Correspondent, ParbatNepal
5 years ago
1401
साउन २०, पर्वत । पर्वतमा सोमवार थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको कुश्मा नगरपालिकाका ३० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाव परिक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतमा यो संगै कुल संक्रमितको संख्या ९९ पुगेको छ । यसअघि ९७ जना निको भएर घर फर्किसकेका छन् ।
एक जनामात्रै संक्रमित आईसोलेसनमा रहेकोमा आज संक्रमित भएका पुरुष सहित अब दुई जना आईसोलेसनमा रहेका छन् । पर्वतका १ सहित गण्डकी प्रदेशमा आज थप ११ जनामा संक्रमण देखिएको छ । स्याङजाको पुतलीबजार नगरपालिकाका ३० र ३६ वर्षका दुई जना पुरुष र ३६ वर्षका एक जना महिला कोरोना संक्रमित भएका छन् ।
पोखरा महानगरपालिकाका ३६, ३९, १९ र २३ वर्षका पुरुष, कास्कीको मादी गाउँपालिकाका २८ वर्षिय महिला, स्याङजाको हरिनास गाउँपालिकाका २९ वर्षिय पुरुष र लमजुङको दुधपोखरी गाउँपालिकाका २९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको र निको हुनेको संख्या एक हजार ३ सय ३९ रहेको निर्देशनालयले जनाएको छ ।
