बेल्जियमको स्थानीय निर्वाचनमा पर्वतका क्षेत्रीको उम्मेदवारी
Bishan Kshetri     3 months ago     2285
बेल्जियमको स्थानीय निर्वाचनमा पर्वतका क्षेत्रीको उम्मेदवारी

पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठुलो राजनीतिक दल एनभिए (NVA) बाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायी समेत हुन् ।

लुभेनमा व्यवसाय गर्ने क्षेत्रीले आगामी अक्टोबरमा हुने निर्वाचनमा भाग लिनेछन् । हरेक ६÷६ वर्षमा लुभेनमा स्थानीय तहको निर्वाचन हुने गर्दछ । समानुपातिक प्रणालीबाट उक्त निर्वाचनमा ४७ जना काउन्सिलरहरु निर्वाचित हुने व्यवस्था रहेको छ ।

एनभीएले आफ्ना सबै काउन्सिलरहरु पनि टुंगो लगाईसकेको छ भने उनी पार्टीको तर्फबाट सातौँ उम्मेदवारको सूचीमा परेका छन् ।

सबैभन्दा ठुलो राजनीतिक दलबाट प्रबल सम्भावित उम्मेदवारमा छनोट हुनु नै विजयी श्रृंखला सुरु भएको उनले बताए । क्षेत्रीले भने, ‘विदेशमा पनि नेपालीहरुको अधिकारको निमित्त लड्न पाउन मेरो भाग्य हो भने नेपालीहरुको सेवा गर्नु मेरो जिम्मेवारी हो ।’ उनले सबै नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा मिनी नेपाल भनिने लुवेन शहरमा वेल्जियमको सवै भन्दा ठूलो र शक्तिशाली पार्टीले एक नेपालीलाई आउट अफ ४७ मा ७ नम्बरमा उम्मेद्वार बनाउनु गर्वको कुरा भएको लेखेका छन् । उनी भन्छन्, ‘चुनाव जीतिएला वा हारिएला आफ्नो स्थानमा छ तर पार्टीले मलाई उम्मेदवार बनाउनु पुरै नेपाली समुदाय प्रति सम्मान गरेको हो ।’


काउन्सिलरको रुपमा उम्मेदवारी दिएतापनि बढि मत ल्याउने उम्मेदवार उपमेयर सम्म बन्न सक्नेछन् ।

उनका अनुसार एनभीए पार्टी २०१२ को निर्वाचनमा १९ प्रतिशत मत सहित दोश्रो स्थानमा रहेकोमा अहिले ३० प्रतिशत सम्म मत ल्याउनेछ । यस्तै मतदाताको संख्या ९० हजार भन्दा बढि रहेको छ ।

उम्मेदवारी दिँदै गर्दा क्षेत्रीले लुभेनमा नेपाली भाषाको संरक्षण गर्न पार्टीमा नै कुरा उठाएको र पार्टीले स्विकृती दिईसकेको बताए ।

‘यहाँ बस्ने हामी नेपालीहरुका बालबालिका नेपाली भाषा बोल्न मात्र जानेका छन्, तर लेख्न र अक्षर चिन्न सक्दैनन्,’ उनले भने, ‘नेपाली भएर पनि आफ्नो भाषा चिन्न नसक्नु दुःखको कुरा हो, यसकारण हप्तामा २÷३ दिन नेपाली भाषाको कक्षा सञ्चालन गर्न मैले पहल गर्नेछु ।’

यस्तै उनले लुभेनमा नेपाली हाउस बनाउने बताए । यो बाहेक गृहजिल्ला र नेपालको पर्यटनमा योगदान पु¥याउने उनले प्रतिबद्धता जनाएका छन् ।

क्षेत्रीले निर्वाचनमा उम्मेदवारी दिएसँगै बेल्जियममा बस्ने प्रवासी नेपालीहरु उत्साहित बनेका छन् । अन्तर्राष्ट्रिय पर्वत समाजका महासचिव गुणराज शर्माले भने एक पर्वतेलीले प्रवासमा सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै निर्वाचनमा उम्मेदवारी दिनु गर्वको कुरा भएको बताए ।

‘यो पर्वतेलीको लागि मात्र नभई सम्पूर्ण नेपालीहरुले गर्व गर्नुपर्ने कुरा हो’ उनले थपे, ‘नेपाली हुनुको नाताले निर्वाचनमा सहयोग गर्नु सम्पूर्ण नेपालीहरुको कर्तव्य पनि हो ।’

na