Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

3 years ago

1057




विपी स्मृति भवन लाई जलजला गाउँपालिकाद्धारा १८ लाख सहयोग
विपी स्मृति भवन लाई जलजला गाउँपालिकाद्धारा १८ लाख सहयोग

मंसिर १८ पर्वत । पर्वतमा नेपाली काँग्रेसले निर्माण गर्न थालेको विपी स्मृति भवन निर्माणका लागि जलजला गाउँपालिकाले १८ लाख भन्दा बढि रकम सहयोग गरेको छ । गाउँपालिकाको तर्फबाट भवन निर्माणका लागि प्राप्त सहयोग अध्यक्ष यामबहादुर मल्लले हस्तान्तरण गर्नुभएको छ । कुश्मा नगरपालिका ४ मा निर्माण हुने भवनमा पार्टी कार्यालय सहित भातृ तथा शुभेच्छुक संस्थाका सम्पर्क कार्यालय समेत रहने जनाईएको छ । 

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले विपी स्मृति भवन निर्माण समितिका संयोजक एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीलाई गाउँपालिकाले बिनियोजन गरेको बीस लाख रुपैयाँ मध्ये कन्टनेजेन्सी र आयकर कटौती गरि रु १८ लाख ८८ हजार २७६ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ । पर्वतका सबै स्थानीय तहमध्ये जलजलाले धेरै सहयोग उपलब्ध गराएको हो । व्याक्तिगत रुपमा भवन निर्माण समितिका आर्थिक संयोजक गंगाधर तिवारीले १० लाख रुपैयाँ सहयोग गर्नुभएको थियो । 

नेपाली काँग्रेस पर्वतले दिएको जानकारी अनुसार जलजला गाउँपालिकाका अध्यक्ष मल्लले व्याक्तिगत रुपमा पनि भवन निर्माणमा ५ लाख रुपैयाँ सहयोग गरिसक्नुभएको छ । विपी स्मृति भवन नेपाली काँग्रेसको पार्टी भवन मात्रै नभई सबै पार्टी र जनताको साझा सम्पत्ती रहेको भन्दै गाउँपालिकाले सबैभन्दा बढि सहयोग गरेको मल्लले बताउनुभयो । विपी स्मृति भवन निर्माण समितिका संयोजक एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले भवन निर्माणको काम अन्तिम चरणमा रहेको बताउनुभयो । भवन निर्माण शुरु गरेदेखि नै पार्टीका कार्यकर्ताले मात्रै नभई अन्य पार्टीमा आस्थावान व्याक्तिहरुले पनि उल्लेख्य सहयोग गरेको जानकारी गराउनुभयो । 

विपी कोईराला, गणेशमान सिँह, शुसिल कोईराला, गिरीजाप्रसाद कोईराला, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी, मनमोहन अधिकारी, पुष्पलाल जस्ता नेता देशका निधी रहेको बताउँदै जोशीले उहाँहरुको स्मृतिमा बन्ने भवनका लागि सबैले आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो । विपी स्मृति भवन निर्माणका लागि पर्वतमा रहेका विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालय, विभिन्न संघसंस्था, विद्यालय, प्रतिष्ठान, व्याक्ति तथा समूहबाट सहयोग प्राप्त हुने क्रम जारी नै छ । 


सम्बन्धित समाचार (जलजला गाउँपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)