Correspondent, ParbatNepal
8 years ago
1939
रोशन तिवारी माघ १५ पर्वत - पर्वतमा पछिल्लो समय कुष्ठरोगीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा सन्् २०१० मा पर्वतमा १ सय ७ जना कुष्ठरोगी फेला परेका थिए । हालसम्म ९१ जनाको सफल उपचार भईसकेको भने बाँकी ९ जनाले नियमित रुपमा औषधी सेवन गदै आएको छन् ।
विगत ७ बर्षको विश्लेषण गर्दा जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.बुद्धिवहादुर थापाले बताउनु भयो । कुश्मानगरपालिकामा ७ जना फलेवासमा १ जना र पैयुँमा १ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
धार्मिक ग्रन्थले गरेको व्याख्या र सामाजिक दृष्टिकोणका कारण रोग लुकाउने समस्या समाजमा हट्दै गएको उहाँको भनाई छ । कुष्ठरोग निवारणका लागि नयाँ कुष्ठरोगीहरुको पहिचान गर्ने, उपचार गराइसकेका ठाउँहरुमा फेरि जाँचबुझ गर्ने, गाउँमा खटिएका महिला स्वयंसेविकाहरुद्धारा विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गर्ने र नागरिकलाई सुसूचित गराउँदै आएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ ।
सन् २०१० मै नेपालबाट कुष्ठरोग निबारण भईसकेको सरकारले घोषणा गरेपनि पश्चिम नेपालका केहि जिल्लाहरुमा भने कुष्ठरोगीहरुको संख्यामा अझै पनि कमी आएको छैन । कुष्ठरोगको बारेमा समाजमा अझैपनि गलत धारणा रहेको बताउँदै समयमै उपचार गर्न सके कुष्ठरोग निको हुने जिल्ला स्वास्थ्य कार्यालय पर्वतका कुष्ठरोग निरिक्षक जनार्दन गिरीले बताउनु भयो । कुष्ठरोगीलाई पुनस्थापनाका लागि सरकारले ४ हजार भत्ता दिने निर्णण गरेको उहाँको भनाई छ ।
