Correspondent, ParbatNepal
8 years ago
1767
रोशन तिवारी माघ १२ पर्वत÷ विरामी वोक्ने जिल्ला अस्पतालको एम्वुलेन्स विग्रिँदा सर्वसाधारणहरु मर्कामा परेका छन् । जिल्ला अस्पतालमा रहेको एकमात्र एम्वुलेन्स विग्रिएपछि विरामी ओसारपोसारमा समस्या भएको छ । विगत ८ महिना अघिदेखि एम्वुलेन्स विग्रिएर थन्किएको छ । ५ वर्ष अगाडी खरिद गरिएको एम्वुलेन्सका पाटपूर्जा विग्रिएपछि ८ महिनादेखि मर्मतका लागि पोखरामा लगेर छाडिएको छ ।
पोखरा स्थित सृजना अटो वर्कशपमा मर्मतका लागि लगिएको एम्वुलेन्स मर्मतका लागि ५ लाख खर्च लाग्ने जनाइएको छ । मर्मतका लागि कुनै निकायले रकमको व्यवस्था नगर्दा मर्मत नभएको जिल्ला अस्पताल विकास समितिमा कार्यरत नायव सुव्वा रघुनाथ रेग्मीले वताए । ‘कुश्मानगरपालीका, पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयमा पटक पटक पत्र पठाएपनि रकमको आश्वसन आएको छैन,’रेग्मीले भने,‘ रकमको अभावमा मर्मत गर्न नसकिएको हो ।’ उनले मर्मत नभएर एम्वेलेन्स थन्किँदा दैनिक आउने करिव १ सय विरामी मर्कामा परेको वताए ।
जिल्ला अस्पतालका प्रमुख डा. वुद्धिवहादुर थापाले पनि मर्मतका लागि रकमको अभाव रहेको वताए । उनले रकमको जोहो नहुँदा एम्वुलेन्स विरामी झै थलिएको वताए । पाटपूर्जाहरु विग्रिएर पोखरा लगेर छाडेको ८ महिना भयो,’ उनले भने,‘हामी संग मर्मत शिर्षकमा वजेट छैन ।’ एकमात्रै एम्वुलेन्स रहेको जिल्ला अस्पतालमा त्यहि पनि विग्रिएपछि विरामीहरुको दैनिक गाली खाईरहेको डा. थापाले वताए ।
अस्पतालमा अहिले दैनिक एक सयको हाराहारीमा विरामी आउने गरेका छन् । विरामीहरुलाई यहाँ सम्भव नभएमा जिल्ला वाहिर पठाउनुपर्छ । पोखरा र वागलुङ रिफर गर्नुपर्ने विरामीहरुलाई भाडाका ट्याक्सीमा पठाउन भन्ने गरिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष राधाकुमारी क्षेत्रीले वताईन । जिल्ला अस्पतालमा पर्वत सहित वागलुङका आधा दर्जन वडाका वासिन्दाले सेवा लिने गरेका छन् ।
