसायिक तथा प्राविधिक विद्यालयका विद्यार्थी । ५८ औं वार्षिकोत्सवका अवसरमा लिइएको तस्विर । तस्विर ः रोशन तिवारी ।


सम्बन्धित समाचार (जिल्ला )