Correspondent, ParbatNepal
5 years ago
1531
माघ २७ पर्वत । पर्वतको मोदी गाउँपालिका–८ चित्रेका ७ घरमा सञ्चालित होमस्टे सञ्चालनमा आएका छन् । १० महीनापछि खुलेका होमस्टेमा पर्यटकको चहलपहल शुरू भएको छ ।
माघको दोस्रो सातादेखि होमस्टे सञ्चालनमा आएका हुन् । कोरोना संक्रमणको त्रासले यहाँका सबै होमस्टेमा पर्यटक आगमन रोकिएको थियो ।
दैनिक रूपमा पर्यटक नआए पनि बिदाको दिन र कुनै चाडबाड पर्दा अग्रिम बुकिङ गरेर आउने गरेको बताइएको छ ।
यहाँका बासिन्दा होमस्टे आम्दानी गर्ने थलो मात्रै नभई सामाजिक अभियान थाल्ने थलोको रूपमा पनि उपयोग गरिएको छ । जति बचत हुन्छ, त्यसको करीब २ प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र ५ प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ । समितिका अनुसार चित्रेको होमस्टेमा एकपटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ । अहिले धेरै घरहरूमा कोठा थप्ने र सबै अट्याच रूम बनाउने क्रम चलेको होमस्टे सञ्चालक समितिका सचिव मधुसूदन अधिकारीले बताए ।
अधिकारीका अनुसार चित्रेबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले होमस्टेमा आउनेहरूको मन जित्दै आएको छ । जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरू आकर्षित हुने गरेको वडाध्यक्ष सुकबहादुर गुरुङले बताए । चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रूट’ समेत रहेकाले पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकको संख्या धेरै छ ।
