अवकाश पछि माहुरीपालन
    3 months ago     150
अवकाश पछि माहुरीपालन

फलेवास ९ पर्वत — नेपालमा कर्मचारीहरू ६० वर्ष उमेर पुगेपछि सरकारी सेवाबाट अवकास हुन्छन् । ६० वर्ष कटेपछि जेष्ठ नागरिकको परिचयपत्र र ६५ वर्षपछि सामाजिक सुरक्षा भत्ता समेत दिने व्यवस्था छ । तर, यहाँका एक ६५ वर्षेको जाँगर भने कुनै युवाको भन्दा कमी छैन । फलेवास ४ कमलेबजारका नरेश्वर शर्मा पौडेल प्राथमिक तहका पूर्वशिक्षक हुन् । शिक्षण पेसाबाट ५ वर्षअघि अवकास लिएका पौडेलले अहिले पेन्सन भन्दा बढी आफ्नै पौरखले आम्दानी गरिरहेका छन् । त्यो पनि आफ्नै आँगनबाट । ३ आना जग्गाबाट उनले वार्षिक ४देखि साढे चार लाखसम्म आम्दानी गर्छन् ।


२०४६ सालदेखि माहुरीपालनमा लागेका पौडेलले आफू शिक्षण पेसामा रहँदा पनि सक्रिय थिए । ०३७ सालमा प्रमाणपत्र तहको परिक्षा दिन भारतको गोरखनाथ जाँदा आधुनिक माहुरीपालन देखेर प्रभावित भएका उनी गाउँ फर्किएर यो पेसा गर्ने सोच बनाएको बताउँछन् । ‘म घर फर्केपछि १० वर्षसम्म आधुनिक घार नेपालमा पाइएन,’ उनले भने, ‘यो घार भेट्नेबित्तिकै मैले एउटाबाट पाल्न सुरु गरेको हुँ ।’ अहिले उनकोमा २६ घार माहुरी छन् । बिहान उठेदेखि साँझसम्म उनले माहुरीको रेखदेखमा बिताउँछन् । अहिले भएका माहुरी सबै जंगलबाट खोजेर ल्याएको हुँ,’ उनले भने । बागलुङको बलेवास्थित एक प्राथमिक विद्यालयमा अध्यापन गर्नेक्रममा बाटोमा पर्ने जंगलबाट माहुरी ल्याएर घार विस्तार गरेका हुन् । उनको यो पेसालाई श्रीमती हरिकलाले साथ दिएकी छन् । ‘दुई छोराहरू आफ्नो बाटो लागे । पेन्सनपछि समय बिताउन गरौं भन्नुभयो । उहाँलाई फुर्सद नहुँदा मैले नै हेर्छु ।’ श्रीमती हरिकलाले भनिन् । उनका दुई छोराहरू पेसा र रोजगारीको सिलसिलामा गाउँबाहिर छन् ।

पौडेलले पालेका माहुरीबाट वर्षमा ३ पटक माहुरी निकाल्छन् । फागुन, मंसिर र जेठमा मह निकाल्छन् । एउटा घारबाट वर्षमा १५ देखि २० किलो मह उत्पादन हुन्छ । अहिले महको बजारमूल्य प्रतिकिलो १२ सय रुपैयाँ छ । मह सहजै बिक्री हुन्छ । फलेवास नगरपालिकामा व्यावसायिक रूपमै माहुरी पाल्ने किसान नरेश्वर मात्रै हुन् । स्थानीय प्राकृतिक जडीबुटी र फूलको रस खाएका माहुरीको मह स्वस्थकर मात्रै नभई विभिन्न रोगको औषधिका रूपमा समेत प्रयोग हुने विश्वास छ ।

मह र माहुरी अझ विस्तार गर्ने योजनामा छन् । पौडेलले दुई दशकदेखि यो व्यवसायमा लागेर पनि औपचारिक तालिम लिएका छैनन् । सरकारी तथा गैरसरकारी निकायबाट कुनै आर्थिक र प्राविधिक सहयोग पनि उनलाई आएको छैन । पछिल्लो समय एक नयाँ प्रजातिको चरा र अरिङ्गाल माहुरीपालनका चुनौती थपिएका छन् । २ वर्षदेखि हिउँदको समयमा देखिने हरियो चराले नजिकैको बाँसमा बसेर माहुरी खाने गरेको पौडेल दम्पतीले सुनाए । ‘त्यो चराको गन्ध पाएपछि माहुरी सबै लाइन लागेर त्यहाँ पुग्छन् । चराले सबै खाएर सखाप पारिसक्यो ।’ त्यस्ता चरा १०–१२ को हाराहारीमा छन् । त्यसबाहेक कमिला, हुरीबतास, शीत, आकासे वर्षा माहुरीका शत्रु हुन् । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नगरपालिकामा अन्यत्र व्यावसायिक माहुरीपालन नभएको अवस्थामा नरेश्वरलाई सहयोग मात्रै नभएर प्रोत्साहन गरी अन्यत्र विस्तार गर्ने सोच बनाएको बताए । ‘त्यो फलेवासकै नमुना माहुरीपालन फर्म हो,’ शर्माले भने, ‘उहाँलाई प्रोत्साहन गर्न अनुदान मात्रै होइन । हामीले थप माहुरीपालन गर्न उहाँबाटै सुरुवात गर्छौं ।’कान्तिपुर दैनिकमा खबर छ ।