Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

2 years ago

674




मौरीपालनमा रमाउँदै बाच्छाका उत्तम परियार
मौरीपालनमा रमाउँदै बाच्छाका उत्तम परियार

जेठ १६, पर्वत । गाउँमा आम्दानी र रोजगारीको सम्भावना नदेखेर बाहिरिने रहर भएकाहरूलाई गतिलो जवाफ बनेका छन् बिहादी गाउँपालिका १ बाच्छाका ३० वर्षीय उत्तम परियार । विपन्न परिवारका उनले जाँगर, सीप र निरन्तरको संघर्षपछि गाउँमै आफूलाई सफल किसानका रूपमा उभ्याएका छन् ।


उनले अहिले गाउँमै मौरीपालनबाट वार्षिक साढे ४ लाखसम्म आम्दानी गरिरहेका छन् । करिब एक दशक सदरमुकामका विभिन्न विकासे संस्थामा काम गर्दा जानेको मौरीपालनको सीपमा घर फर्किएर उनले लगानी बढाएका हुन् । ‘जागिरे हुँदा कमाएको केही पैसाले सुरुमा ५ वटा घार किनेर पाल्न सुरु गरेको हुँ,’ उनले भने, ‘त्यसको दुई वर्षपछि कृषिले १ लाख ८० हजार अनुदान दियो । अनुदानले धेरै हौसला मिल्यो ।’ घार बढाएर उनले ३० वटा पुर्‍याएका छन् । अहिले उनको आँगन र बारीभरि मौरीका घार छन् । उनले मौरीपालनबाट मह मात्रै होइन संख्या थप्दै घार पनि बेच्न थालेका छन् । २६ घारबाट उनले चालु वर्ष १ क्विन्टल मह बिक्री गरिसके । ‘यो पटक महबाट १ लाख १० हजार आम्दानी भयो । घार बेचेर ५४ हजार हात पारियो,’ उनले भने, ‘अब १० घार बिक्री हुँदै छन् ।’ मह प्रतिकिलो १ हजार १ सय रुपैयाँमा बिक्री हुन्छ । मौरीसहितको घार एउटाको ९ हजारमा किन–बेच हुन्छ । सबै हिसाब गर्दा बर्सेनि आम्दानी ३ लाखबाट नघट्ने उनी बताउँछन् ।


गत वर्षदेखि दिउँसोको समय वडा कार्यालयमा कार्यालय सहयोगीको काम पनि गर्न थालेका उनी बिहान–बेलुका मौरीको स्याहारमै व्यस्त हुन्छन् । मौरीपालन गर्नेले वरपर आउने शत्रु कीरा नियन्त्रण, झारपात गोडमेल र विभिन्न आक्रमणबाट जोगाउन हेरालु बस्न जान्नुपर्ने उनले बताए । उनी नहुँदा पत्नी इन्द्रा मौरीको हेरालु हुन्छिन् । उनले कुकुर पालेका छन् । ‘मौरीघरको सबैभन्दा ठूलो शत्रु खुदेकीरो ९मलसाँप्रो० हो । त्यसबाट जोगाउन कुकुर नपाली हुन्न,’ इन्द्राले भनिन् ।


पछिल्लो समय गाउँका मानिस बसाइँसराइ गर्न थालेपछि भने उनलाई मौरीपालनमा समस्या बढेको छ । बस्ती कम भएपछि खेतबारी बाँझिने, सिजन अनुसारका फूल र तोरीलगायतका बाली गाउँघरमा कम हुँदा खडेरीका बेला मौरीको आहारा कम हुन्छ । गाउँ वरपर सिजन अनुसारका फलफूल, फूल, बाह्रैमहिना तोरी र मूलालगायत फूलजन्य बाली भए मौरीका लागि सहज हुने उनी बताउँछन् ।


‘युवाको सम्भावना र क्षमता अनुसारको सीप दिएर प्रोत्साहन अनुदान दिए विदेश जान कसलाई मन लाग्दो होला,’ उनी भन्छन्, ‘युवा पलायन रोक्न कृषिमै आधारित आयआर्जनका कार्यक्रम प्रभावकारी हुन्छन् ।’ यसका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले युवा किसान विशेष नीति बनाउनुपर्ने उनले बताए । उनको व्यवसायलाई वडा कार्यालयले पनि प्राविधिक र आर्थिक सहयोग गर्दैआएको वडा सचिव सुमन गौंडेलले बताए ।साभारः कान्तिपुर दैनिकवाट

सम्बन्धित समाचार (विहादी गाउँपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)