दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन
रोशन तिवारी     5 months ago     635
दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन

रोशन तिवारी

पुष २३ पर्वत -

कुश्माका यूवाले वाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरि जिल्लामै नमूना रिसोर्ट सञ्चालन गरेका छन् । दुई करोडको लगानीमा यहाँका तीन यूवाले रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । पोखरा वागलुङ राजमार्गको छेउमै छमर्केमा व्लु एञ्जल रिसोर्ट सञ्चालन भएपछि जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने विश्वास लिइएको छ । कुश्मामा विभिन्न व्यवसायमा संलग्न आलोक श्रेष्ठ, विष्णु पुरी र राजु शर्माले यसमा लगानी गरेका हुन् ।

विगत दुई हप्ता अगाडीवाट रिसोर्टले अनौपचारिक रुपमा सेवा शुरु गरेको छ । रिसोर्ट वाहिरवाट हेर्दा नै आकर्षक छ । वजारको कोलाहल वाट टाढा र कालीगण्डकीको शिरमा रहेका कारण प्राकृतिक रुपमा पनि आनन्दलायक रहेको सेवाग्राहिको अनुभव छ । रिसोर्टमा विभिन्न उमेर समुहका व्याक्तिलाई वेग्ला वेग्लै (वेवी, पाका र महिला) तीनवटा स्विमिङ पुल, फरक फरक शैलीका ५ वटा विश्रामस्थल, २ सय जना अट्ने क्षमताको एउटा पार्टि हल, अटेच वाथरुम सहितका ५ वटा रुम र २ वटा सानो वैठक हल रहेका छन् । 

रिसोर्टमा वालवच्चाहरुलाई खेल्न र रमाउन वालउद्यानको व्यवस्था र अपाङग व्याक्तिहरुलाई सहज रुपमा जाने गरि अपाङगमैत्री संरचना निर्माण भएका छन् । वुढापाकाहरुलाई भजनकिर्तन गराउने व्यवस्था पनि गर्न थालेको सञ्चालक राजु शर्माले वताए । 

साढे ७ रोपनी जग्गा १५ वर्षसम्म भाडा तिने सम्झौता गरि रिसोर्ट निर्माण गरिएको लगानीकर्ता मध्येका एक आलोक श्रेष्ठले जानकारी दिए । हिमालपारीको जिल्ला मुस्ताङ जाने र आउने तथा जिल्लाभित्रका पर्यटकिय स्थलमा आउने पर्यटकहरुलाई लक्षित गरि रिसोर्ट सञ्चालन गरेको श्रेष्ठले वताए । ‘पर्यटकहरुलाई स्तरिय सेवा दिने हाम्रो लक्ष्य हो,उनले भने,’आन्तरिक तथा वाह्य पर्यटकहरुलाई क्वालिटी सेवा दिनेमा हामीले वढि ध्यान दिन्छौँ ।‘ रिसोर्टले एक महीना अगाडीवाट सेवा शुरु गरेको छ । ‘शुरुकै दिनहरुमा आउनेहरुले निकै राम्रो रेस्पोन्स दिनुभएको छ, हामी उत्साहीत छौँ’ उनले भने । 

जिल्लामा  यूवाहरु स्वरोजगार हुन नसकेर विदेश पलायन भैरहेका छन् । तर यि यूवाहरुले भने स्वदेशमै पनि विभिन्न नयाँ नयाँ काम गरेर आम्दानी गर्न सकिन्छ भनेर रिसोर्ट सञ्चालन गरेको वताएका छन् । ‘करोडौँ लगानी जुटाउन सक्नेहरु पनि विदेश गईरहेका छन्, विष्णु पुरीले भने,’ यहाँ करोड लगानी गरे विदेश जानु पर्दैन ।‘ लगानीकर्तालाई पनि आम्दानी हुने र जिल्लाको पर्यटनमा पनि सहयोग मिल्ने गरि रिसोर्ट चलाएको पुरीको भनाई छ ।

पर्वत जिल्ला पर्यटनको क्षेत्रमा विस्तारै परिचित हुँदै गएको छ । जिल्लामा नेपालकै अग्ला तीनवटा झोलुङगेपुल वनेका छन् । यहाँ कालीगण्डकी नदीमा वञ्जिजम्प पनि वन्दै छ । यहाँका धार्मिक स्थल, लेक र गाउँवस्तीमा थुप्रै पर्यटक लोभ्याउने सम्पदा छन् । ’कुश्मामा स्तरिय होटलको अभाव छ,‘ उनले भने,’ यहाँ आउने पर्यटकहरुलाई एकदिन भएपनि अडाउन हाम्रो रिसोर्टको लक्ष्य रहेको छ ।‘ 

रिसोर्टले पर्यटकहरुलाई प्रत्यक्ष रुपमा सेवा दिएर पर्यटन प्रवर्दनमा सहयोग पुग्ने पर्यटन व्यवसायीको विश्वास रहेको छ । पर्वत पर्यटन केन्द्रका अधयक्ष शिव शर्मा पौडेलले पर्यटनको क्षेत्रमा रिसोर्टले पुलको काम गर्ने वताए । पौडेलले भने,‘एकातिर यूवाहरु स्वरोजगार हुने अर्को तिर पर्यटनमा पनि सहयोग गर्ने भएपछि यस्ता व्यवसायमा अरु यूवाहरुले पनि लगानी गर्नुपर्छ । ’


सम्बन्धित समाचार (जिल्ला )