Correspondent, ParbatNepal
5 years ago
1394
साउन २०, पर्वत । जिल्ला अस्पताल पर्वतमा निशुल्क डायलाइसिस सेवा सुचारु भएको छ । अस्पतालमा ४ वटा अत्याधुनिक मेशिनबाट सोमबारदेखी मृगौलाको डायलाइसिस सेवा शुरु गरिएको हो । जिल्लाभित्र रहेका नियमित डायलाइसिस गर्नुपर्ने मृगौलाका बिरामीलाई लक्षित गरी मृगौला उपचार सेवा संचालनमा ल्याइएको हो ।
अहिलेसम्म पर्वतमा मृगौलासम्बन्धी उपचार नहुंदा पोखरा र काठमाण्डौं जानुपर्ने बाध्यता थियो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले मृगौला डायलाईसिस सेन्टरबाट ६ जना स्टाफ नर्स २ जना मेडिकल अफिसर र १ जना प्राबिधिकले २४ सै घण्टा सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले हाल ४ वटा मेशिनबाट डायलाईसिस शुरु गरिएपनि आवश्यकताको आधारमा मेशिन थप गर्न सकिने जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारको निति तथा कार्यक्रममै समाबेश भई आएको यो सेवाको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट बिनियोजन गरी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरण सहित तालिम प्राप्त चिकित्सकको व्यवस्था गरेर सेवा शुरु गरेको उहाँले बताउनुभयो ।
करिब १ करोड ३० लाख भन्दा बढीको लागतमा संचालनमा आएको उक्त सेन्टरबाट दैनिक ६ जना विरामीको नियमित डायलाइसिस गर्न सकिनेछ भने ४ वटा मेसिनबाट दुई सिफ्ट मात्रै १२ जना बिरामीलाई दैनिक सेवा दिन सकिने पनि पहाडीले बताउनुभयो ।
उहाँका अनुसार डायलाईसिस सेवा परीक्षण सेवाको रुपमा केहीदिन सञ्चालन गरिने र औपचारिक उद्घघाटन गरी सेवालाई थप प्रभावकारी बनाईनेछ । जिल्लाभित्रै डायलाइसिस सेवा संचालन भएपछि समयसंगै आर्थिक समेत बचत हुने भन्दै विरामीहरु खुशी भएका छन् । जिल्लामै डायलासिस सेवा आउने भएपछि हालसम्म १५ जना सम्पर्कमा आएको पहाडीले बताउनुभयो ।
सरकारले मृगौला रोगीहरुको निःशूल्क उपचार घोषणा गरेपनि बिरामीले जिल्लाका सरकारी अस्पतालबाट समयमा डायलाइसिस सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो ।
