Correspondent, ParbatNepal
8 years ago
1968
पर्वत ५ फागुन । पठन संस्कृतीको बिकास गर्ने उद्धेश्यले सदरमुकाम कुश्मामा अन्तरक्रिया गरिएको छ । शनिवार कथालय पव्लिकेशन प्राली काठमाण्डौँको आयोजना र नीजि तथा संस्थागत विद्यालयहरुको संगठन प्याव्सनको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बक्ताहरुले पढेर मात्रै सम्पूर्ण कुराहरुको जानकारी हासिल नहुने भएकाले पढाईसंगै बिषयको बोध हुनु जरुरी रहेको बताए ।
अन्तरक्रियामा बोल्दै नारायण माविका पूर्व प्राचार्य पृथ्वीनारायण शर्मा र शिवालय वहुमुखी क्याम्पसका प्राध्यापक लेखनाथ उपाध्यायले विद्यार्थीहरुलाई कुनै विषय घोकाउने मात्रै प्रवृति वढेको तर त्यसको तात्पर्यता के हो भन्ने वारे विद्यार्थी संधै अवुझ रहने गरेको गुनासो गरे । ‘सूर्यको अंग्रेजी नाम शन हो भन्ने मात्रै विद्यार्थीलाई थाहा छ तर सूर्यका एकहजार आठ नाम छन्,’नारायण माविका पूर्व प्राचार्य शर्माले भने,‘ विद्यार्थीहरुले सूर्यका एकहजार आठ नाम कसरी रहे भनेर पनि जान्नु आवश्यक छ ।’ उनले भने–‘अहिले जान्नका लागि भन्दा पढ्नका लागि मात्रै पाठ पढिँदै छ यसले व्यवहारिक शिक्षामा सकारात्मक नतिजा दिँदैन ।’
शिवालय वहुमुखी क्याम्पसका प्राध्यापक एवं ¥याण्डम रिडर्स सोसाइटीका अध्यक्ष लेखनाथ उपाध्यायले पुस्तक पढ्दा एकाग्रता, विषयवस्तुको गहिराईमा पुगेर गहन अध्ययन, सन्दर्भ सामाग्रीहरुको अवलोकन जस्ता कुराहरु पनि पठन क्रियाकलापमा प्रयोग गर्नुपर्नेमा जोड दिए । अहिले अंग्रेजीलाई बढि महत्व दिन थालिएकोमा उनले असन्तुष्टि जनाए । ‘ पाठकहरुलाई रुची अनुसारका पठन सामाग्री प्रकाशन गर्नुुपर्छ,’उपाध्यायले भने,‘ पढ्दा मज्जा आउने सामाग्री भएमात्रै पाठकहरु पठन तर्फ आकर्षित हुन्छन । ’
कार्यक्रममा शिक्षाबिद्, बिद्यालयका प्रधानाध्यापकहरु,शिक्षक, बिद्यार्थी, प्यावसनका पदाधिकारी लगायत सहभागी थिए । उक्त कार्यक्रममा वोल्दै प्याव्सन पर्वतका अध्यक्ष वसन्तकुमार कर्माचार्यले पठन संस्कृतीको विकास गर्न र यसको थालनी विद्यालयहरुवाटै गर्नुपर्छ भनेर कार्यक्रमको आयोजना गरिएको बताए । अन्तरक्रिया कार्यक्रममा मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, गिभिङ आशाका प्रतिनिधी वेथ बृस्टर, प्याव्सन पर्वतका पूर्व अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, साहित्यकार ईन्द्रकुमार ‘विकल्प’ले पठन क्रियाकलापको बिकास गर्न खेल्नुपर्ने भूमिकाको वारेमा जानकारी दिए ।
कथालय पव्लिकेशन प्रालीका कार्यकारी अधिकृत राजिधर जोशीले कार्यक्रमको सहजीकरण गर्दै पढाईलाई वोझको रुपमा नभई मनोरञ्जनको रुपमा लिएर पढ्ने र पढाउनुपर्ने वताए । हरेक बिद्यालयले पुस्तकालय स्थापना गर्नुपर्ने, कक्षाकोठामा शिक्षकहरुले प्रर्याप्त सन्दर्भ सामाग्रीहरुको प्रयोग गर्नुपर्ने , पढाईलाई गित, कविता, जोक्समा परिणत गरे पढाउनुपर्ने जोशीले बताए ।
