Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

3 years ago

1646




व्यावसायीलाई झुठको पुलिन्दा बाँड्न हैन काम गर्न चाहान्छौँ : पौडेल
व्यावसायीलाई झुठको पुलिन्दा बाँड्न हैन काम गर्न चाहान्छौँ : पौडेल


२०७७ चैत ७ गते हुने पर्वत उद्योग वाणिज्य संघको अधिवेशनले पर्वत तातेको छ । उद्योग वाणिज्य संघको नेतृत्व हत्याउन शिव शर्मा पौडेल र गोपी अधिकारीले अलगअलग प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । चुनावको नतिजा कस्को पोल्टामा पर्छ भन्ने कुरा चुनावी नतिजाले देखाउने नै छ । हामीले चुनावी नतिजा आफ्नो पक्षमा पार्न कस्ता एजेण्डा लिएर मतदाता संग पुग्नुभएको छ र तपाईले चुनाव जित्ने आधार के के हुन भनेर व्यावसायिक तथा साझा प्यानलका उम्मेदवार शिव शर्मा पौडेल संग हामीले कुराकानी गरेका छौँ । 

तपाईलाई पर्वत नेपाल डटकममा स्वागत छ । 

धन्यबाद । पर्वत नेपाल डटकम परिवारलाई । 

तपाईले चुनावी मैदानमा उत्रिनुभएको छ । यो मैदानमा तपाईले जित्ने आधार के के हुन् ?

मैले र मेरो समूहले जित्ने धेरै आधार छन् । सर्वप्रथम त मतदाताहरुले विवेकको प्रयोग गरेर मतदान गर्नुहुनेछ भनेर हामीले भन्दै आएका छौँ । हाम्रो समूहले संस्थामा सुसासन,आथिक पारदर्शिता, विधि, पद्धतिमा अनुसासन, व्यावसायिक हकहित, व्यावसायिक आधुनिकिकरण, सातै स्थानीय तहमा शाखा बिस्तार, पर्यटन प्रबद्र्धन, बीमा कार्यक्रम, कोषको बृद्धि, प्रत्येक पालिकामा औधोगिकग्राम लगायत हाम्रा प्रतिबद्धतामा समेटिएका एजेण्डा पुरा गर्ने बाचा सहित आम व्यावसायीका बिचमा पुगेका छौँ । पर्वतको बाँसखर्क देखि टकलाक, भूकदेखि श्रृगारकोष सम्मका व्यावसायीहरुले हजुरहरु संधै हाम्रा हितमा बोल्नुभयो अब हामी यहाँहरुलाई जसरी पनि जिताउँछौँ भनेर बाचा गर्नुभएकोले हामी ढुक्क छौँ । 

यहाँहरुले मतदाता रिझाउन जाँदा कस्तो खालको प्रतिक्रिया बटल्नुभएको छ ?

यसअघि हामीले विभिन्न भूमिकामा रहेका गरेका कार्यहरु र दिएका योगदान खुला किताबका खुला पाना झैं छन् । हामीले आफ्नै उद्यम व्यवसायलाई समय सापेक्ष ढंगले विकास र विस्तार गरेको कुरा होस् या पर्वतका सामाजिक, आर्थिक, विकासका क्षेत्रमा गरेको योगदान, सायद लुकेको केही छैन । सबै पारदर्शी छ । जिल्लामा मुलुककै अग्ला र लामा झोलुंगे पुल निर्माणमा खटिएर गरेको काम अर्काे उदाहरण हो । सुन्तला र लप्सी प्रवद्र्धनका लागि गरिएको महोत्सव त्यस्तै उदाहरण हो । कुश्मा बजारमा अटो रिक्सा सञ्चालन र व्यवस्थापनको समन्वय र सहजीकरण पनि उदाहरणीय नमूना हो । यस्ता थुप्रै बग्रेल्ती उदाहरण हामीसँग छन्, जुन सर्वविदित छन भन्ने लाग्छ ।

पर्वत उद्योग वाणिज्य संघ केवल उद्यमी व्यवसायीको हकहितमा मात्रै सीमित हुने गरेको छैन, समग्रमा यसले सिंगो पर्वत जिल्लाकै व्यावसायिक उत्थान र विकास निर्माणमा पनि उत्तिकै महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । हो, त्यसैले उद्यम व्यवसायसँगै सामाजिक क्षेत्रमा समेत योगदान गरी जिल्लालाई नै सुन्दर भविष्य दिन सक्ने नेतृत्व आजको आवश्यकता हो । त्यो आवश्यकता शर्मा नेतृत्वमा हाम्रो टिमका उम्मेदवार निर्वाचित हुँदा पूरा हुन्छ भन्ने विश्वास गरेका छौं ।

पर्वतमा व्यावसायिक विकास संगै अन्य के के काम गर्न सक्नुहुन्छ ?

अथाह सम्भावना बोकेको पर्वत जिल्लाको जीवनस्तर उकास्न, सबैभन्दा पहिला यहाँको व्यावसायिक स्तर उकासिनुपर्छ । यहाँका पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन हुनुपर्छ । कृषि उपजको उत्पादन आधुनिक र यान्त्रीकरण विधिबाट हुनुपर्छ । साथसाथै उत्पादनको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरण हुनुपर्छ । यी तमाम कामका लागि अगुवाइ गर्ने, पहल कदमी लिने जिम्मेवारी पर्वत उद्योग वाणिज्य संघ र त्यसको नेतृत्वले गर्न सक्छ र गर्नुपर्छ । हामी यी लक्ष्य र उद्देश्य पूरा गर्न उद्यम व्यवसायमैत्री वातावरण हुनुपर्छ भन्ने ठान्छौं । त्यसका लागि पनि झक्झक्याउने र व्यवसायमैत्री वातावरण निर्माण गर्न पहल संघले गर्नुपर्छ भन्छौं । हामी नेतृत्वमा पुग्दा गर्ने पनि छौं ।

उद्यम व्यवसायको विकास र विस्तार बिना समृद्धि हासिल गर्न सम्भव छैन । त्यसका लागि आजको युगले मागेको प्रविधिलाई हामीले पछ्याउनै पर्छ, उद्यमी व्यवसायीको पनि क्षमता अभिवृद्धि हुनुपर्छ । त्यसैका लागि सबैभन्दा पहिला उद्योग वाणिज्य संघमा सबल र सक्षम नेतृत्व चाहिएको छ । जुन हामीले दिनेछौं । संघलाई चुस्त दुरुस्त बनाउने र उद्यमी व्यवसायीलाई आधुनिक युग र समय सापेक्ष ढंगले सबल तथा सक्षम बनाउने हाम्रो उद्देश्य हो । वास्तवमा यी उद्देश्य हाम्रा मात्रै उद्देश्य होइनन्, पर्वतका सबै उद्यमी व्यवसायीका उद्देश्य हुन् । तिनलाई पूरा गर्न पर्वत उद्योग वाणिज्य संघको नेतृत्वमा पुगेपछि हामीले गर्ने महत्वपूर्ण कार्यबारे प्रतिबद्धताहरु जाहेर गर्दछौँ ।

तपाईहरुले अगाडी सारेका प्रतिबद्धताहरु आदी देखि अन्त्य सम्म के के हुन् ?

हाम्रा प्रतिबद्धताहरुहरु हामीले सार्वजनिक गरेर मतदाता सम्म पुगेका छौँ । जुन बुँदागत रुपमा यसप्रकार छन् । उद्योगी व्यवसायीहरुको हकहित तथा व्यापार व्यवसायको प्रबद्र्धनमा सक्रियताका साथ काम गर्ने । आधुनिक समयमा ‘डिजिटल मार्केटिङ’ को वातावरण तयार पार्न जुट्ने । उद्योग वाणिज्य संघको कार्यालयलाई आधुनिकीकरण गर्दै त्यहाँका कागजी तथ्यांकहरुलाई ‘डिजिटल’ बनाउने । पैयूँ र जलजला गाउँपालिकामा स्थापना भएका उद्योग वाणिज्य संघ पर्वतका उपशाखालाई थप व्यवस्थित बनाउने र बाँकी रहेका पाँच स्थानीय तहमा उप शाखा खोल्न पहल गर्ने । पर्वतका सातवटै स्थानीय तहमा रहेका पर्यटकीय गन्तव्यहरुको विकास गरी तिनीहरुको प्रबद्र्धनका लागि विभिन्न निकायसँग पहल र समन्वय गर्ने । साना उद्यमी तथा व्यवसायीहरुलाई मसिन, औजार, तालिम लगायतमा यथेष्ट सहयोग गर्ने । प्यान, भ्याट, टयाक्स लगायतबारे सम्बन्धित ठाउँमै पुगेर तालिमहरु सञ्चालन गर्ने । व्यवसायी र सरकारी निकायबीचको सम्बन्धलाई समानुपातिक रुपमा सुमधुर बनाई व्यवसायीलाई हौसला प्रदान गर्ने । पर्वतलाई पर्यटकीय गन्तव्यका रुपमा विश्वसामु जोड्न, पर्यटकहरुलाई कुस्मामै बास बस्ने बनाउन, पर्यटन व्यवसायमा लगानी बढाउन व्यवसायीहरुलाई उत्प्रेरित गर्ने मेरो प्रतिबद्धता छ । 

पर्वतको पर्यटकीय आनन्दलाई प्याकेजमा उपलब्ध गराउन सञ्चालक वा सम्बन्धित निकायसँग समन्वय गर्ने । बजार तथा पर्यटकीय क्षेत्रमा आवश्यक सरसफाइ तथा बजारभित्र विकास निर्माणका कार्यहरुमा ठेकेदारले ढिलाई गरेकोमा छिटो छरितो रुपले सम्पन्न पार्नका लागि स्थानीय निकायसँग विशेष पहल गर्ने । खेल मैदानको व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग आवश्यक सहकार्य र पहल गर्ने । आधुनिक प्रविधिमा आधारित व्यवस्थित बसपार्क निर्माणमा समन्वय गर्ने । कल्लेरी–बलेवा मोटरेबल पुल निर्माण गर्न पहल गर्ने । लप्सी, सुन्तला, कफी, अदुवा लगायत पर्वतका लोकप्रिय वस्तुको प्रशोधन गरी फरक फरक परिकार बनाउन उद्योग स्थापना गर्ने र उद्योगबाट उत्पादित वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने हाम्रो लक्ष्य रहेको छ । 

पर्वत उद्योग वाणिज्य संघमा व्यवसायीहरुको विवरण राख्ने तथा नवीकरण गर्ने कार्यलाई थप व्यवस्थित गरिनेछ । पर्वत उद्योग वाणिज्य संघले प्रत्येक वर्षमा प्रकाशन गर्ने स्मारिका हरेक वर्षमा प्रकाशन गरिनेछ । उक्त स्मारिकामा सम्पुर्ण व्यवसायीहरुको सम्पर्क नम्बर सहितको नामावली प्रकाशन गरिनेछ । त्यसैले गर्दा व्यवसायीलाई जिल्लाव्यापी व्यवसाय प्रर्वद्धनका लागि सहज वातावरण बनाइनेछ । महामारीको कारणवश यदि महिनौसम्म उद्योग व्यापार, व्यवसाय चल्न नसक्ने स्थिती सिर्जना भएमा घरधनीहरुसँग समन्वय गरी घर भाडामा सहुलियत प्रदान गर्न थप पहल गरिनेछ । उद्योगी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्दा बैंक तथा वित्तिय संस्थाबाट लिने कर्जामा सहुलियत प्रदान गर्न वाणिज्य संघको तर्फबाट विशेष पहल गरिनेछ ।

अन्तर्राष्ट्रिय पर्वत समाज तथा गैह्र आवासीय नेपाली संघसँग समन्वय गरी जिल्लामा लगानीको वातावरण भित्राउन विशेष पहल गरिनेछ । जिल्लामा रहेका पालिकाहरुमा उपशाखाहरुको गठन प्रक्रिया तत्काल अगाडि बढाइनेछ । पर्वत उद्योग वाणिज्य संघका अधिकारहरुलाई विकेन्द्रिकरण गरेर उपशाखालाई थप शक्तिशालि बनाइनेछ । आगामी अबिधेसनबाट नेतृत्व चयनका लागि प्रत्येक उपशाखामा नै मतदान गर्ने व्यवस्था गरिने छ । प्रत्येक पालिकाहरुमा कर तिर्ने प्रणालीलाई व्यवस्थित गरिनेछ । कुश्मा बजारका अनि व्यस्त ठाउँहरुमा व्यवस्थित शौचालयको स्थापनाका लागि स्थानिय निकायसँग पहल गरिनेछ ।

महिला उद्यमी तथा युवा उद्यमीहरुका समस्याहरु समाधानका लागि पर्वत उद्योग वाणिज्य संघमा छुट्टै डेस्कको स्थापना गरिनेछ । पर्वत उद्योग वाणिज्य संघमा सुझाव पेटिकाको स्थापना गरी प्रत्येक महिनाको १गतेदेखि ७ गतेसम्म सुझाव संकलन गरिनेछ र महिनाभर ती समस्याहरुको समाधान गर्न पहल गरिनेछ ।  व्यवसायीहरुबाट प्राप्त आम्दानीको रकमलाई फजुल खर्च घटाई उद्यमी केन्द्रित रही उत्पादनमूलक क्षेत्रमा खर्च गरिने छ । पर्वत उद्योग वाणिज्य संघमा रहेको विद्यमान कोषलाई अभिबृद्धि गरि ५ करोड र प्रत्येक उपशाखालाई २०÷२० लाखको कोष बनाइने छ र त्यसबाट प्राप्त ब्याजको रकमबाट व्यवसायीको हकहित तथा न्यून स्तरको व्यवसायीहरुको आयआर्जनमा सहयोग गरिने छ । बैंक तथा वित्तिय संस्थाहरुमा भएका केन्द्रिकृत खरीद प्रणालीलाई व्यवस्थित गरी जिल्लामा नै खरीद गर्ने वातावरण मिलाउन पहल गरिने छ ।

पर्वत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीहरुको रु. १० लाखको निशुल्क दुर्घट्ना बिमा गरिने छ ।– सरकारी तथा गैह्र सरकारी कार्यालयहरुका सामग्रीहरु खरीद गर्नका लागि स्थानीय स्तरमा पहल गरिने छ । पर्वत उद्योग वाणिज्य संघका छुट्टै मोबाईल एप संचालन गरि उक्त मोबाईल एपबाट नवीकरण गर्न सकिने व्यवस्था गराइने छ । व्यवसायीहरुको कर सम्बन्धि समस्या समाधान गर्नका लागि कर सहयोगी कर्मचारीको व्यवस्था गरिने छ । विभिन्न कम्पनीहरुको आधिकारिक बिक्रेताको लागि पहल गरी आप्mनै जिल्लामा पहल गरी व्यवसायीहरुलाई प्रोत्सहान गरिने छ ।

तपाईका एजेण्डाहरु पुरा हुने खालका छैनन भनेर अर्को पक्षले खण्डन गर्दै आएको छ नि ?

उहाँहरुले के के भन्दै हिँड्नुभएको छ त्यता तिर म जान चाहन्न । म आफ्ना प्रतिबद्धतामा अडिग छु । विरोध गर्ने केहि नपाएपछि अरुका एजेण्डाहरुको खण्डन गर्ने कुरालाई व्यावसायिले पक्कै बुझ्नुहुन्छ । उहाँहरुले आफुले लामो समयसम्म नेतृत्व गर्दा के के काम गर्नुभयो भनेर व्यावसायिल जवाफ दिन सक्नुपर्छ । हामीले व्यावसायिकको मन जित्ने काम गर्दा उहाँहरु खुशी हुनुपर्नेमा हतास हुनु भनेको पराजित मानसिकता हुनसक्छ । म ढृढ संकल्प सहित व्यावसायि लाई कुनै भ्रममा नपर्न र यसपाली मतदान गर्नुभन्दा पहिले उद्योग वाणिज्य संघमा मतदान गरेर के पायौँ भनेर सोच्न अनुरोध गर्दछु । 

तपाईको व्याक्तिगत विवरण पनि मतदाता लाई जानकारी दिन मिल्छ  ?

पक्कै पनि मतदाताले व्याक्ति चिनेर मतदान गर्नुपर्छ भन्ने मेरो मान्यता हो । मेरो व्याक्तिगत विवरणको कुरा गर्दा म २०४५ सालमा पिएन क्याम्पस पोखरामा नेविसंघको धौलागिरी समन्वय समितिका संयोजक रहेर काम गरेको हुँ । २०४८ मा जनस्वास्थ्य कार्यालय बागलुङको परिवार नियोजन सहायकको रुपमा काम गरेँ । २०५२ मा सदरमुकाम कुश्मा बजारमा शीतल डेरी स्थापना गरेर व्यवसाय सुरु गरेर अहिले सम्म निरन्तर रुपमा सञ्चालन गर्दै आएको छु । २०५२ मा उद्योग वाणिज्य संघ पर्वतमा सदस्यता ग्रहण गरेको हुँ । २०५५ मा पर्वत डेरी एसोसियसनका संस्थापक अध्यक्ष बने । २०६० मा उद्योग वाणिज्य संघ पर्वतमा कार्य समिति सदस्य भई काम गरेको अनुभव छ । २०६० मा कुश्मा–ज्ञादी जोड्ने नेपालकै अग्लो र लामो झोलुंगे पुल निर्माण समितिका अध्यक्ष, हाल संरक्षण समितिका अध्यक्ष भएर काम सम्पन्न गरेँ । २०६८ मा पर्वत पर्यटन प्रबद्र्धन केन्द्रका संस्थापक अध्यक्ष, २०६९ मा नेपाल घरेलु तथा साना उद्योग महासंघ पर्वतको अध्यक्ष भएँ । २०६९ मा नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य, २०६९ मा रोटरी क्लब अफ पर्वतको अध्यक्ष, २०७१ मा पर्वत उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्ष भएँ भने २०७५ मा उद्योग वाणिज्य संघ पर्वतको कार्य समिति सदस्य पदमा रहेको थिएँ भने अहिले कुश्मा नगरपालिका पर्यटन समिति सदस्यको रुपमा काम गरेका छु । म निरन्तर रुपमा आफ्नो जिम्मेवारीमा छु र कुशलतापूर्व जिम्मेवारी पुरा गरेको छु । 

अन्तमा के भन्न चाहानुहुन्छ ?

अन्तमा पर्वत जिल्लाभरि रहेका सबै व्यावसायी साथीहरुलाई यस पटक म र मेरो समूहलाई विजेता बनाईदिनुहोस भन्न चाहान्छु । हामीले स्पष्ट कार्ययोजना सहित उद्योग वाणिज्य संघलाई साच्चिकै उद्योगी व्यावसायीको संस्था बनाउन चाहान्छौँ । सहमती, सहकार्य, सहअस्तित्व, विधि, अनुसासन, पारदर्शितामा हामीले नमूना काम गर्नेछौँ । हजुरहरुका हरेक सुखदुखमा हामी सारथी बनेर काम गर्नेछौँ । स्वदेश बिदेशमा रहनुभएका साथीहरुलाई आफ्नो घरमा फोन गरेर यसपाली शिव शर्मा पौडेल र उनको प्यानललाई जिताउन अनुरोध गरिदिनुहोला भन्न चाहान्छु । मेरो नेतृत्वले बाचा गरेका काम गर्न सकेन भने अर्कोपटक यहाँहरुले फेरि मुल्यांकन गर्ने बेला आईहाल्छ । हामीले झुठका पुलिन्दा बाँडेर हैन व्यावसायीको मन जितेर चुनाव जित्ने बाचा गर्दछौँ । 



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( अन्तर्वार्ता)