Correspondent, ParbatNepal
8 years ago
1701
रोशन तिवारी (माघ ११ पर्वत )- निर्माण क्षेत्रका मजदुरहरुको प्रतिनीधीमुलक संगठन नेपाल विजुली, पेण्टर, प्लम्वर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपालले मजदुरहरुको समस्यामा सरोकारवाला निकायलाई मजदुरको क्षेत्रका समस्याका वारेमा ध्यानाकर्षण गराएको छ ।
जिल्ला प्रसासन कार्यालयमा वुधबार एक ध्यानाकर्षण पत्र वु्झाउँदै (क्युपेक) नेपाल पर्वत शाखाको टोलीले १० वुँदे माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मालाई (क्युपेक) का जिल्ला अध्यक्ष रमा श्रेष्ठले ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभयो । ध्यानकर्षणपत्रमा निर्माण क्षेत्रमा रहेका मजदुरहरुको दुर्घटना विमा, पञ्जिकरण दक्षताको तालिम, भूकम्प प्रतिरोधी तालिमको व्यवस्था, व्यवसायको सुरक्षा तथा स्वास्थ्य र दुर्घटनावाट पाउनुपर्ने क्षतीपुर्ती लगायतका कुराहरु स्थानीय तहले गर्न सक्ने हुँदा त्यसको व्यवस्था गर्न माग गरिएको छ ।
निर्माण व्यवसायमा समान ज्यालाको व्यवस्था गर्न पनि माग गरिएको छ । पर्वत जिल्लालाई वालश्रम मुक्त जिल्ला घोषणा गर्न, मजदुर संग लिखित सम्झौता गरेर मात्रै काममा लगाउन, जिल्लाभित्रका विपन्न, दलित, महिला, अल्पसंख्यकलाई विशेष अधिकारको व्यवस्था गर्न माग गरिएको छ ।
मजदुरहरुलाई दोस्रो दर्जाका नागरिकको हैषियतमा राज्यले हेर्ने गरेकाले त्यस्तो विभेद अन्त्य गर्न माग गर्दै यसरी देशव्यापी रुपमा ध्यानकर्षण गराइएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
मजदुर संगठनकी केन्द्रिय सदस्य बलादेबी बरुवाल राईले माग पुरा गर्न देशव्यापी दवावमुलक कार्यक्रम अन्तर्गत ध्यानाकर्षण गराइएको वताउनुभयो । राईले पर्वत जिल्लाका सरकारी निकायले आफुहरुका माग सम्वोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
