Correspondent, ParbatNepal
6 years ago
1716
चैत्र २६, पर्वत । लकडाउनका कारण दैनिक काम गर्न नपाउँदा समस्यामा परेका मजदुर तथा अति बिपन्न परिवारका लागि राहत बितरण कार्य पर्वतमा स्थगित भएको छ । राहत लिनेको भीड बढ्न थाल्दा कोरोनाको संक्रमण फैलिन सक्ने जोखिम बढेपछि पर्वतका स्थानिय तहले केही समयका लागि राहत बितरण स्थगित गरेका हुन । पर्वत जिल्लाका सात वटा स्थानिय हले पहिलो चरणमा झन्डै १ करोड ६६ लाख रुपैयाँ बराबारको खाद्यान्न वितरण गर्न लागेका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्वतको अनुरोधपछि राहत बितरण शुरु गरेकाले स्थागित गरेका छन भने बितरण शुरु गर्न लागेका स्थानिय तहले केही समय ढिलाई गर्ने निर्णय गरेका हुन । जिल्ला प्रशासन कार्यालयले चैत्र २४ गते सबै पालिकालाई पत्र पठाउँदै सरकारले अन्तर जिल्ला तथा अन्तरपालिकास्तरमा समेत आवतजावत बन्द गर्ने निर्णय गरेको सचेत गराउँदै धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको पर्वत कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै तयारी अबस्थामा रहन अनुरोध गरेको थियो । राहत बितरण गर्दा पनि सामाजिक दुरी कायम गरेर मात्रै बितरण गर्न पत्राचार गरेको छ ।
जिल्ला प्रशासनले पत्र पठाउँदा अनुरोध गरे पनि अनौपचारिक रुपमा स्थगित गर्न नै भनेको थियो । प्रशासनले अनुरोध गर्दा महाशिला र बिहादी गाउँपालिकाले राहत बितिरण गरिसकेका थिए भने मोदी गाउँपालिकाले बितरण गरिरहेको थियो । कुस्मा र फलेबास नगरपालिका तथा जलजला र पैंयु गाउँपालिकाले शुरु गर्ने तयारीमा भएपनि केही समय पछि राहत बितरण गर्ने योजना बनाएका छन । हाल सम्म बिहादीले ५ सय ३७ घरधुरी, महाशिलाले १ सय ८१ र मोदीले १ सय ३२ घरधुरीलाई राहात बितरण गरिसकेका छन भने जलजलामा १ सय १० घरमा तरकारी बितरण गरिएको छ ।
कुस्मा नगरपालिकाले बैषाखको शुरुवातबाट मात्रै बितरण गर्ने मोटामोटी सहमति गरेको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बताउनुभयो ।
