Correspondent, ParbatNepal
5 years ago
1223
जेठ २६, पर्वत । जलबिद्युत, सिंचाइ र जलयात समेत सञ्चालन गर्न सकिने ८४४ मेघावाट क्षमताको जलासययुक्त कालीगण्डकी बहुद्देश्यीय परियोजना र ५० मेघावाट क्षमताको बेनी कालीगण्डकी जलबिद्युत आयोजनाको अध्ययनलाई सरकारले बजेट बिनियोजन गरेको छ ।
सरकारले यस बर्षको बजेटमा पर्वत, बागलुङ्ग र गुल्मी जिल्लामा निर्माण हुने कालीगण्डकी बहुउद्देश्यीयको परियोजनाको बिस्तृत सर्बेक्षण र बेनी–कालीगण्डकी जलबिद्युत आयोजनाको अध्ययनका लागि बजेट बिनियोजन गरेको छ।
कालीगण्डकी बहुउद्देश्यीय परियोजनाका लागि ६ करोड ९२ लाख ९७ हजार र बेनी –कालीगण्डकी जलबिद्युत आयोजनाका लागि ३९ लाख ९४ हजार बजेट बिनियोजन भएको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको प्रारम्भिक सर्बेक्षण सम्पन्न गरेको छ । पर्वतबासी र गण्डकी तथा प्रदेश नं ५ को आर्थिक मेरुदण्ड बन्न सक्ने कालीगण्डकी बहुद्देश्यीय परियोजना र पर्वत र म्याग्दीका जनता लाभान्वित हुने बेनी–कालीगण्डकी जलबिद्युत आयोजनाको बिकासका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तरको पहलपछि बजेट बिनियोजन भएको हो । ‘अध्यक्ष तिमिल्सनाको पहलमा बजेट बिनियोजन भएको हो’ मन्त्रालय स्रोतले भन्यो ‘दुबै परियोजना निर्माण भएपछि नेपालको जलस्रोत क्षेत्रमा ठुलो फड्को मार्नेछ ।’
प्रदेश नं ४ र ५ कै सबैभन्दा ठुलो जलबिद्युत परियोजनाको रुपमा बन्न सक्ने कालीगण्डकी बहुउद्देश्यी परियोजनाको बिस्तृत संभाब्यता अध्ययन गर्दै परियोजना अघि बढाउन राष्ट्रिय र स्थानियस्तरमा तीब्र लबिङ्ग भैरहेको छ । कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट कालीगण्डकीको तटिय क्षेत्रको बिकास हुने भएकाले परियोजना अघि बढाउन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीना, पर्वत र बागलुङ्गबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने साँसद देखि तटीय क्षेत्रका ६ वटा स्थानिय सरकारले लबिङ्ग गर्दै आएका छन । फलेबास नगरपालिकामा पदमपाणी शर्मा मेयर निर्वाचित भएपछि पहिलो बैठकबाटै परियोजना बढाउने निर्णय गरेका थिए ।यो परियोजना अघि बढेमा पर्वत, बागलुङ्ग र गुल्मीको ठुलो भूभागमा पर्यटन, सिंचाई र यातयातका क्षेत्रमा छलाङ्ग मार्ने बिश्वास स्थानियको छ ।
नेपाल बिद्युत प्राधिकरणले २०५२ सालमा गरेको प्रारम्भिक अध्ययनका अनुसार कालीगण्डकी बहुउद्देश्यीय परियोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ भने कालीगण्डकी किनारका हजारौ हेक्टर फाँटहरुमा सिंचाई सुबिधा दिन सकिन्छ । यसबाहेक जलासयमा झण्डै ६० किलोमिटर क्षेत्रमा जलयातयात सञ्चालन गर्न पनि सकिने अध्ययनबाट देखिएको छ । कालीगण्डकी नदीमा पर्वतको बिहादी गाउँपालिका १ बाच्छा र बिहादी तथा बाग्लुङ्गको जैमुनी नगरपालिका वडा नं ८ छिस्तीको बिचमा कालीगण्डकी नदीमा १ सय ४५ मिटर अग्लो उच्च बाँध बाँधेर ८ किलोमिटर सुरुङ्गबाट बिहादी गाउँपालिकाको वडा नं ६ गोलाङ्गमा बिद्युत गृह बनाउन सकिन्छ । यसरी जलासययुक्त आयोजनाबाट १ हजार मेघावाट बिद्युत उत्पादन गर्न सकिन्छ ।
