Correspondent, ParbatNepal
6 years ago
1310
बैशाख २२, पर्वत । सरकारले चैत महिनाको घरभाडा नलिन आग्रह गरेपनि पर्वतमा भने घरधनीले भाडा छुट नदिएको गुनासो बढ्न थालेको छ । घरधनीहरुले सरकारले छुट दिन भनेपनि छुट नदिएको भन्दै प्रायजसो व्यवसायीहरुले गुनासो गर्दै आएका छन् ।
सटर र कोठा भाडामा लिएर पसल सञ्चालन गर्दै आएका व्यवसायीहरुले लकडाउनको अवधिमा एक रुपैयाँ पनि व्यापार नभएपनि घरधनीलाई भाडा तिरेको बताएका छन् । सरकारले स्थानीय तहलाई घरभाडा छुट भए नभएको अनुगमन गर्न स्थानीय तहलाई भनेको छ । तर अहिले सम्म स्थानीय तहले अनुगमन सयन्त्र बनाएका छैनन् । अनुगमन सयन्त्र नहुँदा घरभाडाको विषयमा गुनासो सुनाउन नपाएको घरभाडामा बस्नेहरु बताउँछन् । घरमा बस्ने देखि पसल भाडामा लगाएकाहरुलाई भाडा छुट गर्न गत चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले आग्रह गरेको थियो ।
बैठकले घरभाडा मिनाहा गर्ने घरभेटीको घर बहाल करसमेत छुटको घोषणा गरेको थियो । कतिपय घरबेटीले सामाजिक सञ्जालमार्फत नै आफूले भाडा नलिने उद्घघोष गरेपनि पर्वतमा घरभाडा नलिने घोषणा गर्ने कम मात्रै छन् । अच्चमको कुरा त सरकारी उच्च तहका कर्मचारी र उद्योग वाणिज्य संघका पदाधिकारीहरुले नै धमाधम भाडा असुलेका छन् ।
पर्वत उद्योग वाणिज्य संघले व्यवसायीहरुको भाडा नलिन सरकारले गरेको निर्णय कार्यान्वयन गराउन कुनै भूमिका नखेलेको गुनासो गर्छन । उद्योग वाणिज्य संघका पदाधिकारीहरु नै घरभाडा असुल्न हानथाप गरिरहेकाले मर्कामा परेको भन्दै संघमा पुग्न सकेका छैनन् । प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले सरकारले भाडा छुटको निर्णय गरे अनुसार आफुहरुले घरधनीलाई छुट दिन अनुरोध मात्रै गर्न सक्ने स्थितीमा रहेको बताउनुभयो ।
नैतिकताको ख्याल गर्नेहरुले छुट दिएपनि अटेर गर्नेलाई केहि भन्न नसकिने प्रजिअ नेपालले बताउनुभयो । स्थानीय सरकारले यसबारेमा अनुगमन गर्ने भएकाले प्रसासनले क्षेत्र अधिकार मिचेर केहि गर्न नमिल्ने जिल्ला प्रसासन कार्यालयले जनाएको छ ।
