Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

1239




कोरोनाको उपचार पद्दति व्यवस्थितबनाउन कुश्माका युवाद्वारा प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण
कोरोनाको उपचार पद्दति व्यवस्थितबनाउन कुश्माका युवाद्वारा प्रशासन र जनप्रतिनिधिको ध्यानाकर्षण

२७ जेठ, पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोभिड १९ को उच्च जोखिमलाई कम गर्न र भारतसहित तेश्रो मुलुकबाट पर्वत भित्रिने नागरिकको उपचार तथा हेरचाह पद्धतिलाई व्यवस्थित बनाउन कुश्माका युवाहरूले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराएका छन् । उनीहरूले सोमवार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी शम्भु रेग्मीलाई भेटेर कोरोना उपचार पद्दतिलाई व्यवस्थित र प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए । तर आफूहरूले सकरात्मक रूपमा दिएको सुझावलाई सामाजिक सञ्जालमा नकरात्मक ढंगले टिका टिप्पणी गरिएको भन्दै स्थानीय युवाहरुले मंगलबार एक विज्ञप्ती प्रकाशित गरी भ्रमपूर्ण अफवाहको पछि नलाग्न र महामारीविरूद्ध संयम र एकजुट भएर महामारीको सामना गर्न सबै जिल्लाबासीमा अनुरोध समेत गरेका छन् । ‘बाहिरबाट पर्वत आएका नागरिकहरूलाई सदरमुकामका विभिन्न क्वारेन्टाइनमा राख्ने सन्दर्भमा उचित व्यवस्थापनको अभावमा संक्रमण बढ्न सक्ने भन्दै आफूहरुले दिएको सुझावलाई अतिरञ्जित गरेर सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’- विज्ञप्तिमा भनिएको छ ।


विज्ञप्तिमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरु बाहिर बजारमा निस्कने गरेको, सामान किन्न पसल जाने गरेको जानकारीमा आएकोले उनीहरूको लापरवाहीका कारण हुनसक्ने संभावित जोखिमबाट समुदायलाई जोगाउन क्वारेन्टाइनको रेखदेख प्रभावकारी बनाउन र छिटोभन्दा छिटो पिसिआर विधिबाट संक्रमण हो वा होइन पहिचान गरि उपचार पद्दतिमा सुधार गर्न आग्रह गरिएको उल्लेख गरिएको छ ।


युवाहरुद्धारा प्रकाशित विज्ञप्तिमा कोरोनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको र यस घडीमा बाहिरबाट जिल्ला आउने नागरिकको संख्या समेत अधिक रूपमा बढ्नसक्ने भएकाले पिसिआर परिक्षण र कोरोना अस्पताललाई पनि पालिकास्तरमा पुर्याएर सेवा दिन सके राम्रो हुने सुझाव मात्रै दिएकोमा आफूहरूको भनाईप्रति अपव्याख्या भएको उनीहरूको निष्कर्ष छ । विज्ञप्तिको अन्तमा यस महामारीको रुपमा रेहेको कोभिड १९ लाई परास्त गर्न आ–आफ्नो तर्फबाट राज्यका सबै निकायलाई सहयोग गर्न र सबैसँग हातेमालो गर्न आफूहरु सधैं तयार रहेको वताएका छन् ।


उनीहरुद्वारा प्रकाशित विज्ञप्तिको पूर्ण पाठ यस्तो छ -आदरणीय पर्वतबासी सम्पूर्ण आमा, वुवा, दाजुभाई तथा दिदिबहिनीहरु ।
विश्वव्यापी महामारीको रुपमा फैलिँदै गएको कोभिड १९ ले नेपालमा समेत जनजीवन अस्तव्यस्त बनाउँदै लगिरहेको छ । सरकारी पक्षबाट गरिँदै आएको बन्दाबन्दी लगभग साढे दुई महिना पुग्दा समेत हामीले यस महामारीको क्षति अपेक्षा अनुसार कम गर्न र संक्रमण दर न्यून गर्न सकिरहेका छैनौं । हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरु जीवन निर्वाहकै लागि छिमेकी देश तथा तेश्रो मुलुकमा जानुपर्ने बाध्यताका कारण त्यहाँबाट नेपाल भित्रिने क्रममा यो भाइरसले महामारीको रुप लिन गएको हो । यो तीतो यथार्थता हामी विच हुँदाहुँदै पनि उहाँहरुलाई हामीले समयमै देश भित्रिनबाट रोक्यौं । फलस्वरुप आज स्थिति झन् भयानक हुँदै गइरहेको छ । छिमेकी देश तथा तेश्रो मुलुकबाट नेपाल भित्रिनेहरुलाई समयमै भित्राईनुपर्छ र उहाँहरुलाई विना भेदभाव राज्यले कसैलाई काखा, कसैलाई पाखा नगरीकन उद्दार गरिनुपर्छ भन्ने आवाज हामीले उठाइरहेकै छौं ।
कोभिड १९ ले देश मात्रै नभएर विश्व अप्ठ्यारो स्थितीमा परिरहेको सन्दर्भमा घर सम्झिएर हाम्रै साथमा रमाउन भारत तथा तेस्रो मुलुकबाट आउनुभएका दाजुभाई तथा दिदिवहिनीहरुको कोरोना परिक्षण छिटो भन्दा छिटो गर्नुपर्ने राज्यको दायित्व हो । साथै समुदायलाई जोगाउन क्वारेन्टाइनमा राख्न पनि आवश्यक छ । यो महामारीको समयमा राज्यलाई मानवोचित सहयोग पुर्याउनुपर्छ भन्नेमा पनि हामी कटिवद्ध छौं । देशमा हजारौंको संख्यामा आएका हाम्रा दाजुभाइहरुलाई क्वारेन्टाइनमा उपयुक्त वातावरणको अभावमा खानपान, आहारविहारमा ध्यान नदिंदा र उनीहरुलाई आवश्यक हेरविचार प¥याउन नसक्दा क्वारेन्टिनमा बसेकै व्यक्तिहरु बाहिर बजारमा आउने र सामान किन्ने, आफन्तहरु नजिकै गएर केहि सामानहरु छोड्ने, वाहिरका मानिसहरु पनि नजिकै गएर हेर्ने जस्ता व्यवहार भएको सुन्नमा आएकोले त्यसतर्फ ध्यानाकर्षण गराउने काम हामीले गरेका हौँ । त्यस्तै कुश्मामा क्वारेण्टाईनको अभावमा एकै ठाउँमा धेरैलाई कोचेर राख्दा झन जोखिम बढ्न सक्ने भएकाले अन्य पालिकामा पनि पुलिङ क्वारेण्टाईन बनाएर सदरमुकामको चाप लाई बिकेन्द्रित गरौँ भन्ने हाम्रो आशय रहेको व्यहोरा अवगत गराउँछौँ । तर, यो आशयलाई तोडमोड गरी अतिरञ्जीत ढंगले हामीलाई बदनाम गराउने गरि केहि सामाजिक सञ्जालमा प्रचारप्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
हामी हाम्रा दाजुभाइहरुको उचित व्यवस्थापन हुनुपर्छ र सबै पालिकाहरु उत्तिकै जिम्मेवार ढंगले खट्नुपर्छ भन्ने विषय नाजायज हैन भन्नेमा ढुक्क छौँ । जिल्ला सदरमुकाम भएको नाताले कुश्मामा अन्यत्रको तुलनामा अस्पतालको सेवा सुविधा र सुविधा समेत बढी हुनु स्वभाविक हो । त्यो हिसावले यहाँ क्वारेण्टाईन र आइसोलेसन बनाएर शंकास्पद व्याक्तिलाई राख्ने विषयमा हाम्रो कुनै आपत्ती हैन तर उहाँहरुको उचित व्यवस्थापनमा भैहरेको कमजोरी सच्चाउनुपर्छ र क्वारेण्टाईनमा रहने मात्रै हैन बजारबासीहरु पनि सुरक्षित हुने वातावरण स्थानीय तह, जिल्ला प्रसासन, स्वास्थ्य कार्यालय लगायत सरोकारवाला सबैले बनाउनुपर्छ भन्नेमा हामी अडिग छौँ । अन्तमा यस महामारीको रुपमा रेहेको कोभिड १९ लाई परास्त गर्न हामी आ–आफ्नो तर्फबाट राज्यका सबै निकायलाई सहयोग गर्न र सबैसँग हातेमालो गर्न सधैं विगत झैं तयार रहेको कुरा ध्यानाकर्षण गराउन चाहन्छौं ।
हाम्रा देहाय बमोजिमका माग रहेको व्यहोरा अनुरोध गर्दछौँ ।
१ क्वारेन्टाइन असुरक्षित भएकाले सुरक्षित बनाईयोस ।
२ क्वारेन्टाइन मा बसेका व्याक्तिहरु चुरोट गुट्खा किन्न बाहिर आएको भन्ने सुन्नमा आएको हुनाले यो कार्य रोक्नु आवश्यक छ ।
३ क्वारेन्टाइन भित्र रक्सी मासुको अपत भएको र व्यापारीबाट हाताहात पैसा र सामानको कारोवार भएको सुनिएको हुनाले यसमा प्रसासनको ध्यान जाओस ।
४ स्थानीय क्वारेन्टाइनको खाना सप्लायर्स क्याटरिङ र क्वारेण्टाईन व्यवस्थापनमा खटिनेहरुले पीपीई नलागाएको हुनाले उनीहरुको संसर्ग अरु मानिस संग नहोस ।
५ स्वाव परिक्षण भएर संक्रमण देखिएकाहरुलाई आईसोलेसनमा र नेगेटीभ देखिएकोलाई छिटो नै स्थानीय पालिकाहरुमा पठाउनु पर्याे । अन्यथा क्वारेण्टाईनमा आउने अरु निसंक्रमित व्याक्ति जोखिममा हुने खतरा भएकोले यसमा सबैको चासो जानुपर्छ ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)