Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

5 years ago

2254




पर्वतको कुश्मामा जिप लाईन सञ्चालन हुँदै, पर्वतलाई पर्यटकीय हब बनाउँछु : जोशी
पर्वतको कुश्मामा जिप लाईन सञ्चालन हुँदै, पर्वतलाई पर्यटकीय हब बनाउँछु : जोशी


रोशन तिवारी मंसिर २६ पर्वत ।  पर्वतको कुश्मामा पर्यटक आकर्षित गर्ने हेतुले जिप लाईन निर्माण गरिने भएको छ । कुश्मा नगरपालिका ५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउनेबगर सम्म १४ सय मिटरको दुरीमा जिप लाइन बनाउन थालिएको हो । साहसिक पर्यटनको लागि जिल्लाका यूवाहरुले झण्डै ११ करोड लगानी गरेर जिप लाइन निर्माणको थालनी गरेको जनाएका छन् । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले उक्त परियोजनाको आज एक कार्यक्रमका बिच शिलन्यास गर्नुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वत साहसिक पर्यटनको हव बन्न थालेको बताउनुभयो । साहसिक पर्यटनमा भएको लगानी खेर नजाने बताउँदै जोशीले पर्यटन प्रबर्दनबाटै जिल्लाको समृद्धि संभव रहेको धारणा राख्नुभयो । उहाँले पर्वत पोखरा पछिको पर्यटकीय गन्तव्य बन्ने योजनामा रहेको बताउनुभयो । कुश्मा नगरपालिकाले पर्यटन पूर्वाधारमा लगानी गरेर जिल्लाको समृद्धिको यात्रा तिव्र गतिमा अगाडी बढाउन चाहेको पनि नगरप्रमुख जोशीले बताउनुभयो । पर्वत जिल्ला अहिले देशभर पर्यटन पूर्वाधारले चर्चित बनेको र यसले रोजगारी सृजना गर्न पनि उत्तिकै भूमिका खेलेकोमा खुशी व्यक्र गर्नुभयो । जिप लाइन निर्माणमा नगरप्रमुख जोशी सहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गरेका हुन् ।

चार महिनामा सबै संरचना निर्माण गरिसक्ने निर्माणको जिम्मा लिएको श्याम जिपलाईन कम्पनीले जनाएको छ । कम्पनीका ईन्जिनियर नविन म्यासीले यो जिप लाईन सुपर म्यान शैलीमा निर्माण हुन थालेको बताउनुभयो । म्यासीका अनुसार क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ । 

क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रा.लि.को भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको निर्माण कम्पनीले जनाएको छ । इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । साउनेबगरमा रिसोर्ट पनि सञ्चालन गर्ने योजना रहेको छ । 


सम्बन्धित समाचार (कुश्मा नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)