Correspondent, ParbatNepal
5 years ago
1200
जेठ ९, पर्वत । पर्वतको विहादी गाउँपालिकामा लकडाउनको बेला व्यापारीले दैनिक उपयोग्य वस्तुको मुल्य बढाएको स्थानीय उपभोक्ताहरुले गुनासो गरेका छन् । दैनिक उपभोग्य बस्तुहरु दाल, चामल, तेल , चिनी लगायतका बस्तुहरुको मुल्य साविकको भन्दा १० देखि ५० रुपैयाँ सम्म बढाएको गुनासो छ ।
चाउचाउ, विस्कुट, आटा, चिउरा समेतको मुल्य आकासिएको छ । व्यापारीहरुले विषम परिस्थीतीमा ढुवानी गरिएको र ढुवानीमै बढि मुल्य तिर्नुपरेकाले उपभोक्तालाई बजार मुल्यमा सामान दिन नसकेको बताउने गरेका छन् । एक उपभोक्ताले आफुहरु ठगिएको भन्दै वडा देखि गाउँपालिका सम्म गुनासो गरेको जानकारी दिनुभयो । रानीपानीका एक उपभोक्ताले नाम नवताउने सर्तमा वडा र पालिकाले उपभोक्ताले गुनासो गर्दा पनि सुनुवाई नगरेको गुनासो गर्नुभएको छ ।
मूल्यसूची नराखीकन व्यापारीले सामान बेच्दै आएको उनले जानकारी दिए । गाउँपालिकाले अनुगनमन नगरेको पनि उपभोक्ताले बताएका छन् । लकडाउनका कारण धेरैले रोजगारी र आम्दानी गुमाउँदै गएका छन् । यहि बेला दैनिक उपभोग्य बस्तुमा भएको मुल्य बृद्धिले थप समस्या भएको स्थानीयले दुखेसो गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकामा प्रमाण सहित गुनासो गरेमा आफुखुशी मुल्य बढाउने व्यापारीलाई कानुन अनुसार कारवाहि हुने बताउनुभएको छ । आफुलाई मौखिक रुपमा गुनासो आएको भन्दै भुसालले मौखिक गुनासोलाई प्रमाण मान्न नसकिने तर विल सहित आएमा आफुहरुले मुल्य बृद्धि गर्नेलाई कारवाहि गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
