Correspondent, ParbatNepal
5 years ago
1991
फागुन २७, पर्वत । पर्वतको पैयुँ गाउँपालिका ७ का ६२ घरमा खानेपानीको सुविधा विस्तार भएको छ । खानेपानीको समस्या भोग्दै आएका भोर्ले गाउँका २४ घर र काभ्रेमा ३८ घरमा खानेपानीको सुविधा बिस्तार भएको हो । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीय बासिन्दालाई प्रवासी नेपालीहरुको पहलमा खानेपानीको सुविधा बिस्तार भएको हो ।
युके एड अन्तर्गत गोर्खा वेयरफेयर ट्रष्टको ६१ लाख ६७ हजार लागतमा खानेपानीको सुविधा बिस्तार भएको वडाध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिनुभयो । काभ्राभन्ज्याङ खानेपानी आयोजनाले पूर्णता पाए संगै खानेपानीको समस्या समाधान भएको गुरुङले बताउनुभयो । मुल बाट गाउँसम्म ४६ सय मिटर लामो पाईप विस्तार गरि खानेपानीको सुविधा विस्तार भएको हो । खानेपानीको सुविधा नहुँदा भोर्लेमा वसाईसराई बढ्दै गैरहेको छ ।
सरसफाईका अभियानमा पनि खानेपानी नै बाधक थियो । अहिले खानेपानीको सुविधा बिस्तार भएपछि घरकै आँगनमा पानी थाप्न पाएको स्थानीय शारदा बसेलले बताउनुभयो । वर्खामा कुवा र खोलाको पानी प्रयोग गर्ने स्थानीय वर्षका ६ महिना गाग्रीमा ओसारेर गर्जो टार्दै आएका थिए । यद्यपी अझै पनि बसेलडाँडा, क्षेत्रीडाँडा, डाँडाकाउँ, सल्ले, कार्किथुम्कामा अहिले पनि खानेपानीको समस्या छ ।
खानेपानीको समस्या भएका गाउँमा नेपाल सरकारबाट क्रमागत योजनाको रुपमा नयाँ खानेपानी आयोजनाको काम शुरु भएको वडाध्यक्ष गुरुङले बताउनुभयो । काभ्राभन्ज्याङ खानेपानी आयोजनाले लाभान्वित नभएका वासिन्दालाई नयाँ आयोजनाले समेट्ने उहाँले बताउनुभयो ।
