कुश्मा नगरपालिकामा राजनीतिक लडाई, एमालेको दम्भले बजेट रोकियो
    11 months ago     136
कुश्मा नगरपालिकामा राजनीतिक लडाई, एमालेको दम्भले बजेट रोकियो

पर्वत । स्थानीय तहले असार २५ गतेभित्रमा स्थानीय तहको बजेट पेश गरिसक्नुपर्ने भएतापनि पर्वतको कुश्मा नगरपालिकामा भने हालसम्म त्यसो हुन सकेको छैन् । मन्त्रालयले नमुना कार्यविधि जारी गरेर सो का आधारमा नगरपालिकाले बजेट पेश गर्नुपर्ने उल्लेख गरेतापनि कुश्मा नगरपालिकामा भने बजेट अलपत्र परेको छ । सात÷सात पटक बैठक बसेतापनि नगर कार्यपालिकाका पदाधिकारी बिच राजनीतिक लडार्इंका कारण बजेट अलपत्र परेको हो । कार्यविधिमा उल्लेख भएअनुसार वार्षिक आय र व्ययको अनुमानसहितको बजेट तथा सम्बन्धित विनियोजन वा आर्थिक विधेयकहरू अध्यक्षबाट निर्धारित मिति र समयमा सभाको बैठकमा प्रस्तुत गर्नुपर्नेछ । ‘वार्षिक बजेट तथा अर्थसम्बन्धी विधेयक वा प्रस्ताव कार्यपालिकाको प्रमुख आफैंले वा निजले तोकेबमोजिम उपाध्यक्षरउपप्रमुख तथा कार्यपालिकाको सदस्यले मात्रै प्रस्तुत गर्नुपर्नेछ,’ कार्यविधिमा भनिएको छ । कार्यविधिमा स्पष्ट उल्लेख व्यवस्था भएतापनि एमालेले भने कार्यविधि पास हुन दिन दिएको छैन् ।
नगरपालिकामा मेयर र उपमेयर कांग्रेसले जितेतापनि कार्यपालिकामा भने एमालेको बहुमत रहेको छ । बहुमतको आडमा एमालेले मन्त्रालयको कार्यविधि पास हुन रोकेको हो । कार्यविधिले मेयरलाई बढि अधिकार दिएको भन्दै एमालेका प्रतिनिधिहरुले विरोध गरेको कांग्रेसका पदाधिकारीको आरोप छ ।
एमालेको दम्भले बजेट रोकियो
स्थानीय विकास मन्त्रालयले लागु गरेको कार्यविधिलाई एमालेले पास गर्न दिएको छैन् । बहुमत भएको कारण नगर प्रमुखलाई बढि अधिकार दिन नसक्ने एमालेको अडान रहेको बुझिएको छ । नगर कार्य संचालन नियमावली–२०७४ मा उल्लेख भएको अधिकार कटौती गर्न मिल्दैन । १७ सदस्यीय कुश्मा नगरपालिकामा नेपाली काँग्रेस प्रमुख र उपप्रमुखसहित सात जना र नेकपा एमालेका १० जना सदस्य छन् । उक्त कार्यविधि देशभरि लागु भएपनि कुश्मानगरपालिकामा भने एमाले प्रतिनिधीले लागु गर्न नदिने अडान लिँदा बजेटवारे छलफल नै हुन सकेको छैन । कुश्मा नगरपालिकाको कार्यपालिका सहित बहुमत सदस्य एमालेले जितेको र काँग्रेसले प्रमुख, उप प्रमुख सहितका अल्पमत सदस्य जितेको थियो । ‘सात पटक बैठक बसिसक्यौँ, उहाँहरुले मन्त्रालयको कार्यविधिलाई नै लत्याउन खोज्नु भएको छ,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘कार्यविधि पास गरौँ अनि बजेट पास गरौँ भन्दा बहुमतले जानुपर्छ भनेर उहाँहरुले अडान लिनुभएको छ ।’ प्रत्येक पटक सहमतिको वातावरण तयार गरि समाधान गर्नतर्फ भन्दा पनि एउटै अडानका कारण बजेट पेश गर्न नसकिएको जोशीको भनाई छ । जिल्लाका अन्य छ वटा स्थानीय तहमा मान्य हुने कार्यविधि कुश्मानगरपालिकामा कार्यान्यवन गर्न नदिएर विकास रोक्नु नियमसंगत नहुने उनले बताए । सहमति कायम गर्न दिनहुँ छलफल गरिरहेको उनको भनाई छ ।
बहुमतीय प्रक्रियामा जाऔँ
उता कार्यपालिकामा बहुमत पाएको एमालेले अघिल्लो बैठकमा बहुमतीय प्रक्रियामा जाने बताएतापनि अहिले भने त्यस विषयमा नबोल्ने बताएको छ । ‘अन्यत्र के छ हामी जान्दैनौ तर कुश्मामा बहुमतले गर्ने निर्णय मान्नुपर्छ’ कुश्मा–६ का वडा अध्यक्ष रुद्र गिरीले भने । तर, अहिले भने आफू यस विषयमा नबोल्ने र छलफलको तयारी गरिरहेको बताए । लोकतन्त्रको अर्को पक्ष भनेको बहुमतीय प्रक्रिया पनि हो, त्यसमै जाउँ भन्दा कांग्रेसले अनावश्यक अडान लिएको एमाले पक्षधर पदाधिकारीको आरोप छ ।
कर्मचारीको तलब पनि अन्योलमा
नगरपालिकाका कार्यकारी अधिकृत हिरामणी सुवेदीले कर उठाउनका लागि अघिल्लो वर्षकै नीति पारित गरेपनि आर्थिक ऐन, बजेट बिनियोजन बिधेयकसहित कानुनहरु पारित नहुदा प्रशासनिक खर्चमा समस्या आउन थालेको बताए । ‘प्रशासनिक खर्च समेत गर्न सकिएको छैन, यस्तै अवस्था लामो समयसम्म रहे कर्मचारीले तलब समेत खान पाउदैनन्’ उनले भने ।

सम्बन्धित समाचार ( राजनीति)