Correspondent, ParbatNepal
5 years ago
1287
जेठ २६, पर्वत । पर्वतको फलेवास नगरपालिका १० कुर्घामा गतवर्ष देखि शुरु भएको मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत भैरहेका गतिविधिका बारेमा कृषि ज्ञान केन्द्र पर्वतले अनुगमन गरेको छ । गत वर्षबाट शुरु भएको कार्यक्रमले पारेको प्रभाव र चालु वर्षका कार्यक्रमको बारेमा कृषकहरु संग अन्तरक्रिया गरिएको छ ।
ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मी सहित कृषि प्राविधिकहरुले फिल्ड अनुगमन गरि भैरहेका कामहरुको बारेमा छलफल गरेका छन् । कृषकहरुले गतवर्ष ढिलो कार्यक्रम स्विकृत भएका कारण काम गर्न नै अलमल भएको र यो वर्ष लकडाउनका कारण अपेक्षित रुपमा काम गर्न समस्या भएको बताएका छन् ।
यद्यपी गतवर्ष ४० वटा टनेल निर्माण गरिएको, ५० वटा भकारो सुधार, २० वटा बाख्राको खोर सुधार गरिएको, अलैँचीका विरुवा वितरण, घाँस र तरकारीको बंगैचा स्थापना लगायतका कार्यक्रम भने सम्पन्न भएको मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रमका संयोजक उमाकान्त शर्माले बताउनुभयो । चालु वर्ष पनि टनेल बिस्तार, सिँचाई पोखरी निर्माण, घर रंगरोगन, थोपा सिँचाई, ईलेक्ट्रिक स्पेयर खरिद, बाँकी घरमा भकारो सुधार, प्राविधिक तालिम लगायतका कार्यक्रम रहेको शर्माले बताउनुभयो ।
शुक्रवारदेखी किसानहरुलाई आवश्यक पर्ने तालिम पनि शुरु भएको छ । हराभरा सामजिक महिला जागरण कृषि सहकारी संस्था गठन गरि समूह मार्फत तरकारी खेती, पशुपालन, दुग्ध उत्पादन लगायतका कार्यक्रम नमूना गाउँमा सञ्चालन गरिएको सहकारीका अध्यक्ष शोभा क्षेत्रीले बताउनुभयो । गण्डकी प्रदेश सरकारले शुरु गरेको यो कार्यक्रम मार्फत किसानहरु बाँझो जमिनको उपयोग गर्ने, आधुनिक रुपमा खेती गर्ने र आम्दानी गर्ने बाटोमा रहेको क्षेत्रीले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सरकारले बनाएको मापदण्डको परिधीमा रहेर काम गर्न अनुरोध गर्नुभयो । कृषि ज्ञान केन्द्रले निरन्तर रुपमा अनुगमन गर्दै जाने र आवश्यक परामर्श दिने भएकाले किसानहरुलाई आवश्यक पर्दा सम्पर्क गर्न पनि रेग्मीले अनुरोध गर्नुभयो । कोरोनाले खेतीपातीको महत्व बढाएको बताउँदै रेग्मीले उत्पादनमा ध्यान दिन जोड दिनुभयो ।
