Correspondent, ParbatNepal
6 years ago
2153
मौसम परिवर्तन हुने बेलामा धेरै व्यक्ति बिरामी परेको हामी देख्छौं । गर्मी मौसमबाट जाडोयाम आइपुग्नुअगाडि, वर्षाकालको आसपास र जाडोबाट गर्मी लाग्ने बेलामा प्रायः नयाँ (एक्युट) रोगहरू बढ्ने, भाइरस, ब्याक्टेरिया, एक एवं बहुकोषीय कृमिहरू (अमिबा, जियार्डिया, जुका, चुर्ना आदि) को संक्रमण वृद्धि हुने र पहिल्यै भैरहेका पुराना रोगहरूले च्याप्ने हुन्छ । यस्ता मौसमी समस्याहरूले कतिपय अवस्थामा एकजनामा मात्र सीमित नभै एउटै परिवारका धेरैलाई एकैपटक थला पार्ने हुन्छ । कहिलेकाहीँ त एक परिवारमा मात्र सीमित नभई महामारीको रुपमा कैयौं परिवारमा रोग फैलिन्छ । रोगहरू पनि एउटा मात्र नभएर विभिन्नि किसिमका हुन सक्छन् ।जीवनशैलीका केही नियमहरू पालना गर्ने र उपचार विधिहरू पनि अपनाउने गर्दा त्यस्ता रोगहरूलाई बेलैमा नियन्त्रण गर्न सकिन्छ । यसो गर्दा रोग जटिल अवस्थामा पुग्न पाउँदैन र महामारीको रुपमा फैलन सक्ने सम्भावनालाई पनि घटाउँछ ।
मौसम परिवर्तन हुँदा लाग्ने रोगहरु M
– सिजनल फ्लु
– टाइफाइड
– रुघा, खोकी
– दम
– झाडा पखाला
– छाला सम्बन्धि रोगहरु
– श्वासप्रश्वास प्रक्रियामा समस्या आदि ।
मौसम परिवर्तन हुँदा रोग लाग्ने कारणहरुः
– सामान्यतया हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता इम्युनिटी पावर हुन्छ । जसले हाम्रो शरीरलाई रोगसँग लड्न मद्दत गरी शरीरलाई रोगहरुबाट बचाइरहन्छ । तर, मौसममा हुने फेरबदलसँगै हाम्रो शरीरको पनि सामान्य प्रक्रियामा बदलाब हुन आउँछ । त्यस्तो अवस्थामा हाम्रो शरीरमा केहि किटाणुहरु सक्रिय हुन्छन् । साथै शरीरको इम्युनिटी पावरमा तलमाथि हुन्छ जसले गर्दा हामीलाई मौसम परिवर्तन हुदाँ विभिन्न रोगहरु लाग्ने गर्दछ ।
– विशेष गरेर मौसम परिवर्तन मानिसलाई सिजनल फ्लु अथवा एक प्रकारको एलर्जी हुने गर्दछ । त्यस्तो अवस्थामा के हुन्छ भने मौसम परिवर्तन हुदाँ वातावरणमा पनि बिरुवाहरुको फूल फुल्ने, फूल फुले सँगै त्यसका बियाँहरु झर्ने प्रक्रिया जारी रहन्छ । जसलाई हामी हाम्रो स्वास्थसँग गाँसेर हर्ने गदैनौ । तर, त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थमा परिरहेको हुन्छ । बिरुवाबाट फूल झर्दा, बियाँहरु झर्दा त्यसबाट सा–साना आँखाले नदेख्ने कणहरु अथवा मोलिक्युलहरु वातावरणमा फैलिरहेको हुन्छ । जो हामीले लिने हावाको माध्यमद्धारा सिधा स्वासप्रश्वास नलीमा जान्छ । त्यसपछि हामीलाई रुघाँ, खोकी जस्ता समस्या भई दिर्घकालिन रुपमा दम रोगको शिकार बनाउँछ ।
– हाम्रो शरीरको सम्पूर्ण भाग बाहिरी रुपमा छालाले ढाकेर भित्री शरीरलाई बचाइराखेको हुन्छ । मौसम परिवर्तन हुँदा छालामा सुख्खापन बढ्छ । त्यसले गर्दा छालामा लाग्ने रोगहरुलाई प्रश्रय दिइरहेको हुन्छ । त्यस्तो अवस्थामा हातगोडाका छाला फुट्ने, फुस्रो हुने, खटिरा आउने गर्दछ ।
– त्यस्तै मौसम परिवर्तन हुँदा वातावरणमा हुने ताफक्रमको फेरबदलले वातावरणमा रहेका विभिन्न किटाणुहरु एकदमै सक्रिय हुने गर्दछन् । तिनीहरु अरु अवस्थामा भन्दा बढी नै सक्रिय हुने गर्दछन् । जस्तो कि रोटा भाइरस, ई।कोलाइ लगायतका किटाणुहरुले हामीलाई झाडापखाला लगायत रोगहरुको संक्रमण हुन जान्छ ।
मौसम परिवर्तन हुँदा लाग्ने रोगका लक्षणहरु
– रुघा, खोकी लाग्नु
– बान्ता हुनु
– धेरै पटक सुख्खा खोकी लाग्नु
– खानपिनमा रुची हराउँदै जानु
– सास फर्न समस्या हुनु
– छाती भारी भएझैं महशुस हुनु
– नाक बुझिनु अथवा बुझिएझैं महशुस हुनु
– निरन्तर ज्वरो आउनु, शरीरको तापक्रम बढ्नु
– पखाला लाग्नु
– आउँ लाग्नु
– शरीरको छालाहरु फुट्नु र घाँउ तथा खटिराहरु आउनु
मौसम परिवर्तन हुँदा लाग्ने रोगबाट बच्ने घरेलु उपायहरु
– सकभर घरबाट बाहिर जाँदा मास्कको प्रयोग गर्ने ।
– आफ्नो घरआँगन वरिपरिको वातावरण सफा राख्ने र सुख्खा हुन नदिने ।
– नाक सुख्खा भएमा मनतातो पानीले हल्का गरी नाकको भित्रसम्म पानीले सफा गर्ने ।
– आफुलाई के कुराबाट एलर्जी भइरहेको छ पहिचान गरी सकभर त्यस्तो चिजबाट टाढै रहने ।
– दिनमा धेरै पटक सुख्खा खोकी लाग्यो अथवा सास फेर्न अप्ठ्यारो भयो भने सिजनल फ्लु हो भनेर जान्ने र नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार औषधीको प्रयोग गर्ने ।
– हाम्रो शरीरको छाला र पुरा शरीर सुख्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग गर्ने । जसले गर्दा हामीलाई मौसम परिवर्तन हुदाँ लाग्ने विभिन्न छालाका रोगहरुबाट बचाउँछ ।
– खाना खानुअघि साबुन पानीले राम्रोसँग हात सफा गर्ने ।
– शौचालयलाई नियमित सफा राख्ने ।
– ज्वरो आयो भने शरीरमा किटाणुको संक्रमण भयो भनेर थाहा पाउनु पर्दछ र पहिला घरमै पानी पट्टी गर्नु पर्दछ ।
– पोषणयुक्त खानपिनमा ध्यान दिने । जसले गर्दा हाम्रो शरीरको इम्यूनिटी पावरलाई अझ मजबुत बनाउन मद्दत गर्दछ ।
