Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

4 years ago

2574




पर्वतको पाङ, राम्जा, रानीपानी र कुर्घामा कृषि नमूना गाउँले परिवर्तन
पर्वतको पाङ, राम्जा, रानीपानी र कुर्घामा कृषि नमूना गाउँले परिवर्तन

पर्वत ,साउन ३१। मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रम शुरु भएपछि कुश्मा नगरपालिका १ पाङ, मोदी गाउँपालिका ७ राम्जादेउराली, फलेवास १० कुर्घा, बिहादी गाउँपालिका ३ रानीपानीमा तरकारी खेतीको लहर चलेको छ । दुईवर्ष देखि कार्यान्वयन भएको मूख्यमन्त्री वातावरणमैत्री नमूना गाउँ कार्यक्रमले किसानलाई उन्नत वाली तर्फ आकर्षित गराएको हो ।

लागतको ८५ प्रतिशत सम्म प्रदेश सरकारको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अनुदान दिने र प्राविधिक परामर्श गाउँमै खटिएका कृषि प्राविधिकले दिने भएपछि किसानहरु तरकारी खेतीमा आकर्षित भएका हुन् । कार्यक्रम कार्यान्वयन भएको पाङका हरेक घरका टनेलमा गोलभेंडा लटरम्म फलेका छन् । कसैले पनि जग्गा बाँझो छाडेका छैनन् । एउटा टनेलबाट कम्तीमा पनि ६०÷७० हजार रुपैयाँभन्दा बढी नकमाउने कोही पनि छैनन् । कृषक शंकर रिजालले गतवर्ष नै एउटा टनेलबाट एक लाख रुपैयाँ आम्दानी गरे । यो वर्ष थप टनेल बनाएका छन् ।

 मेरो सिको गर्दै अरुले पनि टनेलमा तरकारी खेती गर्न थालेका हुन्,‘ रिजालले भने,‘ गतवर्ष बाट सरकारले पनि साथ दिएपछि ८५ घर परिवार यो कार्यक्रममा आवद्ध भएका छन् । गाईभैँसीको गहुँत संकलन गर्न टंकी बनाईएको छ । सकेसम्म रासायनिक बिषादीको प्रयोग नगरिकनै तरकारी फलाउने किसानहरुले बताए ।  वडा अध्यक्ष देवेन्द्र प्रसाद सुवेदीका अनुसार गत वर्षदेखि पाँच वर्षका लागि कार्यक्रम लागू भएपछि एक वर्षकै अवधिमा कृषकले टनेल हालेर राम्रो आम्दानी गर्न सकेका हुन् । टार र खरीबोटका १४१ घरमा यो कार्यक्रम लागू भएको छ ।

यता मोदी गाउँपालिका ७ राम्जादेउरालीमा भकारो सुधार गरिसकिएको छ । कोरोनाको कहरका बिच स्थानीयले भकारो सुधार गरेर टनेल निर्माण भएका छन् भने भकारो सुधारका काम पनि भैरहेका छन् । कृषि प्राविधिक अस्मिता पौडेलका अनुसार राम्जादेउरालीका ४२ घरमा टनेल, एउटा सामूहिक नर्सरी, २९ वटा गोठमा भकारो सुधार भएको छ ।

 ५ वटा स्थाई सिमेण्टेट डस्विन निर्माण गरिएको छ । यो कार्यक्रम सञ्चालनमा आउँदा प्रत्येक घरमा ३० देखि ४० हजार रुपैयाँ मासिक आम्दानी हुने अनुमान गरेको पौडेलले बताउनुभयो ।

पाङमा कार्यक्रम कार्यान्वयन गर्ने वर्ष २५ लाख रुपैयाँ र गतवर्ष १५ लाख, राम्जामा गतवर्षबाट शुरु भएको र २५ लाख अनुदान प्राप्त भएको थियो । फलेवासमा दोस्रो वर्षमा र बिहादी र पैयुँमा गतवर्ष देखि कार्यक्रम शुरु भएको हो । यो वर्ष जलजला र महाशिला गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन हुँदै छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( स्थानीय तह)