Correspondent, ParbatNepal
5 years ago
1370
असार १, पर्वत । क्वारेन्टिनमा राख्नको लागि बागलुङतर्फ लैजाँदै गरेको अवस्थामा एक युवाले पोखरा बागलुङ सडक खण्डमा गाडी रोकेको मौका पारेर भीरबाट हाम फालेर आत्महत्याको प्रयास गरेका छन्। भारतबाट आफ्नो घर फर्कदै गरेका बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले बसबाट हाम फालेका हुन । सुनौलि नाका हुँदै नेपाल प्रवेश गरेका उनी कुश्मा नगरपालिका वडा न ८ स्थित चुवाको भिरमा आइपुग्दा बसबाट हाम फालेको प्रहरी निरिक्षण बुद्धि सुवेदीले जानकारी दिए ।
आज बिहान मध्यपहाडी लोकमार्गका पोखरा बागलुङ सडक अन्तर्गत कुश्मा खण्डको चुवा भन्ने ठाउँमा सडकबाट झन्डै ६० मिटर तल हाम फाल्दा गम्भीर घाइते भएका नेपालीको टाउकोमा गम्भीर चोट लागेका कारण पर्वत अस्पतालमा प्राथमिक उपचार गरेपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। उनले मानसिक औषधि पनि सेवन गर्दै आइरहेको प्रहरी निरिक्षण सुवेदीले जानकारी दिए ।
लु २ ख ४२२० नम्बरको बसबाट उनी हाम फालेका हुन । बसमा पर्वत, बागलुङ र म्याग्दीका मानिसहरु घर फर्कदै थिए । उनको उद्देश्य आत्महत्या गर्नु रहेको प्रारम्भि निश्कर्षमा प्रहरी पुगेको छ ।
