Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2585




हामी पर्वतको विकासमा हातेमालो गर्ने अभियानमा छौँ ।
हामी पर्वतको विकासमा हातेमालो गर्ने अभियानमा छौँ ।


पर्वत सेवा समाज यू.ए.ईं को आयोजनामा पर्वतको कुश्मामा विजयादशमी, दिपावलीको शुभकामना सहित पर्वतको विकासका सन्दर्भमा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्तिक १० गते हुने कार्यक्रमको तयारी लगभग पुरा भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाको प्रमुख आतिथ्यतामा युनिभर्सल पार्टि प्यालेसमा हुने कार्यक्रममा अन्तराष्ट्रिय पर्वत समाजका प्रतिनिधी सहित विभिन्न देशका पर्वत सेवा समाजका प्रतिनिधीहरु सहभागी हुँदैछन् । कार्यक्रमको सन्दर्भमा आयोजक पर्वत सेवा समाज यू.ए.ई. का अध्यक्ष पर्शुराम पौडेल संग पर्वत नेपाल डट.कम. ले कुराकानी गरेका छौँ । 

तपाईलाई पर्वत नेपाल डटकममा स्वागत छ । 

धन्यवाद । यहाँको अनलाईनमा आँखा लगाउने सबै नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई नमस्कार, स्वागत तथा अभिभावदन व्यक्त गर्दछु । 

कार्तिक १० को कार्यक्रमको तयारी कस्तो छ ? 

हामीले कार्यक्रमको तयारी लगभग पुरा गरेका छौँ । हामी यो कार्यक्रमको दौरानमा एक महिना जति पर्वतमै बसेर तयारी ग¥यौँ । निमन्त्रणा गर्नुपर्ने सबैलाई पत्रमार्फत, फोन मार्फत र मौखिम रुपमा निमन्त्रणा ग¥यौँ । कार्यक्रमको एजेण्डाका बारेमा प्रवुद्ध व्याक्तिहरु संग सुझाव पनि लियौँ । दिनदिनै हामीले अझै सके सम्म सबै क्षेत्रको सहभागिता होस भनेर खोजी खोजी फोन गरेका छौँ । हामीले कार्यक्रमलाई सफल बनाउन गर्नुपर्ने तयारीहरु लगभग सकेका छौँ ।

 यो कार्यक्रमको उदेश्यको बारेमा जानकारी दिनुहोस न ?

हामी पर्वतको विकासमा हातेमालो गर्ने अभियानमा छौँ । यो कार्यक्रम शुभकामना आदानप्रदान सहित पर्वतको विकासको सन्दर्भमा छलफल गर्ने एउटा संयोगको रुपमा हामीले लिएका छौँ । बिशेष गरि पर्वत जिल्ला घर भई रोजगारीको शिलशिलामा विदेशमा रहेका हामी नेपालीहरुले पर्वतको विकासमा कसरी काम गर्न सक्छौँ र त्यसका लागि पर्वतका उच्च पदमा पुगेका व्याक्ति, साँसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, राजनीतिक दल, वडाका अध्यक्षहरु, संघसंस्थाहरुका प्रतिनिधी संग हामीले हामीले संगै बसेर पर्वतको विकासको बारेमा कुरा गर्नेछौँ । हामीले विभिन्न समयमा सहयोग गर्दै आएका छौँ । अव कुनै एक विशेष प्याकेज बनाएर प्रभावकारी रुपमा सहयोग गर्ने हाम्रो उदेश्य रहेको छ । जिल्लाको दिर्घकालिन विकासमा हामी बाहिरी देशमा रहेका पर्वते दाजुभाईहरुले सहयोग गर्ने र यहाँका सरोकारवालाहरु संग त्यसमा सहकार्य गर्न चाहान्छौँ ।

यहाँहरुले लिएको अपेक्षा अनुसारको योजना पुरा होला त ?

अवश्य पनि हामीले जुन लक्ष्य लिएका छौँ त्यो सफल हुनेछ । किनकी पर्वतको विकासका लागि हामी तयार भएका हौँ । र हाम्रो अभियान पर्वतवासीहरुले स्विकार नगर्ने कुरै भएन् । हामीले राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेशप्रसाद तिमिल्सीना, साँसद पदम गिरी, विकास लम्साल, नेत्रनाथ अधिकारी समेतलाई बोलाएका छौँ । ७ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, समन्वय समितिका प्रमुख, उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, रेडक्रस, गैसस, गैह्र आवसीय नेपाली संघ,अन्तराष्ट्रिय पर्वत समाज, पर्वत सेवा समाज लगायतका थुप्रै संस्थालाई निम्ताएर पर्वतको वास्तविक समस्या पहिचान गरि त्यसैमा हामी सहयोग गर्ने योजना बनाउन थालेका छौँ । हामी राजनीतिक प्रभाव बाट विल्कुलै टाढा रहि निस्वार्थ रुपमा लागेका छौँ । हामी पर्वतको विकास गर्ने स्वार्थका लागि कार्यक्रम गर्न लागेकाले हाम्रो योजनामा सबैको साथ रहने विश्वास छ । 

पर्वत नेपाल डटकम तपाईको कार्यक्रमको मिडिया पार्टनर पनि हो । हामीले के गर्दा यहाँहरुलाई थप सहयोग हुनेछ ?

हजुरहरु राज्यको चौथो अंग हो । यहाँहरुले हाम्रो कार्यक्रमको सकारात्मक सन्देश प्रवाह गर्नुहोला । यहाँहरुलाई पनि पर्वतको विकास प्रति चिन्ता पक्कै छ । त्यसैले पर्वतको विकासमा यहाँहरुले पनि विचार मन्थन गर्नुहुनेछ । सकारात्मक रुपमा सन्देश प्रवाह गर्ने, सल्लाह दिने, परामर्श गर्ने, गल्ती भएका कार्यको बारेमा सचेत गर्ने काम गर्नुहुनेछ । हामी र तपाई एउटै सिक्काको दुई पाटा हौँ भन्ने मेरो विश्वास छ । यो कार्यक्रमलाई सफल बनाउन दाहिने हात बनेर सहयोग गर्नुहोला भन्न चाहान्छु । 

अन्तमा देश विदेशमा रहेका पर्वतेहरुलाई के भन्नुहुन्छ ? 

म यस अवसरमा पर्वत र पर्वत बाहिर रहनुभएका सबैलाई विजयादशमी र दीपावलीको शुभकामना दिन चाहान्छु । पर्वतमा हुने सबैलाई हाम्रो कार्यक्रममा कार्तिक १० गते विहान १० वजे युनिभर्सल पार्टि प्यालेसमा आईदिनुहुन निमन्त्रण गर्दछु । विदेशमा हुने दाजुभाई दिदिवहिनीहरुलाई जहाँ भएपनि हाम्रो कार्यक्रमलाई सकारात्मक रुपमा सहयोग गर्न र सुझाव दिनुहुन अनुरोध गर्दछु । पर्वत सेवा समाज जस्तै अन्य संस्थाहरु बिदेशमा क्रियाशिल रहेका छन् । हामीले ति संस्थाहरुलाई पनि सम्झिन चाहान्छु । हाम्रो कार्यक्रमको बारेमा तपाईहरुले पनि साथ दिनुहुनेछ भन्ने आशा रहेको छ । सबैलाई रचनात्मक सहयोग गरि समृद्ध पर्वत निर्माणको अभियानमा सहभागी भैदिनुहुन मैले संस्था र मेरो व्याक्तिगत रुपमा आग्रह गर्दछु । कुनै सुझाव भएमा मेरो नम्बर ९८४६६२०९५५ र महासचिव कमल लामिछानेको नम्बर ९८६७६९४०८४ मा फोन गरेर जानकारी दिनुहुन अनुरोध गर्दछु । जयपर्वत, धन्यवाद । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)