Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2519




कालीगण्डकी लोकमार्गको कुश्मा मिर्मी खण्डको काम धमाधम
कालीगण्डकी लोकमार्गको कुश्मा मिर्मी खण्डको काम धमाधम


माघ १० पर्वत - उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको कुस्मा–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोल्ने कार्य सकिने भएको छ । लोकमार्गकोे मिर्मी–कुस्मा खण्डमा पर्वतको मुडिकुवादेखि अर्मादी र स्याङ्जाको मोहनडाँडादेखि मिर्मीसम्मको थोरै भूभागमा बाँकी रहेको ट्र्याक खोल्ने काम असारसम्ममा नै सक्न लागिएको हो । 


लोकमार्गको मिर्मी–कुस्मा खण्डमा झण्डै दुई किलोमिटर मात्रै सडकमा ट्र्याक खोल्न बाँकी रहेको छ । भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने गैँडाकोट–मिर्मी–फलेवास–जोमसोम–कोरल्ला सडक ३ सय ७७ किलोमिटर लामो छ । सेतीवेणी–मिर्मी खण्डमा पर्ने पिँडीखोलाको ठूलोखोलादेखि मिर्मीसम्मको सय मिटर कठिन पहरोमा ट्र्याक खोल्न बाँकी छ भने पर्वतको मोदीवेणीदेखि अर्मादीसम्म मात्रै डेढ किलोमिटर ट्र्याक खोल्नका लागि काम भइरहेको छ । मोदीवेणी र मोहनडाँडा मिर्मी खण्डको पहरोमा ट्र्याक बनाउन विस्फोटन गर्नुपर्ने आवश्यक भएकाले नेपाली सेनाको सहयोग लिनुपर्ने देखिएको छ । 


लोकमार्गमा कालीगण्डकी पश्चिममा पाल्पा–गुल्मी–बागलुङ खण्डमा सडकको अधिकांश ट्र्याक नेपाली सेनाले खोलेको छ भने विभिन्न खोलामा बेली ब्रिज बनाउने कामसमेत सम्पन्न गरिसकेको छ । पर्वत खण्डमा भने ठेकेदारले समयमा काम नगर्दा गत वर्ष नै ट्र्याक खोल्ने भनिए पनि अझै काम हुन सकेको छैन । अहिले फलेवास नगरपालिकाको मुडिकुवादेखि अर्मादी खण्डमा ट्र्याक खोल्ने काम भइरहेको छ । 


मोहनडाँडादेखि मिर्मीसम्म विस्फोटन गर्नुपर्ने भएकाले सेनाले सहयोग नगरेसम्म काम अधुरै छ । आयोजना कार्यालयका अनुसार फलेवासदेखि अर्मादीसम्मको सडकको ट्र्याक खोल्ने काम असारसम्ममा सक्ने लक्ष्य छ । रानीपानीदेखि फलेवाससम्मको २२ किलोमिटर सडक चक्लाबन्दी गरी ग्राभेल स्ट्याण्डर्डको बनाउन टेण्डर आह्वान भइसकेको छ । त्यसका लागि रू. ३९ करोड ३० लाख बजेट विनियोजन भएको छ । 


अहिले पनि मोदीखोला, लमायखोला र सेतीखोलामा पक्कीपुल निर्माणका लागि काम शुरु भएको छ भने आँधीखोलामा पुल निर्माणका लागि टेण्डर आह्वान गर्न अन्तिम चरणमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । कालीगण्डकी लोकमार्गको पर्वत–मिर्मी खण्ड जम्मा ५५ किलोमिटर छ भने बागलुङ–गुल्मी–पाल्पा खण्ड योभन्दा झण्डै ३० किलोमिटर बढी छ । पर्वत खण्डमा समयमा पुल र सडकको काम सक्ने हो भने उत्तर दक्षिण आउने सवारी साधनले यही मार्ग प्रयोग गर्ने छन् ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)