सेतीवेणी, जहाँ कालीगण्डकी हिँड्न थाल्छिन् (पत्रकारको डायरी)
    5 months ago     39
सेतीवेणी, जहाँ कालीगण्डकी हिँड्न थाल्छिन् (पत्रकारको डायरी)

-विशन क्षेत्री,

हिमालपारीको जिल्ला मुस्ताङ्ग, त्यहिँ रहेको मुक्तिनाथ र मुक्तिनाथमा जन्मिएकी कालीगण्डकी । धार्मिक स्थलमा जन्मिएर धार्मिक स्थल नै प्रसिद्ध गराउँदै हिँड्ने कालीगण्डकीको बानी । हो, प्रकृतिलाई अझै सुन्दर बगाउँदै कहिले भयंकर त कहिले शान्त भएर बगेकी छन् कालीगण्डकी ।
धार्मिक स्थललाई पवित्र बनाएर बहने पवित्र कालीगण्डकी । कालीगण्डकी छोए पनि पवित्र । उनकै पासमा रहेका कैयन् धार्मिक स्थल । र ती मध्येको एक सेतीवेणी जहाँ कालीगण्डकी हिँड्न थाल्छिन् । गण्डकी अञ्चलको स्याङ्गजा, धौलागिरीको पर्वत र लुम्बिनीको गुल्मी अर्थात तिन अञ्चल तिन जिल्लाको सीमाना छुट्याउने कालीगण्डकीको काखमा रहेको सेतीवेणी । त्यहाँबाट सात किलोमिटर तल मिर्मीको ड्याम ।
दक्षिण तर्फ स्याङ्गजाको मिर्मी लगायतका सुन्दरबस्ती । कालीगण्डकीलाई साथ दिँदै उत्तरपूर्वबाट आएको सेतीखोला । उत्तर मुक्ती नाथबाट बग्दै आएकी कालिगण्डकी । एक देखि अर्को जिल्ला मात्र नभई जल देविहरुको समेत स्पर्श गर्दै अँगालो मार्ने स्थान ।
पूर्वतर्फ स्याङ्गजाको पिँडिखोला र आँधीदोभान गाविसका खोँच र लहराले बेरिएका पहरा, पश्चिममा पर्वतको शालिग्राम, रानीपानी र बर्राचौर गाविसको मनोरम बस्ती । उत्तर तर्फ बाग्लुङ्गको फिस्टे, जैदी लगायतका गाउँहरु र यता पश्चिम तर्फ गुल्मीको हर्मीचौर, अर्वेनी, जयखानी, उत्तर तर्फ खड्गकोट, भुर्तुङ्ग, फोक्सीङ्ग गाविसको हरियाली नियाल्दा मन रमाउँछ । त्यस मार्थी मिर्मीको निरिह तालले मन त्यतै कतै नहराउने त कुरै भएन् । साँच्ची नै प्राकृतिक उपासकहरुका लागि त्यो स्थान स्वर्गिय आनन्द प्राप्त हुने थलो नै रहेछ ।
नेपालमा जति प्राकृतिक सुन्दरता छ त्यति नै त्यसको प्रचार–प्रसार हुने हो भने विकासित मुलुकका मानिसहरुका लागि पनि नेपाल सपनाको देश बन्न सक्छ भन्ने अनुभुत गरियो त्यहाँ पुग्दा । जस्तै निर्जन मानिसको मनमा पनि अनुभुति जगाउन सक्ने ठाउँ ।
पर्वत सदरमुकाम कुश्माबाट दिउँसो तिर बिना योजना गरिएको सेतीवेणी भ्रमण । कामलाई दुईदिनको म्याद राखेर स्थानीय सञ्चारमाध्यम देखि लिएर राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत सहकर्मीहरुको साथमा हानिएको छ जना पत्रकारको टोली ।
मोटरसाईकल यात्रामा नचिनिने भएको ज्यान र धुलोलाई बेवास्ता गर्न बाध्य बनाईदियो सेतीवेणीले । गुल्मी तर्फको खिच्ने की स्याङ्गजा, पर्वत वा वाग्लुङ्ग तर्फको दृश्य ? सवै लोभ लाग्दो ।
वर्षेनी हज्जारौँको संख्यामा सेतीवेणी मानिस किन हानिन्छन्, त्यसको उत्तर त्यहाँ गएपछि स्वत मिल्यो ।
किन जान चाहन्छन्, नेपालीहरु धर्म–कर्मका लागि भारतका विभिन्न स्थानहरुमा तिर्थ यात्रा ? किन हिडछन् सम्भ्रान्त नेपालीहरु विकासित मुलुकहरुमा लाखौ खर्चेर भ्रमण ? किन जान्छन युवा युवतीहरु जहाँ पायो त्यही डेटिङ्ग ? सायद नजिकको तिर्थ हेला भनेको यहि हो । यस्तै यस्तै सवाल उठायौं र सञ्चार माध्यमले व्यापक प्रचार–प्रशार गर्नु पर्नेमा जोड दियौं ।
विश्वकै ठुलो शिला शालिग्रामलाई हेर्दै त्यहाँका स्थाीयहरु सँग त्यसको बारेमा जोडिएका कुराहरु संक्षिप्तमा सोध्र्यौँ, उनीहरुले भने, ‘यो शिला सामान्य घर जत्रो छ । यसलाई लौकिक दैवीशक्ति भएको शिला मानिने गरिएको छ । यसलाई शालिग्रामको रूपमा पनि मानिएको रहेछ । यस धार्मिक स्थलमा विशेषतः वैशाख, हरिबोधनी एकादशी र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्दोरहेछ ।’


नजिकै आएको एकादशी मेलाको बारेमा त्यहाँका भुराभुरीहले ‘एकादशी मेलैमा, झरे बेलैमा’ बोलको गीत गाएको पनि सुनियो ।
सेतीवेणीमा शिलाको विशेष प्रवद्र्धनका लागि खासै पहलकदमी चालिएको भने देखिएन, त्यहाँका व्यक्तीहरुले बरु लगानी गरेर सेतीवेनीमा जल यातयात (स्टिमर ) सेवा सञ्चालन गरी जन सेवा र पर्यटक भित्राउने काम गरेका छन्’– शिला शालिग्रामका पुजारी हरि पराजुलीले भने – ‘तर सरकारी निकायबाट यहाँको विकासका लागि खासै पहल हुन सकेन् । ’
पण्डित पराजुलीको भनाइमा वि.सं. २०१८ सालतिर यो विराट शिलालाई छोपेर कालीगण्डकीमा ठूलो बाढी आएको थियो । त्यसपछि त्यति ठूलो बाढी कालीगण्डकीमा आएको छैन । यसवर्ष चाहिँ बाढीले विराट शिलाको परिक्रमास्थल नै भताभुङ्ग पारेको र यसको छिटै जीर्णोद्वार हुनुपर्ने बताए । जीर्णोद्वारको जिम्मा कालीगण्डकी परियोजनाले लिएको र चाँडै नै शिलाको दीगो रुपमा रहने गरि मर्मत गर्ने आश्वासन दिएको उनले बताए ।
उक्त स्टिमर सेवा सञ्चालन गर्ने कालिगण्डकी जल यातयात प्रा.लि.का अध्यक्ष टिकाराम कुँवरसंग सम्पर्क राख्दा उनले स्टिमर बृद्धी गर्नका लागि सालको काठ महंगीएकोले समस्या आएको बताए । ‘अन्यत्रको सालको काठले हुँदैन तराईका ठुला ठुला साल चाहिन्छ’– उनले भने –‘राज्यबाट अनुदान छैन् कर मात्रै तिर्ने गरेका छौ ं ।’
पाँचवर्ष अघि एउटा स्टिमर १९ लाखमा वनाईएको उनले बताए । त्यसको प्रधान कार्यालय स्याङ्गजाको कृष्ण कालिगण्डकी गाविस वडा नम्वर ८, आँधीदोभान टोलमा रहेको छ । जहाँ स्याङ्गजा, पर्वत, वाग्लुङ्ग र गुल्मीका स्थानियवासीले् दैनिक आवत जावत गर्छन भने ईजरायल, कोरिया, ईटाली जापन, जर्मन लगातगका विदेशी पर्यटकहरु आउने गर्दछन् ।
२०४८ सालबाट सुरु गरिएको उक्त परियोजना २०५८ सालमा सम्पन्न भएको थियो । २०५९ सालमा डेढ करोड लागतमा हातले चलाउने ११ वटा डुङ्गाबाट तिन जिल्लाका मानिसहरुलाई आवत जावत सेवा पुराउँदै आएको उक्त प्रा.लि.ले अहिले भने स्टिमर सञ्चालन गरेर विदेशी पर्यटकहरु भित्राउन सफल भएको अध्यक्ष कुँवरले बताए ।
‘अहिले दश वटा स्टिमर सञ्चालन गरेका छौं कुँवरले भने– ‘खाली राख्न परेको छैन् स्थानिय आवज जावतका अलवा घुम्न आउने पर्यटकहरुको संख्या बढ्दो छ ।’ उनले कालिगण्डकी कोरिडोर खुले पछि भने गुल्मी तर्फको संख्या भने अलि घटेको बताए । १० वटा स्टिमरबाट दैनिक ४० हजारको कारोवार हुने बताउँदै कुँवरले रातका सुरुक्षाकर्मी सहित ४० जनाले रोजगार पाएको बताए । तीन ओटा स्टिमर भने बिग्रेकाले मर्मत गरिन लागेको कालीगण्डकी जल यातायात प्रालिमा कार्यरत कर्मचारी मोती थापाले जानकारी दिए 


उनका अनुसार ईटाली, चिन, जापान मिलेर उक्त जल विद्युत परियोजना निर्माण गरेको र पछि नेपाल विद्युत प्राधिकरणले किनेर स्वामीत्वमा लिएको उनले जानकारी दिए । स्टिमर सञ्चालक समितिका सल्लाहकार रत्नबहादुर क्षेत्रीका अनुसार मिर्मी ड्याम देखि ७ किलो मिटर तल सुरुङ्गवाट पानी लगेर वेलटारीबाट १ सय ४४ मेघाहर्ज विद्युत उत्पादन गरिएको छ ।
त्यस जल यातयात प्रालिका अध्यक्ष कुँवर भन्छन–‘यत्रो विशाल जलशायमा राज्यले नयाँ नयाँ टेक्नोलोजी भित्राउन सके यस क्षेत्रको विकास र राज्यले पनि राम्रो आम्दानी लिन सक्छ ।’ जलशायका लागि नेपालमा कानुनमा स्पष्ट व्यवस्था नभएको भन्दै उनले कानुन संशोधन गरेर विकास गरिनु पर्ने सुझाव दिए । यस ठाउँमा आएका पर्यटकहरुलाई यहिवाटै रिडी रुद्रवेणी र उता मुक्तीनाथ सम्म यात्रा गराउने व्यवस्था सरकारी तौर बाटै हुनु पर्नेमा स्थानियको जोड छ ।
परापुर्वकालमा भारतका तिर्थालुहरु रिडी रुद्रवेणी हुँदै मुक्तीनाथ जाने गर्दथे । रिडी, रुद्रवेणी, कृष्ण गण्डकी, कालिगण्डकीको शिर मुक्तीनाथका वारेमा लेखिएका पौराणीक धर्मग्रन्थहरु युवा पुस्तालाई अध्ययन र त्यस क्षेत्रको भ्रमण गराउन नितान्त जरुरी भएको धार्मिक ब्यक्तिहरु बताउँछन् ।
गत वर्ष सेतीवेणीमा नै वातावरण संरक्षणका लागि फेकोफेन पर्वतले स्टिमरमा बैठक आयोजना गरेको थियो ।
तर अहिले भने सेतीवेणी शिलाको परिक्रमा पनि गर्न नपाईने भएको छ । गत श्रावण १२ गतेको कालीगण्डकीको विकराल स्वरुपले शिलालाई कैयाँै दिनसम्म डुबाएको थियो । सोही क्रममा पाँच वर्षअघि शालिग्राम परिक्रमा गर्न कालीगन्डकी ‘ए’ जलविद्युत् परियोजनाको सहयोगमा करिब ५० लाख खर्चिएर बनाइएको परिक्रमास्थल भत्किएको थियो । उचित व्यवस्थापन नभएतापनि त्यहाँ चितवन, नवलपरासीदेखि शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुले शिलालाई भरिभराउ गराएको छ ।
पाँचौपटकको यो सेतीवेणी यात्रामा प्रत्येक पटक आउँदा भन्दा झनै जीर्ण बन्दै गई रहेको छ । यसको महत्व फैलिँदै जाँदा यसको अस्तित्व नै संकटमा परेको छ । जाउँ एक पटक घुमौँ सेतीवेणी, शिलाको दर्शन गरौँ, अनि दीगो मर्मतको लागि अभियान सुरु गरौँ ।