Correspondent, ParbatNepal
5 years ago
1232
१६
साउन, पर्वत । पर्वतको मोदी गाउँपालिका ८ चित्रेमा धानमा देखिएको नयाँ रोगले किसानलाई
पिरोलेको छ । चित्रेको शरादीखोला वरिपरिका दर्जन बढि किसान खेतमै धानको गाभा मरेपछि
चिन्तित भएका हुन् । स्थानीय शेरबहादुर केसीले दिएको जानकारी अनुसार करिव ५० देखि ६०
रोपनी खेतमा रोपिएको अधेँरी मार्सी जातको धान जरैदेखि मरेको छ ।
शेरबहादुर
सहित राजेन्द्र केसी, मनबहादुर केसी, धनबहादुर केसी, शेषराज लम्साल, जितेन्द्र केसी,
नारायण केसी लगायतको धानखेती पुरै मरेर खेत रित्तै भएको हो । कृषक शेरबहादुर केसीले
जेठमा रोपेको धान साउन सम्म लहलह हुने गरेको बिगतको अनुभव सुनाउँदै अहिले अनौठो किसिमले
धान मरेको गुनासो गर्नुभयो । बिगत लामो समयदेखि स्थानीयले अंधेरी मार्सी जातको धान
रोप्दै आएपनि यस्तो समस्या कहिल्यै नदेखेको बताउँछन् ।
एक
दुई जनाको नभएर सिंगो गाउँका किसानको धान मरेकाले कृषि प्राविधिकहरु संग स्थानीय समाधानको
उपाय सुझाउन अनुरोध गरेका छन् । मकै बाँदरले खायो, सुन्तला असिनाले खायो, अहिले धान
रोगले खायो हाम्रो लगानी माटोमै खेर गयो स्थानीय जितेन्द्र केसीले भन्नुभयो, कृषि प्राविधिक
आएर उचित उपाय दिनुपर्ने देखिन्छ । चित्रेका किसान खेतीपातीमा देखिएको समस्या समाधानका
लागि कृषि प्राविधिकको सल्लाह पर्खिरहेको बताउँछन् ।
