Correspondent, ParbatNepal
5 years ago
1345
साउन १५ पर्वत । पर्वतको एउटा सिंगो बस्ती पहिरोको त्रासले बिस्थापित भएको छ । जिल्लाको जलजला गाउँपालिका ७ धाईरिङमा पहिरो झर्न थालेपछि २५ परिवार बसोबास गर्दै आएको गाउँ नै बिस्थापित भएको हो । वडाध्यक्ष टुंगनाथ शर्माका अनुसार निर्माणाधिन मिलनचोक–सल्यान–गुन्टेखेत धारापानी सडकबाट पहिरो झर्न थालेपछि गाउँलेलाई जोगाउन स्थानान्तरण गरिएको हो ।
शर्माका अनुसार केहि घर र गोठको पछाडी ठुलोठुलो पहिरो खसेको छ । निरन्तर वर्षा भैरहेकाले जुनबेला पनि पहिरो आउन आंकलन गर्दै बस्तीका बासिन्दाले घर छाडेका हुन् ।
धाईरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, धाईरिङ केराबारीका गोविन्द बहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार घर छोडेर छिमेकीको घरमा शरण लिएर बसेको पीडित राजु परियारले बताए । गोरे परियारको घर भने भत्किसकेको छ ।
सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमल बहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मन बहादुर.परियार र राजु परियारको परिवार पनि विस्थापित भएको छ ।
सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै बाढि आउने खतरा देखिएको स्थानीय राज आचार्यले बताए । सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफुल फर्ममा पनि पहिरोले क्षति पु¥याएको छ ।
