Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 months ago

318




पर्वतको मोदीमा दुई वटा पुलको अध्यक्ष तिमिल्सीनाद्धारा उद्घाटन
पर्वतको मोदीमा दुई वटा पुलको अध्यक्ष तिमिल्सीनाद्धारा उद्घाटन

मंसिर २५, पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतका दुई वटा पुलको बिहीवार एकैदिन उद्घाटन गर्नुभएको छ । पर्वतको मोदी गाउँपालिकाका दुईवटा खोलामा निर्माण भएका दुईवटा पुलको छुट्टाछुट्टै कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । मोदी गाउँपालिकाको वडा नं. ३ देउराली स्थित घुरुङशेरामा रहेको ठाडोखोलामा निर्मित स्टिल ट्रस्ट पुल र वडा नं. ३ देउराली र वडा नं. ४ क्याङ् जोड्ने टिमुरेघाट झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो ।

स्टिल ट्रस्ट ब्रिज रु २५ लाख २७ हजार रुपैयाको लागतममा निर्माण सम्पन्न भएको हो । यसको लम्वाई ३२ मिटर लामो रहेको छ । गत असारमै निर्माण सम्पन्न भएपनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण उद्घाटनमा ढिलाई भएको हो ।


त्यसैगरी टिमुरेघाटमा बनेको झोलुङ्गे पुल रु.३३ लाख ९४ हजार ५ सय ५२ रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । यो ६४ मिटर लामो रहेको छ ।
पुल उद्घाटन पछि बोल्दै अध्यक्ष तिमिल्सिनाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभीड-१९ ले मुलुकको विकास निर्माणमा ठुलो असर पारेको बताउँदै अब कोभीड-१९ सँग सचेतना अपनाउँदै रोकिएका सवै कामहरुलाई सुचारु गर्नुपर्ने बेला आएको बताउनुभयो । कोरोनाको संक्रमण कहिले सकिन्छ भन्ने अनिश्चित भएकाले पनि अब आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकासका काम गर्नुपर्नेमा तिमिल्सिनाले जोड दिनुभएको छ । उहाँले जनप्रतिनिधिहरु संकटको बेला नागरिकहरुको रक्षाका लागि खटिन समेत आग्रह गर्नुभएको छ ।
उहाँले विकास निर्माणमा सवै पक्षको सहभागिता आवश्यक रहेको बताउँदै जनसहभागितामा भएका विकासका कामहरुनै दिगो र प्रभावकारी हुने बताउनुभयो । उहाँले विकास निर्माणका काममा राजनीति गर्नु आवश्यक नभएको बताउनुभएको छ । अहिले तीन तहका सरकारहरुले भौतिक पूर्वाधारलाई जोड दिईरहेको बताउँदै अबको तीन वर्ष भित्रमा मुलुकको विकासले फड्को मार्ने बताउनुभएको छ ।
तिमिल्सिनाले नागरिकहरुको सहजताका लागि बनेका यस्ता पुलहरुले दैनिकिलाई सहज बनाउने बताउँदै अब गाउँमै आयआर्जनको वाटोमा लाग्न आग्रह गर्नुभयो । उहाँले निर्वाहमुखि खेती प्रणालीले आर्थिक विकास हुन नसक्ने बताउँदै व्यावसायी हुन आग्रह गर्दैै व्यावसाय गर्नेका लागि तीनै तहका सरकारले प्रोत्साहनमुलक कार्यक्रम गर्दै आएको बताउनुभयो ।


कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले झोलुङ्गे पुल र स्टिल ट्रष्टले स्थानीयहरुलाई खोला वारपार गर्न सहज मात्र नभई पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको मोदीका विभिन्न गन्तव्यमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज हुने बताउनुभयो । उहाँले टिमुरेघाटमा बनेको पुल प्रत्यक्ष रुपमा पदमार्गसँग जोडिएकाले यहाँबाट भमरकोट, माटेको लेक, जलजला, मोहोरेडाँडा हुँदै पुनहिल जानका लागि समेत सहज हुने बताउनुभयो । विकास निर्माणमा नागरिकको सक्रियाता बढेमात्रै मुलुकको विकास छिटो हुने उहाँको भनाई रहेको छ ।
पुल उद्घाटन कार्यक्रमको स्वागत मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत र कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत किसानबहादुर क्षेत्रीले गर्नुभएको थियो ।
स्टिल ट्रस्टको आयव्ययका बारेमा उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र खड्का र झोलुङ्गे पुलको अध्यक्ष टेकबहादुर पुनले जानकारी दिनुभएको थियो । सो अवसरमा घुरुङ्गाका मगर समुदायद्धारा विभिन्न झाँकी तथा परम्परागत नाँचगान प्रस्तुत गरेका थिए भने जग्गादातालाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार (मोदी गाउँपालिका )