Correspondent, ParbatNepal
5 years ago
1228
१२ असार, पर्वत । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक बाहेकका सेवा
बन्द गरिएको छ । अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएपछि अस्पतालको आकस्मिक
बाहेकका सेवा बन्द गरिएको हो । शव व्यवस्थापन गर्दा अन्य सेवाग्राहीलाई पनि सर्न सक्ने
भएकाले अस्पतालको सेवा बन्द गरिएको निर्देशक डा. अर्जुन आचार्यले सीआईएनलाई जानकारी
दिनुभयो । उहाँले आज एकदिन मात्रै सेवा बन्द गरिएपनि भोलीदेखि सबै सेवा निरन्तर रुपमा
सुचारु हुने बताउनुभयो ।
मधुमेह, श्वासप्रश्वास लगायतका समस्याका कारण असार ८ गते भर्ना भएका स्याङ्जा
सिरुबारीका ५५ वर्षका पुरुषको गयराति उपचारकै क्रममा मृत्यु भएको थियो । योसँगै कोरोनाका
कारण मृत्यु हुनेको संख्या गण्डकी प्रदेशमा २ पुगेको छ ।
यसैबीच, कोरोना संक्रमणबाट मृत्यु
भएका व्यक्तिको शव व्यवस्थापन गरेको भन्दै पोखरा महानगरपालिका–३२ का स्थानीयले प्रहरी
चेकपोस्टमा आक्रमण गरेका छन् । वडाको मजुवामा रहेको सातपत्रे घाटमा शव गाडिएको विरोधमा
स्थानीयले कास्की र तनहुँको सीमामा राखिएको अस्थायी प्रहरी चेक पोस्टमा आक्रमण गरेका
हुन् । आक्रोशित भीडलाई तितरबितर गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले ८ राउन्ड
हवाई फायर गरेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठले चेकपोस्टमा ढुंगामुढा भएपछि हवाई फायर गर्नुपरेको बताउनुभयो । ढुंगामुढा गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । टायर बालेर बाटो छेकेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको थियो । झडपमा २ प्रहरी र केही स्थानीय घाइते भएका छन् । तीनवटा मोटरसाइकलमा क्षति भएको छ । घाइतेको अवस्था सामान्य छ ।
