Correspondent, ParbatNepal
5 years ago
1550
पर्वत । पर्वत जलजला गाउँपालिका ४ फट्केढुङको बल बहादुर विकको घटनालाई गाउँमै मिलापत्र गराउन जनप्रतिनिधि र प्रहरीले नै सक्रिय भएको पाईएको छ ।
जलजला गाउँपालिका ४ फट्केढुङको बल बहादुर विकको घरमा घटेको घटनाको गाउँमै मिलाउने गरी वारीबेनी प्रहरी चौकीबाट वडाअध्यक्ष सहितको जनप्रतिनिधिहरुले जिम्मा लिएका थिए । घटना घटेको एक हप्ता वितिसक्दा समेत जनप्रतिनिधिहरु बेखबरजस्तै बन्दा पीडित बल बहादुर विकले जिल्ला प्रहरी कार्यालय सम्म घटनाको विषयमा जानकारी गराई उजुरी दर्ता गराउन जाँदा ,उल्टो प्रहरीबाटै अपमानित भएको गुनासो गरेका छन् ।
घटना के थियो <
छ जनाको परिवार रहेका बलबहादुर विश्वकर्मा ज्याला मजदुरी गरेर घर चलाउने मान्छे हुन् । कान्छी छोरी संगितालाई मिगौलामा पत्थरी रहेको थाहा पाएपछि असार २१ गते छोरीलाई लिएर पोखरामा आएका थिए, बल बहादुर विश्वकर्मा । पोखरा मनिपाल अस्पतालमा छोरीको दुई हप्ताको उपचार गरेपछि फेरी दुई हप्तापछि पुन अस्पतालमा ल्याउने डाक्टरहरुको सल्लाह अनुसार बाबु छोरी घर फर्किए । साउन ११ गते घर फर्किएका बाबु–छोरीले घर पुगेपछि परिवारसँग गफगाफ गरे, खानपिन खाए ।
बुढाबुढी घरघरायसी कुराकानी गर्दै बुढाबुढी अलि ढिलासम्म राति बसे । तीन छोराहरु एक छोरी सहित बल बहादुर विश्वकर्माको छ जनाको परिवार छ । सबैको विवाह भएको छ भने कान्छी छोरीको विवाह भएको छैन ।
साउन १२ गते घरमा छोरी र बुढी सहित सँगै खाना खाए । पोखराबाट फर्किएका विश्वकर्मा घर तल रहेको कान्छो भाइसँग गफ गर्न गए । उनी भाईसँग जानुअघि घरमै सुत्ने तयारी गरेकी उनकी श्रीमति, भाईको घर गएर १ घण्टाजति गफिएर आउँदा सुत्ने कोठामा बुढीलाई नदेखेर बाहिर निस्किएर बसेका थिए । उनी बाहिर निस्किएर बसेको मात्र के थिए, स्थानीय क्षेत्रबहादुर मल्ल र श्रीमति उनलाई नदेखि सुत्ने कोठामा छिरे । उनीहरु दुवै जना अनैतिक सम्बन्ध राख्न थालेपछि विश्वकर्माले गाउँका नन्दबहादुर हमाल, भुवन मल्ल र भरत जिसीलाई बोलाए । साथमा उनीहरुका दाजुभाईहरु पनि जम्मा भए । उनीहरुले वारीबेनीमा रहेको प्रहरी चौकीलाई पनि खबर गरे । अविरल बर्षा भएको र बाटोको कारण तत्काल आउन समस्या हुने प्रहरीले जानकारी गराएपछि उनीहरु सबैले प्रहरीकै आदेश अनुसार बाहिरबाट ताल्चा लगाएर रुँगेर बसे । भोलीपल्ट विहान साउन १३ गते प्रहरी र स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा बाहिरबाट लगाएको ताल्चा खोले । ताल्चा खोलेर भित्र पस्दा एकछिन सबै अक्कनबक्क भए । उनीहरु दुई जनामा श्रीमति मात्र देखिइन् । खोज्दै जादा बाक्साभित्र लुकेका थिए ,क्षेत्रबहादुर मल्ल । प्रहरीको र स्थानीय जनप्रतिनिधिको उपस्थितिमा मल्ललाई हातकडी लगाएर बेनी प्रहरी चौकीमा लगियो ।
बेनी प्रहरी चौकीमा के भयो<
प्रहरी चौकी असई, हल्दार सहितको ३ जनाको टोली ४ फट्केढुङको बल बहादुर विकको घरमा साउन १३ गते विहान पुगेका थिए । उनीहरु विकको घरमा पुगेपछि स्थानीय ,जनप्रतिनिधि र प्रहरी मिलेर सामुहिक रुपमा ढोका बाहिर लगाएको ताला खोले । उनीहरुले पक्राउ गरेका दुवै जनालाई प्रहरी चौकीमा ल्याउँदै गर्दा प्रहरीले थप जनप्रतिनिधिलाई पनि सम्पर्क गरे । उनीहरुको सम्र्पक र पीडितको सम्पर्कपछि वडाअध्यक्ष भिष्म मल्ल, वडा सदस्य हरि कार्की र आफ्ना जेठो छोरोको श्रीमति लक्ष्मी सुनार कार्यपालिका सदस्य सहितको जनप्रतिनिधिको उपस्थिति प्रहरी चौकीमा भयो । प्रहरी चौकीबाट गाउँको घटना गाउँमै मिलाउने हो कि, भनेर छलफल चलाउन आग्रह गरे । चौकीले आग्रह गरेको केही समयमै वडाअध्यक्ष भिष्म मल्लले सबै गाउँठाउँमै बस्नुपर्ने भन्दै आफुले गाउँमै मिलाउने भन्दै घटना मिलाउने जिम्मा लिएर कानुनी रुपमा केरकार गर्न दिएनन् । प्रहरीहरुले पनि जनप्रतिनिधिले घटना मिलाउँछु भनेपछि घटना मिल्ने आंकलन गरे । सबैलाई मौखिक सहमति अनुसार गाउँ फर्काए ।
वडाअध्यक्ष भिष्म मल्ल के भन्छन् <
वडामा भएको घटना सबै जानकारी पाएका थियौ । वडा सदस्य र स्थानीयहरु पनि चौकीमा गएका हौं । गाउँटोल छिमेकभित्र घटेका घटनाहरु सकेसम्म गाउँमै मिलाउने गरी दुवैपक्षका बीचमा सहमति हुन्छ । हामीले पनि गाउँघरको कुरा भएको भएर आफुहरुले मिलाउने गरी जिम्मा लिएको वडा अध्यक्ष भिष्म मल्लले बताए । वडा अध्यक्ष मल्लका अनुसार प्रहरी र आफुहरुको रोबरमा ढोकामा लागेको ताला खोलिएको बताउँदै आफुहरुबाट पीडितलाई न्याय दिलाउनका लागि गरिएको छलफल सहमतिमा पुग्न नसकेको र कानुनी उपचारमा विक लाग्नुपर्ने बताए । ‘दुवै पक्षलाई सहमतिमा ल्याउने गरी छलफल गराउन खोजेको ,सहमति हुन सकेन, कानुनी उपचारमा गए हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय कुश्मा के भन्छ <
जलजला गाउँपालिका ४ फट्केढुङको बल बहादुर विकको घरमा भएको घटनाको उजुरी र पीडित भनिएका व्यक्ति बल बहादुर विक जिल्ला प्रहरी कार्यालय कुश्मामा अहिलेसम्म नआएको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । ‘घटनाको विषयमा अहिलेसम्म जानकारी आएको छैन, उजुरी दर्ता भए कानुनी अनुरुप कारबाही हुन्छ ।’
अधिकारकर्मी भन्छन्
घटना भएको एक हप्ता वितिसक्दा पनि पीडितलाई जनप्रतिनिधिहरुले नै घटनाको जिम्मालिएर मिलाउन पहल गर्ने र घटनालाई दबाउने दाउँपेचमा लागेको अधिकारकर्मी र पीडितको भनाई छ । पीडितका अनुसार अनैतिक सम्बन्ध राख्नेमाथि कानुनी कारबाहीका लागि पक्राउ गरी कारबाही गर्नुपर्ने माग पीडितको छ । तर पक्राउ गर्नका लागि कसुर दाखिल गरिएको उजुरी निवेदन प्रहरीको दर्ता हुनुपर्छ । यो सबै हुन सकेको छ । प्रहरीको उजुरी दर्ता नगरी गाउँघरको घटना गाउँघरमै मिलाउन वडाअध्यक्ष सहित जनप्रतिनिधि अगाडी सारे प्रहरी उम्किन नमिल्ने स्थानीय अधिकारकर्मी बताउँछन् । घटनालाई अन्य नाम दिएर घटना दबाउने र दोषीलाई कारबाही नगरी उम्किाउने खेलमा जनप्रतिनिधि लागेको स्थानीय दलित अधिकारकर्मी दुर्गाबहादुर दर्जीले बताए । ‘प्रहरीको उजुरी लिएर गए ,जनप्रतिनिधिले मिलाउँछु भन्ने,पीडकहरुको पक्षमा जनप्रतिनिधि देखिएपछि कसरी सहमति गाउँमा हुन्छ ।’
