Correspondent, ParbatNepal
5 years ago
1858
मंसिर २४ पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले बाँदर नियन्त्रण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ । किसानहरुले बाँदरका कारण बालीनाली जोगाउन समस्या भएको व्यापक गुनासो गरेपछि गाउँपालिकाले बाँदर नियन्त्रण गर्ने जनाएको हो ।
किसानहरुको आग्रह अनुसार सबै वडामा बाँदर नियन्त्रणको योजना बनाईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको मंसिर १९ र २० गते बसेको बैठकको निर्णय नम्बर १८ मा बाँदर नियन्त्रणको योजना पारित भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बाँदरको बासस्थान बिथोलेर बाँदर आतंक कम गर्ने योजना रहेको बताउनुभयो ।
किसानहरुको खेतवारीमा हुर्किएका बाँसका झाङ र अनावश्यक रुखहरु काटेर खाली बनाएपछि बाँदर खेतमा पस्न नसक्ने आँकलन गरेर रुखबुट्यान हटाउने जनाईएको छ । गाउँपालिकाले रुख कटान गर्ने निर्णय अनुसार सबै वडाका किसानलाई आरा किनेर दिने भएको छ । बाँदर नियन्त्रण कार्यक्रम सञ्चालन गर्न गाउँसभाले १४ लाख रुपैयाँ बजेट बिनियोजन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।
पैयुँ गाउँपालिकामा उर्वर भूमी भएपनि बाँदरकै कारण किसानहरुले बाली लगाउन छोड्दै गएका छन् । कतिपय बाँदरकै कारण बसाईसराई गरिसकेका छन् । किसानहरुलाई राहात दिनका लागि गाउँसभाले बाँदर नियन्त्रणको कार्यक्रमलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले बताउनुभयो । उहाँले यो कार्यक्रम सफल भएमा आगामी वर्ष थप प्रभावकारी रुपमा सञ्चालन गर्ने र प्रभावकारी नभएमा अर्को विधि अपनाईने बताउनुभयो ।
