Correspondent, ParbatNepal
5 years ago
1623
पर्वत । लकडाउन खुले संगै पर्वतमा बञ्जिजम्प माथी बनेको साहसिक पिङ सञ्चालनमा आएको छ । पिङ सञ्चालन भएपछि दैनिक रुपमा एक सयको हाराहारीमा मानिसहरु पिङ चढेर रमाउन आउन थालेका छन् । द क्लिफ प्रा.ली.को लगानीमा बनेको बञ्जिजम्प संगै २२८ मिटर उचाइको पुलमाथि पिङ सञ्चालन गरिएको हो । बञ्जिजम्प पनि केहि दिनमै शुरु गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।
जमीनबाट १ हजार २०० मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ । यो गुलेलीको शैलीमा निर्माण गरिएको द क्लिफले बताएको छ । सामान्यतया पिङ खेल्दा दोस्रो व्यक्तिले सहयोग गर्नु पर्ने भए पनि यो पिङमा मेसिनको सहयोगले खेलाइने छ । पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए । चट्टान आरोहण लगायत साहसिक खेलमा प्रयोग हुने उच्च गुणस्तरको डोरीको प्रयोग गरिएको र दक्ष प्राविधिकबाट डिजाइन गरी निर्माण गरिएको पिङ नेपालकै नमूना पिङ बनेको कार्कीको दाबी छ । पिङ खेल्न प्रतिव्यक्ति रू। २०० लाग्ने कार्कीले बताउनुभयो ।
विश्वकै अग्लो स्विङ र स्काई साइक्लिङ समेत निर्माण गरेको कम्पनीले अन्य गतिविधि समेत छिट्टै सञ्चालनमा ल्याउने बताएको छ । उक्त क्षेत्रलाई एड्भेञ्चर हवका रूपमा विकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताउनुभयो । करीब रू। १५ करोड लगानी अनुमानसहित निर्माण थालिएको भए पनि डिजाइन र प्राविधिक कारणले करीब रू। ५ करोड लगानी बढेको कार्कीको भनाइ छ । गण्डकी प्रदेशको राजधानी पोखराबाट ५७ किलोमिटर उत्तरमा पर्ने कुश्मा मुक्तिनाथको प्रवेशद्वार पनि हो । त्यसैले पनि यहाँको बञ्जिजम्प विदेशीको रोजाइमा पर्ने सञ्चालक युवराज जोशीले बताए । उत्तर–दक्षिण छिमेकी मुलुक जोड्न निर्माणाधीन कालीगण्डकी कोरिडोर र मध्यपहाडी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएपछि भारतीय र चिनियाँ पर्यटकको रोजाइमा यो स्थल पर्नसक्ने उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा बताउनुहुन्छ ।
यहाँ गुप्तेश्वर, लालेश्वर, अल्पेश्वर र पार्वती गुफाले पनि पर्यटक आकर्षित गरिरहेका छन् । बञ्जिजम्प बनेपछि आन्तरिक र बाह्य पर्यटकको संख्या झनै बढ्ने अपेक्षा गरिएको छ ।
