जलजला–९ बनौमा सार्वजनिक सुनुवाई सम्पन्न
    3 months ago     393
जलजला–९ बनौमा सार्वजनिक सुनुवाई सम्पन्न

बैशाख २९, पर्वत । गाउँमा बिनियोजन भएका योजनाको रकम काम सम्पन्न भएपछि मात्रै निकासा हुने परिपार्टीप्रति बनौबासीले गुनासो गरेका छन् । उनीहरुले पहिलो किस्ताले सबै काम सम्पन्न गर्न कठिनाई हुँदा उपभोक्ता समितिहरुले ऋण खोजेर योजनाको काम गर्नुपरेको गुनासो गरे ।

जलजला गाउँपालिकाले वडा नम्बर ९ स्थित बनौमा आयोजना गरेको सार्वजनिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा उपभोक्ता समितिका पदाधिकारीले पहिलो किस्ताबापत पाउने थोरै रकमले योजना निर्माण गर्न निकै समस्या भएको बताएका हुन । उनीहरुले कम्तीमा पनि ५० प्रतिशतबढी रकम पहिलो किस्तामा काम सुरु गर्नुपूर्व नै उपभोक्ता समितिलाई प्रदान गर्नुपर्ने बताए ।

पातलखर्क युवा क्लब भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाराम पुनले निकै कम रकम पहिलो किस्तामा पाउदा उपभोक्ताले ऋण खोजेर काम सम्पन्न गर्नुपर्ने बाध्यता भएको गुनासो गरे । उनले योजना निर्माण सम्पन्न गर्न उपभोक्ता समितिका पदाधिकारीको थाप्लोमा ऋण थपिने कारणले उपभोक्ता समितिमा बस्ने मानिसकै समस्या हुने गरेको बताए । छहरा खानेपानी योजनाका उपभोक्ता चक्रबहादुर पुनले पनि समयमा भुक्तानी नहुने समस्याले ऋणमा डुब्ने काम भन्दै उपभोक्ता समितिमा राख्ने मानिस नै नपाइने गरेको बताए । ‘अन्यत्र उपभोक्ता समितिमा बस्न मारामार हुन्छ तर बनौमा मान्छे नै पाइदैन’ उनले भने ।

बनौमा चालु आर्थिक बर्षमा जलजला गाउँपालिकाले २६ वटा योजनामा झण्डै ८६ लाख रुपैयाँ बिनियोजन गरेको छ । ती योजनाहरुको उपभोक्ता समिति गठन गर्न निकै समस्या भएको वडा अध्यक्ष गौबहादुर पुनले गुनासो गरे । सार्वजनिक सुनुवाईका क्रममा उपभोक्ता समितिका पदाधिकारीले विकासका योजनामा २० प्रतिशत श्रमदान गर्नुपर्ने बाध्यता हटाउनुपर्ने, योजनाको सम्झौता हुदा नै रकम भुक्तानी गर्नुपर्ने लगायत समसामयिक समस्या तथा गुनासाहरु राखेका थिए ।

कार्यक्रममा जलजला गाउँपालिकाका उपाध्यक्ष सीमा गर्बुजा पुनले विकास निर्माणमा जनताको सहभागिताका लागि श्रमदानको नीति ल्याइएको र यसले विकास निर्माणप्रति जिम्मेबार बनाउने बताइन् । उनले गाउँपालिकाले गर्नसक्ने गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइन् । जलजला गाउँपालिकाका सामाजिक शाखा प्रमुख लिलाधर सुवेदीले सरकारी निकायले दिने सेवामा पारदर्शिता र जवाफदेफी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको बताए । उनले गाउँमा भित्रिने विकास निर्माण र सेवाका बिषयमा जान्न पाउनु जनताको अधिकार भएको पनि प्रस्टाए । विकास निर्माणको क्रममा अनियमिता र गलत भएमा खबरदारी गर्न पनि सुवेदीले उपभोक्तालाई सुझाएका थिए ।

जलजला गाउँपालिकाका सामाजिक परिक्षण विज्ञ हिरालाल रेग्मीले सार्वजनिक सुनुवाईले राज्यले दिने सेवा सुविधाप्रति जनताले बुझ्न पाउने र जनप्रतिनिधि तथा कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन सहयोग पुग्ने धारणा राखे । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले कतिपयलाई गाउँमा के के योजना भित्रियो ? ती योजनाको बजेट के कति हो ? भन्ने बिषयमा जानकारी नहुने भएका कारण यस्ता सार्वजनिक सुनुवाईले खबरदारी गर्न उपभोक्तालाई सहज हुने धारणा राखे ।

जलजला गाउँपालिकाका प्राविधिक रमेश शर्माले स्टीमेटमा उल्लेख भएअनुसार काम पुरा गर्नैपर्ने भएका कारण कसैले पनि ढाटछल गर्छु भन्ने सोच्न नहुने बताए । उनले राम्रो काम गर्ने उपभोक्तालाई प्राविधिकले दुःख नदिने प्रस्ट पारे ।

जलजला गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गौबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य तथा बिषयबस्तुमाथि प्रकाश सामाजिक विकास शाखा प्रमुख लिलाधर सुवेदी र कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले गरेका थिए ।