Correspondent, ParbatNepal
5 years ago
1889
जेठ २८, पर्वत । पर्वतमा भारतबाट आई क्वारेण्टाइनमा बसेकाको कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाइ भएको छ । क्वारेण्टानईनमा रहेकाहरुले पानी समेत खान नपाएको भनेर रुने गरेका छन् ।
क्वारेण्टाईनमा रहनेलाई विहान र बेलुका खाना खाने बेलामा एक एक बोत्तल पानी दिए पनि अरु बेला पानी नदिँदा समस्या भएको एक क्वारेण्टाईनमा बस्नेले गुनासो गर्नुभयो । प्याकिङ खानाले पेट नभरिएको कतिपयले गुनासो गर्दै आएका छन् ।
झयालबाट पानी छिरेर बिस्तारा रुझेको एक महिलाले गुनासो गर्नुभएको छ । रुझेको बिस्तारमा बच्चा सुताउँदै आएको भारतबाट फर्किएका थापाठानाकी एक महिलाले गुनासो गर्नुभएको छ । सुत्केरी र बच्चा रुझेको बिस्तारमा रात काटेको उनको गुनासो छ । ६ दिनसम्म रिपोर्ट नआउँदा क्वारेण्टाईनको बसाई कष्टकर बनेको क्वारेण्टाईनमा रहनेहरुले बताउने गरेका छन् । क्वारेण्टाईनमा रहनेहरुले आफन्तलाई फोन गरेर रुने गरेको सञ्चारकर्मीलाई खबर आईरहेको छ ।
भारतबाट आई क्वारेन्टाईनमा बसेका एक सय ६७ जनाको कोरोना परिक्षणका लागि स्वावको नमूना पठाइएपनि रिपोर्ट आएको छैन । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गर्ने कुनै छाटकाँट देखाएको छैन । एउटा मात्रै मेशिनले धेरै स्वाव परिक्षण गर्नुपर्ने लाईनमा रहेकाले पर्वतको ढिलो भएको हो ।
पर्वत बाहेक अरु जिल्लाको पनि एक हप्ता सम्म पालो कुरेर बल्ल जाँच भैरहेको स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले बताउनुभयो । उहाँले क्वारेण्टाईनमा रहेकाहरुलाई धैर्य रहन र आफुहरुको व्यस्तता बुझन अनुरोध समेत गर्नुभएको छ ।
