Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

5 years ago

4805




साँसद ललितकला पनि यूके जाने पक्का
साँसद ललितकला पनि यूके जाने पक्का


पर्वतका प्रदेश सभाका समानुपातिक साँसद ललितकला गुरुङ पनि अन्तराष्ट्रिय पर्वत समाजले यूकेमा आयोजना गर्ने च्यारिटी शो कार्यक्रममा जाने पक्का भएको छ । यूकेमा जुन ३ मा हुने कार्यक्रममा जाने भिषा लागे संगै विशिष्ट पाहुनाको रुपमा साँसद गुरुङ यूके जाने पक्का भएको हो । कार्यक्रममा प्रतिनिधी सभा र प्रदेश सभाका साँसदहरु, पूर्व साँसदहरु, स्थानीय तहका प्रमुखहरु र उपप्रमुखहरु सहित बिदेशमा रहेका नेपाली संघ संस्थाहरु र व्याक्तिहरुको सहभागिता रहने छ । परोपकारको क्षेत्रमा लगानी जुटाउन कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रमलाई पर्वतबासीहरुले गौरवको रुपमा हेरिरहेका छन् । लण्डनमा जाने तयारीमा रहेकी साँसद गुरुङ संग पर्वत नेपाल डट.कम. को टोलीले संक्षिप्त कुराकानी गरेको छ । 

लण्डन यात्रालाई कसरी लिनुभएको छ ?

मैले यो यात्रालाई अहिले अवस्मरणिय यात्राको रुपमा लिएकी छु । बिशेष गरि म पहिलो पटक जान लागेको हुनाले एउटा अवसरको रुपमा लिएको छु । त्यहाँ रहेका नेपालीहरु संग सहकार्य गर्ने सुवर्ण अवसरको रुपमा पनि मैले लिएकी छु । खास गरि युकेमा रहेका नेपालीहरुले गरेको प्रगतीको बारेमा हामीले जानकारी लिने यो अवसर पनि हो भन्ने मलाई लाग्छ । 

पर्वतको कस्तो सन्देश बोकेर कार्यक्रममा जाँदै हुनुहुन्छ ?

अहिले देश संक्रमणकालमा गुज्रिएको छ । देशमा तीन चरणको निर्वाचन पछि देशका ७५३ तहमा जनप्रतिनिधी आएका छन् । प्रतिनिधी र प्रदेशसभा बनेको छ । संबिधान बनेर कार्यन्वयन गर्नुपर्ने दायित्व हामी संग रहेको छ । जनताले बिकास र समृद्धिको आशा गरिरहेका छन् । यो अवस्थामा पर्वतका जनताले पनि हामीबाट बिकास र समृद्धिको अपेक्षा स्वभाविक रुपमा गरिरहेका छन् । त्यसैले यूकेमा बसेका नेपाली दाजुभाई दिदिबहिनी संग हामी पर्वतको बिकास कसरी गर्न सकिन्छ भनेर पनि परामर्श गर्ने छौँ । पर्वत पर्यटन, कृषि, पशुपालन, जलस्रोत, सडक, बन जन्य उद्योग, धार्मिक तथा प्राकृतिक रुपमा सुन्दर छ । तर हामी स्रोत साधान, सोच र योजनामा पछि छौँ । त्यसैले म पर्वतको बिकासका लागि ग्रैह आवसिय नेपालीहरु संग पर्वत जिल्लाको बृहत्तर बिकास कसरी गर्न सकिन्छ भन्ने योजना र सन्देश बोकेर युके जाँदैछु । 

अन्तराष्ट्रिय पर्वत समाजले परोपकारी कार्यक्रम गरिरहँदा तपाईको प्रतिक्रिया छ ? 

हामी जनप्रतिनिधीले गर्नुपर्ने काम यूकेमा रहेका दाजुभाई दिदिबहिनीले गर्दै गरेकोमा मलाई खुशी नलाग्ने प्रसंग भएन । म धेरै खुशी छु । म जन प्रतिनिधी भएकाले परोपकारी कार्य गर्ने ति नेपालीहरुलाई धन्यवाद दिनै पर्छ । फण्ड कलेक्ट गरेर जन्मभूमीलाई नै सहयोग गर्ने भएकाले यो पुनित कार्य हो भन्ने लाग्छ । मेरो तर्फबाट यसमा गर्न सकेको सबै सहयोग गर्न म तयार छु । यूकेमा भएपनि ति नेपालीहरुको मन जन्मभूमी प्रति नै रहेछ । हुन पनि हामी जन्मेको माटो विर्सदैनौँ जहाँ भएपनि भन्ने सन्देश यो कार्यक्रमले दिएको मलाई भान भएको छ । यो कार्यक्रम आयोजना गरेर परोपकारी भावना जागृत गराउने सबै अन्तराष्ट्रिय पर्वत समाजका पदाधिकारी, पर्वत सेवा समाज, यूके सहित बिदेशमा रहने सबै नेपालीहरुलाई भेट्ने अवसर पनि जुटेको हुनाले खुशी छु ।  

तपाईले बिदेशमा रहेका नेपालीहरुलाई के भन्न चाहानुहुन्छ ?

हामी बिभिन्न बाधा र समस्या नपरिकन बिदेश गएका छैनौँ । यो देश सबै कुराले भरिपूर्ण भएपनि गरिवी, वेरोजगारी र अवसरको अभावका कारण नेपालीहरु स्वदेशमै रमाउन पाएका छैनन् । सर्वप्रथम त हामीले अव बिदेशमा बस्ने हैन अव स्वदेशमै फर्किएर नेपाल आमाको सेवा गर्ने हो भन्न चाहान्छु । अर्को कुरा बिदेशमा जति समस्या पाएपनि हामी नेपालीहरु सामाजिक सेवामा समर्पित भैरहन्छौँ भन्ने सन्देश जुन ३ मा यूकेमा हुने कार्यक्रमले उदाहरण दिईरहेको कुराले मलाई खुशी लागेको छ । समाजिक कार्य गर्न कस्सिएका ति दाजुभाई लाई मैले हृदय देखि नै आभार व्यक्त गर्न चाहान्छु । बिदेशमा रहेर पनि समृद्ध पर्वतको परिकल्पना गरेर यस्तो बृहत कार्यक्रम गर्दै गरेको कुरा मैले पर्वत नेपाल डट.कम. बाट पढ्दै आएकी छु । उहाँहरुलाई कार्यक्रम सफल बनाउनुहोला र पर्वतको बिकासमा सबैलाई एकैथलोमा डाँक्ने जुन प्रयत्न गर्नुभयो यो सफल होस भन्ने शुभकामना दिन चाहान्छु । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( प्रवास)