दक्षिणी पर्वत जोड्न चिर्दीखोलामा पुल वन्दै
admin     3 weeks ago     28
दक्षिणी पर्वत जोड्न चिर्दीखोलामा पुल वन्दै



पुष १२ पर्वत -

दक्षिणी पर्वतलाई सदरमुकाम संग जोड्ने एकमात्र सडक दोविल्ला–हुवास सडक खण्डको चिर्दीखोलामा पक्कि पुल निर्माण भैरहेको छ । फलेवास नगरपालिका ७ लिमिठाना र १० कुर्घाको वीचमा पर्ने चिर्दिीखोलामा उक्त पुलको निर्माण कार्य भैरहेको हो । 

एक नगरपालिका र तीन गाउँपालिकाका वासिन्दा यो पुल वनेपछि प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । स्थानीय स्तरका सडक पूर्वाधार कार्यक्रम अन्तर्गत नेपाल सरकारको ६७ लाखमा पुल निर्माणको काम हुँदैछ । २०७५ साल असोजसम्ममा काम सक्ने लक्ष्य लिएर मृत सञ्जिवनी एण्ड वृद्धाञ्चल जेभिले पुल निर्माणको ठेक्का लिएको हो । निर्माण सामाग्रीको असहजता, ढुवानीमा लामो दुरीको प्रयोग, कामदारको अभाव जस्ता कारणले पुल निर्माणको सम्झौता समय केहि धकेलिने देखिएको निर्माण कम्पनीका ठेकेदार गोविन्द आचार्यले वताए । ‘हामीले सकेसम्म सम्झौता भए अनुसारनै समयमै काम सक्ने गरि काम गरेका छौँ, उनले भने ।  

पुल निर्माण नहुँदा फलेवास नगरपालिका, महाशिला, पैयुँ र विहादी गाउँपालिकामा हिउँदका समयमा मात्रै गाडी चल्ने गरेको थियो । वर्खायाममा पुल नभएकै कारण यातायात अवरुद्ध हुँदै आएको थियो । अव पुल वनेपछि सास्ती हटेर जाने जिल्ला प्राविधिक कार्यालयका ईन्जिनियर जगदिश शर्माले वताए । पुल वन्न लागेकामा स्थानीय हर्षित भएका छन् । पूर्व साँसद अर्जुनप्रसाद जोशीको पहलमा उक्त पुल निर्माणको योजना परेको वताइएको छ ।