Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

2057




जलजलाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा
जलजलाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा



पुष १३ पर्वत । पर्वतको जलजला गाउँपालिकाका सबै सामूदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम शुरु गरिने भएको छ । विद्यार्थीहरुलाई पढाईमा आकर्षित गर्न र पोषण सुधारका लागि गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गर्न लागिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्लले वालविकास केन्द्र देखि कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गरि खाजा ख्वाउने कार्यक्रम शुरु गर्न थालिएको बताउनुभयो । गाउँपालिकाभित्रका ४४ वटा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन हुनेछ । 

कार्यक्रममा दैनिक रु १५ हजार भन्दा बढी लगानी गर्नुपर्ने अवस्था रहेको छ भने वार्षिक ५० लाख भन्दा बढी दिवा खाजामा खर्च हुने गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार विद्यालय खुलेको दिनमा प्रति दिन रु १५ का दरले दिवा खाजा खुवाउने गरी गाउँपालिकाले आवश्यक तयारी गरेको छ ।

दिवा खाजामा स्थानीय उत्पादन मात्रै प्रयोग गर्न भनिएको छ । विद्यार्थीहरुलाई पोषण सुधारका लागि अलगअलग खानेकुराको सूची बनाएर ख्वाउने व्यवस्था गर्न गाउँपालिकाले विद्यालयलाई परिपत्र गरेको छ । 

विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा खुवाउने व्यवस्था गर्नुपर्ने र खाजा खुवाउदा आवश्यक मात्रा, स्वच्छता र पोषकतत्व सुनिश्चिततामा ध्यान पु¥याउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिनुभयो । अभिभावक, आमा समूह वा क्लब र अन्य व्यावसायिक लगायतको माध्यमवाट स्थानीयस्तरमा उत्पादित खाद्यान्न प्रयोग गरी दिवा खाजा खुवाउन सकिने जनाइएको छ ।

विद्यार्थीहरुले पेटभरि खाजा खान पाउँदा दिनभरि स्फूर्त भई कक्षामा सहभागी हुने विश्वास गरिएको छ । विद्यालयले खाजा ख्वाउने व्यवस्था नगर्दा विद्यार्थीहरुले बजारिया खाजा किनेर खाने गरेका थिए । विद्यालयमा खाजा कार्यक्रम शुरु भएपछि बजारमा किनिएका सामान र पत्रु खान पूर्ण रुपमा निषेध गरिने शिक्षा शाखाका प्रमुख झलकनाथ आचार्यले बताउनुभयो । विद्यालयले मासिक रुपमा खुवाएको खाजाको भुक्तानी आवश्यक बिल भरपाईको आधारमा गाउँपालिकाले भुक्तानी गर्ने उहाँले बताउनुभयो । 

गाउँपालिकामा सामुदायिक विद्यालय ४४ वटा रहेका छन् । तीमध्ये १० वटा मावि, चार वटा आधारभूत विद्यालय र अन्य ३० वटा प्रावि तहका विद्यालय रहेका छन् । खाजा कार्यक्रमवाट झण्डै एक हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने भएका छन् । 

केन्द्र सरकारले प्रत्येक विद्यार्थीहरुलाई १५ रुपैयाँको दरले दिवा खाजा खान पाउने गरि बजेट पठाएको छ । जलजला गाउँपालिकाले कार्यक्रम शुरु गरेपनि अन्य पालिकामा भने यो कार्यक्रम कार्यान्वयन भएको छैन । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)