Correspondent, ParbatNepal
5 years ago
2439
पुष २४ पर्वत । नेपाली काँग्रेसका नेता एवं पूर्व सभामुख तारानाथ रानाभाटले आगामी बैशाखमा चुनाव भएपनि वा अहिले संसद पुनस्र्थापना भएपनि दुबै विकल्प देशका लागि हानिकारक हुने बताउनुभएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानले आयोजना गरेको १३ औँ स्मृति सभामा प्रमुख अतिथीको रुपमा आफ्नो भनाई राख्दै रानाभाटले अहिले हतासमा प्रधानमन्त्रीले संसद विघटन गरेको बताउनुभएको हो ।
उहाँले देश विभिन्न खाले समस्याबाट गुज्रिरहेको बेला राजनीतिक संकट देखापरेको भन्दै यसको सफल अवतरण गराउन अहिलेको नेतृत्व सफल हुनेमा शंका व्यक्त गर्नुभयो । देशमा राजनीतिक शक्ति कमजोर हुँदा त्यसको फाईदा बिदेशीले लिने भन्दै सबै दललाई जिम्मेवार भएर अहिलेको समस्या समाधानमा जुट्न सल्लाह दिनुभयो ।
रानाभाटले सत्तापक्ष पदको भागवण्डा र कुर्चिको तानातानमा लाग्दा बिभाजित भएको र प्रतिपक्ष केहि थान मन्त्री पाउने आशामा कुनै दलको पछि लागेर सरकारमा जाने कोशिष गरेमा त्यो पनि घातक हुने चेतावनी दिनुभयो । सबै दलले स्वार्थलाई त्यागेर अहिलेको तरल राजनीतिलाई सहि दिशा दिनुपर्ने रानाभाटले बताउनुभयो । स्वार्गिय अमृतप्रसाद जोशीलाई नजिकबाट चिनेको बताउँदै रानाभाटले जोशीको इमान्दार राजनीतिक जीवनको प्रसंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठानका प्रमुख संरक्षक एवं काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफ्नो वुवा अमृत जोशी ईतिहाँसको खुल्ला किताव रहेको स्मरण गर्नुभयो । उहाँले जहिले पनि आफुलाई असल आचरण र राजनीति समाजसेवा हो भन्ने पाठ सिकाएको बताउँदै वुवाको आदर्श आफनो लागि अहिले पनि मार्गदर्शन बन्न पुगेको बताउनुभयो । जोशीले स्वार्थलाई त्यागेर गरिने राजनीतिले मात्रै समाज रुपान्तरण गर्न सकिने र व्याक्ति मरेर पनि जिवितै रहने पाठ वुवा बाटै सिकेको बताउनुभयो ।
अमृत जोशी स्मृति प्रतिष्ठानको स्मृति दिवशको अवसरमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगिताका बिजेता बिद्यार्थीहरुलाई उक्त समारोहमा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सभापती खिमप्रसाद भुसाल, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जलजला गाउँपालिकाका अध्यक्ष यामवहादुर मल्ल , कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, नेपाल तरुणदलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, कुश्मा नगरपालिकाका प्रमुख प्रसाशकीय अधिृकत हरि पंगेनी , नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष शिवशर्मा अधिकारी, गुप्तेश्वर वहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बसन्तकुमार कर्माचार्यले मन्तव्य राख्नुभएको थियो ।
यस्तै नेपाली काँग्रेसको महिला विभागका केन्द्रिय सदस्य रेखा गुरुङ, , नेकपा कुश्मा नगरकमिटीका अध्यक्ष शंकर गिरी, कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्मा भारती, जिविसका पूर्व उपसभापती राम शर्मा पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, शहिद हरिदत्त स्मृति प्रतिष्ठानका सचिव नरवहादुर थापा, समाजसेवी खेमनाथ शमा, रेडक्रसका सभापती रुद्रवहादुर रिमाल, लायन्स चिफ काशीकुमार जोशी, जेसिज पर्वतका पूर्व अध्यक्ष मोहन आचार्यले बोल्नुभएको थियो ।
बक्तृत्वकला प्रतियोगिताका बिजेता सुन्दर भुसालले आफ्नो रचना वाचन गर्नुभयो । अमृत प्रसाद जोशीको कृतित्व, व्याक्तित्व र जीवनीको बारेमा सुन्दरप्रसाद जोशीले जानकारी गराउनुभएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षता, सचिव माधव पौडेलको सञ्चालन र उपाध्यक्ष मानकुमारी गिरीको स्वागतमा सम्पन्न भएको थियो ।
