Correspondent, ParbatNepal
8 years ago
1766
रोशन तिवारी माघ १२ पर्वत - गत चैत्रमा कुश्मा र फलेवास नगरपालीकालाई जोड्ने गरि दुई नगरको सीमाना मल्याङ्दीखोलामा पक्कि पुल वन्यो । पुल वनाउन पौने २ करोड खर्च भएको थियो । सडक भरपर्दो नहुँदा पुल वनेपनि यो पुल हुँदै सवारी साधान गुड्न छाडेका छन् । साइकलचोक नुवार चुचुनदेउराली सडक खण्ड भरपर्दो नभएपछि अहिले वैकल्पिक मार्ग हुँदै सवारी साधान सञ्चालन हुदैँ आएका छन् ।
पुल वनेपछि सडक कालोपत्र गर्ने जनाइएको थियो । तर उक्त सडक अहिले पनि ठाउँ ठाउँमा विग्रिएको छ । ठाडो रहेका कारण सवारीसाधानहरु गुडाउन धकेल्ने र तान्ने गर्नुपर्छ । यहि समस्याले सवारीचालकहरुले अहिले तातोपानी–रुग्दी–चुचुनदेउराली सडकको प्रयोग गर्न थालेका छन् । गतवर्ष सम्म समस्या झेल्दै भएपनि सवारी साधान गुड्ने गरेपनि यो वर्षदेखि यो वाटो वन्द जस्तै छ । ‘मोटरसाइकल र ट्रयाक्टर वाहेक अरु यहाँ चल्न छाडे, स्थानीय कुलप्रसाद शर्माले भने,‘ पुल वनेर के गर्ने वाटो गतिलो छैन ।’ पुल वनेपछि सडकको समेत स्तरउन्नती हुनुपर्नेमा त्यसो हुन नसकेको उनले वताए । गाउँमा अव नियमित गाडी गुड्छन भन्ने आशा थियो उनले भने,‘ पक्कि पुल देखाउन वनाएजस्तो पो भयो ।’
पुल नहुँदा वर्खामा यातायात वन्द भएको कारण यहाँ पुल वनाइएको थियो । पुल वनेपछि वर्खामा मात्रै होईन हिउँदमै गाडी गुड्न छाडेका छन् । ‘गतवर्ष सम्म गाडी गुड्थे, हामी यहि वाटो ओहोरदोहोर गरिरहेकै थियौँ, स्थानीय खड्कवहादुर कार्कीले भने,‘तर यो वर्षदेखि रुग्दीको वाटो चल्न थाल्यो यताको वन्द भयो ।’ रुग्दी तर्फको वाटो घुमाउरो भएपनि सहज रहेको तर यताको वाटो ग्रेड नमिलेको र ठाडो हुँदा वन्द भएको कार्किले वताए । तातोपानी–रुग्दी–चुचुनदेउराली सडक खण्डमा दैनिक एउटा वस सदरमुकाम वाट आउजाउ गर्छ भने ३ वटा जीप दैनिक सञ्चालन हुने गरेका छन् ।
पुल नहुँदा सवारीसाधन चल्न समस्या रहेको भनेर ठुलो प्रयासले पुल वनाईएको तर नगरपालीकाले वाटो मर्मत नगर्दा गाडी चल्न नसकेको राजनीतिज्ञ गंगाधर तिवारीले वताए । उनले नगरपालीकाले सडक मर्मत नगरिदिँदा ठाउँ ठाउँमा विग्रिएको कारण समस्या आएको वताए । ‘नगरपालीकाले एकपटक डोजर डुलाएर फर्कियो विग्रिएको ठाउँमा मर्मत गरेन, उनले भने । नगरपालीकाले अरु सडक दशैँको वेला मर्मत गरेको भएपनि यो सडकमा डोजर मात्रै डुलाएर फर्किएको तिवारीले आरोप लगाए ।
वडामा वजेट नहुँदा वाटो मर्मत गर्न नसकेको वडाध्यक्ष अर्जुनवहादुर केसी वताउँछन् । नगरपालीकाले वल्ल सोलिङ गर्ने गरि वजेट विनियोजन गर्ने चरणमा रहेको केसीले वताए । सोलिङका लागी ८÷१० लाखको वजेट स्टिमेट गरेर पठाईएको छ वडाध्यक्ष केसीले भने,‘ नगरपालीकामा सडक स्तरवद्धिको लागि २५ लाख वजेटमध्ये साईकलचोक–नुवार–चुचुनदेउराली सडकलाई सम्बोधन गर्ने कुरा छ ।’ उक्त सडक सोलिङ नगरे सहज रुपमा सञ्चालन गर्न समस्या रहेको केसीले वताए ।
वाटो पनि काँग्रेस र एमालेको
फलेवास ३ का सडकहरु दलिय टकरावका कारण समस्याग्रस्त वनेका छन् । साईकलचोक–नुवार– चुचुनदेउराली सडक काँग्रेसको र खानीगाउँ–खल्डाँडा–पोखराचौर सडक एमालेको सडकको रुपमा स्थानीयले चित्रण गर्ने गरेका छन् । फलेवास नगरपालीकामा एमालेको वहुमत छ । वहुमत एमालेको भएकाले काँग्रेसले स्थानीय चुनाव जितेका वडामा सडक मर्मत गर्न नगरपालीकाले चासो नदिएको आरोप लाग्ने गरेको छ । ‘दशैँमा गाउँमा पठाएको डोजरले एमालेका टहरा टहरामा वाटो खन्यो, वडाध्यक्ष अर्जुनवहादुर केसीले भने,‘ काँग्रेसको सडक खन्न चासो दिइएन ।’ केसी नेपाली काँग्रेसका वडा सभापती पनि हुन् ।
नगरपालीकाको केन्द्र खानीगाउँ हुँदै पोखराचौर सम्म र त्यहाँवाट थापाठानाको मेलपोखरी सम्म जोड्ने गरि सडकलाई नगरपालीकाले वढि महत्व दिएको छ । उक्त सडक स्तरउन्नती गर्न चालु वर्षमा ९० लाख विनियोजन भएको छ । अहिले दुई खण्डमा काम भैरहेको छ । उक्त सडकलाई प्रत्येक वर्ष केन्द्रिय वजेट पर्ने गरेको छ । १३ मिटर फराकिलो वनाउने गरि काम भैरहेको फलेवास नगरपालीकाले जनाएको छ । उक्त सडकलाई महत्व दिएपनि शंकरपोखरी जोड्ने अन्य सडक मर्मतमा चासो नदिइएको स्थानीयले वताएका छन् । नगरपालीकाको मेयर एमालेको तर्फवाट विजयी भएकाले काँग्रेसको वहुल्य क्षेत्रमा विकासका योजना नपारेको शंकरपोखरीका शिवप्रसाद तिवारीले वताए । एमाले र काँग्रेसको सडक भनेर नगरपालीकाले भेदभाव गरेको तिवारीले आरोप लगाए ।
नगरपालीकाका मेयर पदमपाणी शर्माले भने कुनै पनि विकासका काममा राजनीतिक आँखाले नहरेको वताए । उनले आफु चुनाव जितेपछि कुनै पार्टिको नभएर साझा व्याक्ति भएकाले विकासमा राजनीतिक नगरेको वताए । ‘जहाँसम्म सडकको कुरा छ त्यो मेरो वलले परेको योजना होईन मेयर शर्माले भने,’केन्द्रिय कार्यक्रम मार्फत आएको वजेटको कार्यान्वयन गरिन लागेको हो । उनले भने,‘ नगरपालीकाले सबै वडामा समानुपातिक रुपमै सडकका योजना छनौट गरेको छ । दशैँको वेला कम वजेट रहेका कारण सडक सामान्य मर्मत गरिएको उनले वताए । कहिँ कतै दलका प्रतिनिधीहरुले डोजर घरघरमा लगेको गुनासो आएपछि आफुले रोकेको उनले स्विकारे । उनले नगरपालीकाका सबै वडामा सहज यातायातको प्रवन्ध गर्न मर्मत गर्ने गरि काम गरिरहेको वताएका छन् ।
