Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1279




३ करोड लागतको भवन पहिरोसँगै भासिन थाल्यो
३ करोड लागतको भवन पहिरोसँगै भासिन थाल्यो

साउन ६, पर्वत । स्थानीयको विरोधका बीच फलेबास नगरपालिका१ कार्कीनेटामा बनेको स्वास्थ्य चौकी भवन हस्तान्तरण नहुँदै पहिरोको जोखिममा परेको छ । ३ करोड लागतको भवन पहिरोसँगै भासिन थालेको हो । जग खन्दादेखि नै जमिन भासिएको देख्दादेख्दै तत्कालीन सर्वदलीय संयन्त्रको मिलेमतोमा ०७४ वैशाखमा जबर्जस्ती भवन बनाउन सुरु गरिएको थियो । प्राविधिकले समेत त्यहाँ भवन बनाउन नमिल्ने सुझाव दिएका थिए ।

 

गत साता पहिरोले भवनको अगाडि र पछाडि दुवैतर्फ क्षति पुर्‍याएको स्थानीय हरिप्रसाद शर्माले बताए । ‘अगाडि बरन्डासम्मको भाग भासिएको छ,’ उनले भने, ‘पछाडिका पाँच लेयर जाली भत्किएर भवन अँठ्याएको छ । यसरी कसरी पार लाग्छ ?

 

 

दुईतर्फको पहिरोले बस्तीसँगै खौलाकार्कीनेटा सडकसमेत जोखिममा परेको छ । पहिरो पन्छाउन र भवन जोगाउन अघिल्लो वर्ष र अहिले गरी करिब एक करोड खर्चिइसकेको छ । तर समस्या समाधान हुने छाँट नदेखिएको स्थानीय भूपेन्द्र पोख्रेलले बताए । ‘यताउति घुमाएर खाने मेसो मात्रै देखियो,’ उनले भने, ‘पहिला दलीय संयन्त्रका नाममा, अहिले जनप्रतिनिधि र ठेकेदारले कुम्ल्याउने माध्यम बनेको छ । गत साता खसेको पहिरो नियन्त्रण गर्न भवन डिभिजन कार्यालयले २० लाख बजेट विनियोजन गरेको छ ।

 

साबिकको कार्कीनेटा गाविस३ खाल्टाथरमा भवनको जग खन्ने समयमै पहिरो गएको थियो । लगत्तै स्थानीयले भवन अन्तै बनाउन माग गरेका थिए । उनीहरू करिब ४ सय मिटर परको डाँडाबारीमा ५ रोपनी जग्गा निःशुल्क दिनसमेत तयार थिए । ‘सबैलाई पायक पर्ने ठाउँमा सित्तैमा जग्गा दिन्छौं भन्दा नमानेर त्यहाँ पैसा हालेरै किनेका हुन्,’ स्थानीय नारायण शर्माले भने, ‘अहिले त्यही भवन ठूलाबडालाई कमाइखाने भाँडो भयो । जनताले सेवा पाउने छाँट छैन ।

 

गत वर्षदेखि नै बर्थिङ सेन्टरको स्वीकृति पाएको स्वास्थ्यचौकीले भवन नपाएकैले सेवा सुरु गर्न सकेको छैन । ‘महिनैपिच्छे चारपाँचवटा डेलिभरी केस आउँछन् । ठाउँ अभावले अन्तै पठाउनुपरेको छ,’ स्वास्थ्यचौकी इन्चार्ज प्रकाश सुवेदीले भने, ‘जनशक्ति भएर पनि सेवा दिन सकिएको छैन ।

 

जग्गा छनोटमै असहमति जनाएका प्राविधिकले भवन बनाउनु नै गलत भएको बताएका थिए । ‘मैले उति बेलै जमिन उपयुक्त छैन भनेकै हो,’ तत्कालीन साइड इन्जिनियर सूर्यप्रसाद बरालले भनेका थिए, ‘अन्यत्र विकल्प नभएपछि बाध्य भएर पास गरिएको हो । हाल अवकाशप्राप्त बरालले अहिले उक्त विषयमा बोल्न नमिल्ने बताए ।

 

भवन डिभिजन कार्यालय कास्कीका साइड इन्जिनियर सुशील आचार्यले जग्गा छनोटमै कमजोरी हुँदा समस्या आएको बताए । ‘दुवैतिर सडक र बीचमा दलदले जमिन उपयुक्त हुँदै होइन,’ उनले भने ।

 

निर्माण व्यवसायी नयाँबाटो सूर्योदय जेभीका सञ्चालक कुलराज पोख्रेलले कमजोर जमिन रहेको र त्यसमाथि समयमा काम गर्ने अख्तियारी नपाउँदा भवन हस्तान्तरण हुने बेला अर्को क्षति बेहोर्नुपरेको बताए । ‘अब इन्स्योरेन्स र भवन कार्यालयलाई जिम्मा दिने हो । जेसुकै गर्छन्,’ उनले भने । वडाध्यक्ष बाबुराम शर्माले जग्गा छनोट नै गलत भएकाले अब समाधान गर्न कठिन भएको बताए । ‘भवन सार्ने विकल्प नहुन सक्छ,’ उनले भने ।

साभार कान्तिपुर दैनिकवाट 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)