समृद्ध विहादीका आधारहरु
विशन क्षेत्री (bnews952@gmail.com)     4 months ago
समृद्ध विहादीका आधारहरु
पत्रकारितामा क्रियाशील रहेका लेखक विहादी गाउँपालिका ३ निवासी हुन् ।

पर्वत दक्षिणी भेगको रमणीय र पर्यटकीय स्थल, प्रमुख दलका नेताको उद्गमस्थल, राजनीतिक परिवर्तन र थरिथरिको समाज अनि एकता, फरक भूगोल, धार्मिक विविधता । विहादी गाउँपालिकाको अपरिभाष्य विशेषता हो यो । बाच्छादेखि उरामपोखरासम्म, सेतीवेणीदेखि शीतल गुफा, बच्छेश्वर मन्दिर र शिवपुरी धामसम्म । गाउँपालिका एक तर भूगोल, संस्कृृति अनि पर्यटनले समग्र नेपालको अनुभूति दिलाउने ठाउँ हो, विहादी गाउँपालिका ।

पर्वतको सबैभन्दा होचो ठाउँ सेतीवेणी सदरमुकाम कुश्मादेखि नजिकैको दुरीमा रहेको छ । उत्तरमा फलेवास गाउँपालिका र बाग्लुङ, पूर्वमा महाशिला र पैयुँ, दक्षिणमा गुल्मी र स्याङ्जा अनि पश्चिममा महाशिला तथा फलेवास गाउँपालिकाको बीचमा अवस्थित रहेको विहादी गाउँपालिका ४४.८० वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

स्थानीय तह पुनर्संरचना आयोगले साविकका बाच्छा, बर्राचौर, रानीपानी, बहाकी, उराम र शालिग्राम गाविसलाई विहादी गाउँपालिका बनाएको थियो । हालैमात्र गाउँपालिका घोषणा भएको यो क्षेत्रमा भौतिक विकास र समृद्धिका धेरै सम्भावना रहेको छ । स्थानीयस्तरमा उपलब्ध स्रोत र साधनहरूको सदुपयोग गर्नसके गाउँपालिका समृद्ध हुनेमा कुनै शंका छैन । अब गाउँपालिकाको विकासको रथ गुडाउने जिम्मेवारी जनप्रतिनिधिको काँधमा आएको छ ।

गाउँका जनप्रतिनिधिले अब निर्माण गर्ने योजना र सञ्चालन गर्ने कार्यक्रमले विकास र समृद्धिको आधार तय गर्नेछ । यसका लागि यहाँका जनप्रतिनिधिले गाउँमा रहेका स्थानीय स्रोत र साधनको परिचालनमा पहिलो ध्यान दिन जरुरी छ । अर्कोतर्फ हरेक वडामा सडक विस्तार र कालोपत्रे गर्ने कामलाई दोस्रो प्राथमिकता दिन सक्नुपर्छ । यस्तै विहादीको प्रमुख समस्या भनेको सिंचाइ हो ।

बर्राचौरको विशाल फाँट र रानीपानीको ठूलो खेतीयोग्य क्षेत्र सबैभन्दा बढी सिंचाइको समस्या भएको क्षेत्र हो । दक्षिणमा बगिरहेको कालीगण्डकी नदीको पानीलाई लिफ्ट प्रणालीबाट तानेर वितरण गर्न सके गाउँपालिका खाद्यान्नमा पनि निर्भर बन्न सक्छ विहादी । सिंचाइको व्यवस्थापन पश्चात कृषिमा आधुनिकीकरण गर्न सक्ने सम्भावना बोकेको छ ।

कालीगण्डकी नदीबाट सिंचाइ

गाउँपालिकाको वडा नं. १ बाच्छादेखि वडा नं. ६ शालिग्रामको दक्षिणमा कालीगण्डकी बगेको छ । कालीगण्डकी नदीको माथि नै समथर फाँटहरु सिंचाइको चपेटामा परेको छ । हजारौं हेक्टर खेतीयोग्य जमिन अहिले पनि सिंचाइ अभावका कारण समयमा नै खेती गर्न सकिएको छैन । नदी आसपासको खेतीयोग्य जमिनलाई बृहत परियोजना निर्माणगरी सिंचाइ गर्न सकिन्छ । जिल्ला कृषि विकास कार्यालय, सिंचाइ विभाग, सिंचाइ कार्यालयको सहयोगमा जनप्रतिनिधिले स्थलगत अध्ययन पश्चात नदीको पानीलाई सिंचाइमा प्रयोग गर्न सकिन्छ । नदीभन्दा माथि प्रत्येक वडामा हजारौं हेक्टर जमिन रहेको छ । जमिनमा सिंचाइ पुग्न सके प्रत्येक वडालाई खाद्यान्न अभाव हुनबाट जोगाउन सकिन्छ ।

कालीगण्डकीबाट विद्युत उत्पादन

विहादी गाउँपालिकाको दक्षिणमा कालीगण्डकी नदीबाटै मुलुककै ठूलो कालीगण्डकी ‘ए’ विद्युत परियोजना सञ्चालन भइरहेको छ । विहादीबाटै बगेको पानीले अर्को जिल्लामा विद्युत उत्पादन भइरहेको छ भने विहादी त्यही विद्युत किन्न बाध्य बनेको छ । गाउँपालिकाको समृद्धिको लागि अर्को विद्युत परियोजना सञ्चालनमा ल्याउनु ठूलो अनि महत्वकांक्षी परियोजना हो ।

कालीगण्डकी ‘ए’ परियोजनाले अर्को जिल्ला धनी बनिरहँदा गाउँपालिकाबाट बगेको नदीबाट विद्युत उत्पादन तर्फ सोच्नु जरुरी छ । गाउँपालिकाको प्रतिनिधित्व गर्ने जनप्रतिनिधि र राजनीतिक दलहरुले विद्युत उत्पादनको लागि आवश्यक पहल चाल्न जरुरी छ ।

सडक पूर्वाधारको विकास

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गले विहादी गाउँपालिकाका ५ वडालाई छोएको छ । भारतलाई चीनसम्म जोड्ने यो लोकमार्ग विहादीको विकासको मेरुदण्ड बन्न सक्छ । यातायात सहजताको अलवा सडक विकास सँगसँगै विभिन्न उद्योगहरु स्थापना गर्न सकिन्छ । औद्योगिक सहर बुटवलसँग सिधासम्पर्क पश्चात गाउँपालिकामा उत्पादिन वस्तुको निकासीमा सहजता पुग्छ भने गाउँपालिकामा नै प्राकृतिक स्रोत र साधनको उपलब्धता हेरेर उद्योग सञ्चालन गर्न सकिने सम्भावना रहेको छ ।

गाउँपालिकाको बर्राचौर र बाच्छामा रहेको विशाल ढुंगाखानी क्षेत्र, कालीगण्डकीमा रहेको बालुवालाई प्रशोधन तथा अन्य निर्माणसामग्री उत्पादनको लागि बाच्छाको समथर पातीचौर क्षेत्रलाई उद्योग क्षेत्र बनाउन सकिन्छ । लोकमार्गले सदरमुकामसम्म प्रत्यक्ष जोडेको यस क्षेत्रको मर्मत र दीर्घकालिन विकासमा ध्यानदिनु जरुरी छ । त्यस्तै गाउँपालिकालाई जोड्ने अर्को वालिङ–हुवास सडक राम्रै अवस्थामा भएतापनि यसलाई तत्काल कालोपत्रे गर्न जरुरी छ । प्रदेश नं. ४ को सदरमुकाम पोखरा जोड्ने यो सडकको कालोपत्रे भएमा बुटवल र पोखरा २ उपमहानगरको सिधा यात्रा गर्न सकिन्छ ।

कृषिमा लगानी र बजारीकरण

अहिले गाउँपालिका निर्वाहमुखी कृषि परम्परामा चलिरहेको छ । धान उत्पादनका पकेट क्षेत्र बर्राचौर र रानीपानीमा उत्पादन बृद्धिकालागि स्थानीय सरकारले किसानलाई अनुदान र सिंचाइको व्यवस्था गर्न आवश्यक छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुले बजार पाउन नसकेको अवस्था छ । यस्तै भण्डारणको समस्याका कारण तरकारीजन्य उत्पादन कुहिने गरेको छ । यसकालागि स्थानीय सरकारले नै बजारीकरणको योजना बनाए किसान लाभान्वित हुनेछन् ।

पर्यटनको सम्भावना

यो गाउँपालिकाको मुख्य आयस्रोत पर्यटनलाई लिन सकिन्छ । नदी किनारमा रहेको विश्वकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल सेतीवेणीलाई प्रवद्र्धन गरे हजारांै पर्यटक भित्र्याउन सकिन्छ । बर्राचौरमा रहेको हजारौँ वर्ष पुरानो शीतलगुफा पैयुँ, विहादी र महाशिलाको सिमानामा रहेको शिवपुरीधाम, गाउँपालिकाको सबैभन्दा उचाइमा रहेको बच्छेश्वर मन्दिर, गोल्र्याङधामलाई प्याकेज पर्यटनमार्फत प्रवद्र्धनगरी गाउँपालिकाको आम्दानी बढाउन सकिन्छ । गाउँसभाले पर्यटनतर्फ विशेष बजेट व्यवस्थापन गरी ती ठाउँमा पुग्ने पूर्वाधारको विकास, होमस्टे स्थापना गर्न आवश्यक छ । त्यस्तै शालिग्राममा सञ्चालित मगर होमस्टेको प्रवद्र्धन गर्न पनि जरुरी छ । यसका लागि गाउँपालिकाले योजना बनाउन आवश्यक छ । अर्कोतर्फ सडक, बिजुली र मेहलकुना अस्पतालको सेवा बिस्तारमापनि ध्यान दिनुपर्छ ।