मोदीका विद्यालयहरु सरसफाईमा अव्वल
    8 months ago     161
मोदीका विद्यालयहरु सरसफाईमा अव्वल



रोशन तिवारी पुष २५ पर्वत- 


पर्वतका कतिपय विद्यालयमा खानेपानीका लागि गाउँ चाहानुपर्ने वाध्यता छ । शौचालयमा प्रयोग गर्ने पानीको व्यवस्था नहुँदा दुर्गन्ध फैलिएका विद्यालय धेरै छन् । विद्यालयमा सरसफाईको पाठ पढ्ने विद्यार्थीहरु व्यवहारमा भने फरक परिस्थिती भोगिरहेका छन् । तर मोदी गाउँपालिकाको ३ वडामा विद्यालयहरु भने सरसफाईमा नमूना वन्दै गएका छन् । गतवर्षदेखि सरसफाई सम्वन्धी परियोजना शुरु भएपछि यहाँका विद्यालय व्यवहारिक रुपमै सरसफाईमा अव्वल भएका हुन् । नेपाल रेडक्रस सोसाईटीले मोदी २ र ३ का विद्यालयहरुमा सरसफाई परियोजना सञ्चालन गरेपछि विद्यार्थीहरु सरसफाई प्रति सजग वन्दै गएका छन् भने विद्यालयहरुले पनि सरसफाईमा जनशक्ति र लगानी गरिरहेका छन् । 

‘पहिले विद्यालयको वाताबरण निकै फोहोर थियो अहिले शौचालय, चौर र कक्षाकोठा सफा सुग्घर छन् मोदी ३ को सरस्वती माविमा पढ्न निकिता लामिछानेले भनिन्, सरसफाईका वारेमा विद्यालयमा सिकेपछि अहिले परिवर्तन आएको छ ।’ विद्यालयमा सरसफाईको जागरण नै आएको विद्यार्थीहरु वताउँछन् ।  

यहाँका विद्यालयहरुले सफाईमा अव्वल वन्न होडवाजी नै गर्ने गरेका छन् । शौचालय र हातधुने वेसिनमा सावुनको प्रयोग, प्रत्येक पटक जोखिमपूर्ण अवस्थामा हात धुने धारणा, वाताबरणको सरसफाईमा विद्यार्थीहरुलाई सचेत गराउन थालिएको शिक्षक विमल शर्माले वताए । त्यस्तै विद्यालयहरुले अतिरिक्त कृयाकलापमा समेत सरसफाई सम्वन्धि नाटक, गीत प्रतियोगिता वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने गरिएको छ । यसो गर्दा विद्यार्थीहरुमा सरसफाई र स्वच्छता सम्वन्धि धारणाको विकास हुने गरेको शिक्षक शर्माले वताए । 

मोदी गाउँपालिकाका वार्ड नं २, ३ र ४ का २४ वटा विद्यालयमा नेपाल रेडक्रस सोसाईटीले सरसफाई सम्बन्धि परियोजना सञ्चालन गरिरहेको हो । विद्यालयहरुमा तालिम र प्रशिक्षण शौचालय निर्माण, वेसिन निर्माण, फोहोर फाल्ने रिङ्ग निर्माण गर्न आर्थिक सहयोग दिईने गरेको रेडक्रस सभापती रुद्रवहादुर रिमालले जानकारी दिए । रिमालले भने,‘ हामीले सावुन नभएका विद्यालयलाई सावुन दिन्छौ, शौचालय वनाउन, फोहोर फाल्ने डस्टविन वनाउन आर्थिक सहयोग र तालिमका लागि सहयोग गछौँ ।’ उनले भने,‘हामीले समुदायमा पुगेर तालिम दिने गरेका छौँ ।’ विद्यालयमा सिकेका कुरा विद्यार्थीहरुले घरमा पनि लागु गर्न अभिभावकहरुलाई प्रेरित गर्ने गरेका छन् । स्वास्थ्यप्रति सचेतना फैल्याउन विद्यार्थीहरु नै सक्रिय भएपछि विद्यालय र समाजमा सरसफाई र स्वच्छताको अवधारणा विकास हुँदै गएको सरस्वती आधारभूत विद्यालयका शिक्षक चिरञ्जिवी अधिकारीले वताए ।